उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
सारांश
- जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग मिलेर राष्ट्रिय वैकल्पिक मोर्चा गठन गर्ने निर्णय गरेको छ ।
- जनमत पार्टीको यस निर्णयले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू आश्चर्यमा परेका छन्, जसपा र जनमत पार्टीबीच एकताको चर्चा चलेको थियो ।
- जनमत पार्टीका अध्यक्ष सीके राउतले यसअघि लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता प्रयास गरे पनि सफल हुन सकेनन् ।
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग मिलेर राष्ट्रिय वैकल्पिक मोर्चा गठन गर्ने निर्णय गरेको छ ।
तर उक्त निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले आश्चर्य प्रकट गरेका छन् । जसपा नेपालका एक नेताले जनमत पार्टीका अध्यक्ष राउतले आफ्ना पार्टीका अध्यक्षसँग भेटेर पटक–पटक कुराकानी गरे पनि अहिले पुनः अर्को पार्टीसँग मोर्चा र एकताका लागि पहल थालेको सुन्दा आफूहरू आश्चर्यमा परेको बताए ।
पार्टी एकताका विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेताहरूबिच पटक–पटक छलफल भएको थियो । एकताको प्रक्रिया अगाडि बढेपछि थप वार्ताका लागि जसपा नेपालले नेता रकम चेम्जोङको संयोजकत्वमा एउटा वार्ता समिति गठन गरेको थियो ।
यता, असार १ गते जनमत पार्टीले पनि नरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा वार्ता समिति गठन गर्यो । तर, जनमत पार्टीले तीनवटा दलको नाम नै उल्लेख गरेर मोर्चा तथा एकताका लागि पहल गर्ने बताएपछि जसपा नेपालका नेताहरू झस्केका छन् ।
जनमत पार्टीले जसरी विज्ञप्ति जारी गरेर एकता र मोर्चाबन्दीको प्रसङ्ग अगाडि बढाएको छ, त्यसले एकताको वातावरण बिगारेको जसपा नेपालका नेताहरू बताउँछन् । जसपा नेपाल र जनमत पार्टीबिच एकताको चर्चा बाहिरिएपछि मधेसी जनतामा सकारात्मक सन्देश प्रवाह भएको भए पनि पछिल्लो विज्ञप्तिले विश्वासको वातावरण बिगारेको उनीहरूको गुनासो छ ।
जनमत पार्टीका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले भने जसपा नेपालसँगको एकता प्रयास सञ्चारमाध्यममा आएजस्तो गतिमा अगाडि नबढेको दाबी गरे । उनले भने, ‘हामीले तीन दलसँग मात्र होइन, जसपा नेपाललगायत अन्य दलहरूसँग पनि आवश्यक परे कुराकानी गर्छौँ ।’
जो–जोसँग कुरा मिल्छ, ती सबै दलसँग छलफल गर्ने र जसपा नेपालसँग वार्ताको प्रक्रिया औपचारिक रूपमा सुरु पनि भइनसकेकाले अन्त्य पनि नभएको उनले स्पष्ट पारे । उनले आवश्यकता अनुसार पुनः कुराकानी हुनसक्ने बताए ।
सुरुमा मोर्चाबन्दी र एकताको विपक्षमा रहेका जनमत पार्टीका अध्यक्ष राउतले पछिल्लो समय विभिन्न दलसँग कार्यगत एकता र मोर्चाबन्दी गरे पनि ती प्रयासहरू सफल हुन सकेनन् । उनले महन्थ ठाकुर अध्यक्ष रहेको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि कार्यगत एकता गरेका थिए, तर त्यो एकता एक महिना पनि टिकेन ।
त्यसपछि उनले रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको तत्कालीन नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गरे, तर त्यो कार्यगत एकता पनि बिचैमा भङ्ग भयो ।
पछि सोही पार्टीसँग एकता नै गर्ने गरी प्रक्रिया अगाडि बढेको थियो, तर एकता घोषणा कार्यक्रमस्थलबाटै नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि उक्त प्रक्रिया भाँडिएको थियो ।
त्यसपछि उनी तराई–मधेसका विभिन्न दलले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चामा सामेल भए, तर मोर्चाका प्रायः बैठकमा अनुपस्थित रहे । मोर्चाका कतिपय निर्णयको उनले विरोधसमेत गरेका थिए । फागुन २१ को राजनीतिक समीकरण परिवर्तनपछि पार्टी एकताका लागि यादवसँग राउतले पटक–पटक छलफल गरे पनि अहिले त्यसलाई थाती राखेर उनी श्रम संस्कृति पार्टीलगायतसँग मोर्चाबन्दीको प्रयासमा लागेका छन् ।
जसपा नेपालका नेता शैलेन्द्र साहले भने, ‘जनमत पार्टी र जसपा नेपाबिच एकताका लागि कुराकानी चलेको हो । पार्टीका अध्यक्षहरू स्वयंले छलफल अगाडि बढाउनुभएको थियो, तर अहिले ती वार्ताहरू स्थगित छन् । अहिले जनमत पार्टीले अन्य दलहरूसँग मोर्चा बनाइरहेको सुन्दै छु ।’
यसमा आफूहरूको कुनै गुनासो नरहेको र जसको जहाँ विचार मिल्छ, उसले त्यहीँ एकता गर्ने उनले बताए । साहले आफ्नो पार्टीले पनि वार्ता समिति गठन गरेको र अन्य दलहरूसँग सहकार्य तथा एकताका लागि छलफल चलाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण