बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

संस्थापक डीपी अर्यालको अनुपस्थितिले कस्तो रहला रास्वपा ?

बुधबार, ०३ असार २०८३, ११ : ३०
बुधबार, ०३ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक नेता तथा पूर्वउपसभापति डोलप्रसाद (डीपी) अर्याल सभामुख बनेपछि पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन् ।
  • पार्टीको निर्णय शिरोपर गरी अर्याल चैत २० गते निर्विरोध सभामुखमा निर्वाचित भएपछि दलीय आबद्धता नरहने संवैधानिक व्यवस्थाका कारण उनी महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।
  • अर्यालले पार्टी निर्माणमा अविचलित भएर काम गरेको र सभापति रवि लामिछानेले पनि उनको प्रशंसा गरेको लेखमा उल्लेख छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८२ साल पुस ६ गते केन्द्रीय कार्यालय वनस्थलीमा दिएको अभिव्यक्तिले पार्टी नेतृत्व पंक्तिलाई निकै स्तब्ध बनाएको थियो ।

सहकारी ठगी लगायत मुद्दामा करिब आठ महिना पुर्पक्षका लागि थुनामा रहेका रवि पुस ४ गते उच्च अदालत बुटवल इजलासमा दुई करोड ६८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

त्यतिबेला पार्टीको कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल थिए । अर्यालकै अध्यक्षतामा बसेको सचिवालयको पहिलो बैठकमा उनले रविलाई जिम्मेवारी सुम्पिएका थिए । त्यसै क्रममा रविले आफू नख्खु कारगारमा रहँदा अर्याल भेट्न आउँदा आफूलाई भनेको कुरा सुनाएपछि केहीबेर माहौल स्तब्ध भएको थियो ।

‘पार्टीको नेतृत्व कार्यवाहक दिएजस्तै कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन ? यदि मिल्छ भने तपाईंको भागमा मभित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुस्, त्यस्तो गर्न पाए म तयार छु,’ अर्यालले नख्खु कारागारमा आएर आफूलाई भनेका कुरा बैठकमा रविले सुनाएका थिए ।

चर्चित टेलिभिजन प्रस्तोता रहेका रविले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहबाट वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपा घोषणा गरेका थिए । उनको मुख्य सारथि थिए डीपी अर्याल । पार्टी स्थापनाको पाँच महिनामै प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको रास्वपाले ११ लाख ३५ हजार लोकप्रिय भोटसहित २० सिट जित्न सफल भयो । तर, सफलता प्राप्तसँगै रवि नागरिकता प्रकरण, राहदानी प्रकरण, सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा फस्दै गए ।

अघिल्लो निर्वाचनमा पार्टीको नेतृत्व गर्दै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका उनले नागरिकता प्रकरणमा देखिएको त्रुटिका कारण एकसाथ मन्त्री र सांसद पद गुमाए । रास्वपाको यात्राका लागि त्यो पहिलो गाँसमै ढुङ्गा बन्यो । त्यतिबेला अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । रवि पदमुक्त भएपछि सरकारबाट रास्वपा फिर्ता भयो ।

२०८० साल वैशाखमा चितवन–२ मा भएको उपनिर्वाचनमा रवि अघिल्लो निर्वाचनको तुलनामा अझ फराकिलो मतान्तरले विजयी भए । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ बाट डा.स्वर्णिम वाग्ले सानदार मतले विजयी भए । २०८१ साल फागुन २१ गते रवि पुरानै जिम्मेवारी लिएर सरकारमा फर्किए । अर्यालले पनि पुरानै जिम्मेवारी पाएका थिए ।

यद्यपि रविको दोस्रो सत्ता यात्रा पनि सफल भएन । सरकारमा गएको चार महिनामा प्रचण्ड नेतृत्वको सरकार नै ढल्यो । असार १७ गते नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच ७ बुँदे सहमति भएको थियो । त्यसै आधारमा ओली प्रधानमन्त्री बनेका थिए । कांग्रेस–एमाले गठबन्धन सरकार बनेसँगै रविमाथि सहकारी ठगी मुद्दा चल्यो र कात्तिक २ गते उनी पक्राउ परे ।

कास्की जिल्ला अदालतको अनुमतिमा झन्डै ९० दिन प्रहरी हिरासतमा रहेका उनी धरौटी बुझाएर निस्किएका थिए । त्यसपछि तत्कालीन सरकारले रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर मुद्दा लगायो । यसै मुद्दामा उच्च अदालत बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो ।

रविविरुद्ध कास्की सहित काठमाडौँ, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छन् ।

रवि आठ महिना भैरहवा र नख्खु कारागारमा रहँदा पार्टीको छवि निकै गिरिसकेको थियो । संसद्, सडक र सामाजिक सञ्जालमा रविको बचाउ गर्न निकै कठिन परिस्थिति थियो । त्यस्तो प्रतिकूल अवस्थामा कार्यवाहक सभापतिको जिम्मेवारी पाएका अर्यालले निकै सुझबुझपूर्ण ढङ्गले पार्टी सञ्चालन गरे । पार्टी र नेतृत्वविरुद्ध ओली सरकारले प्रतिशोध तथा राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाउँदै अर्यालकै नेतृत्वमा सदन र सडकबाट रास्वपाले सशक्त प्रतिरोध गर्‍यो । देशव्यापी हस्ताक्षर अभियान चलाएर राज्यमाथि दबाब बढाउन उनी सफल भए । सरकारमाथि चौतर्फी बदाब बढ्न थालेपछि सरकारले सामाजिक सञ्जालमाथि नियमनको नाममा २०८२ साल भदौको मध्यतिर बन्देज लगायो । सरकारसँग आक्रोशित भएका जेनजी युवा पुस्ताले भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध शान्तिपूर्ण आन्दोलन गरे । उक्त आन्दोलनमा प्रहरी दमन हुँदा २३ जना युवाको मृत्यु भयो । त्यही दमनका कारण ओली सरकारका साथै देशले समेत ठुलो मूल्य चुकायो । भदौ २४ गते आक्रोशित भिडले राज्यका महत्त्वपूर्ण सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी निवास, व्यापारी प्रतिष्ठानमा आगो लगाएर ध्वस्त पार्‍यो ।

जेनजी आन्दोलनपछि नेपालको राजनीतिले नयाँ मोड लियो । त्यही आन्दोलन रास्वपाका लागि देशकै मुख्य राजनीतिक शक्ति बन्ने बाटोमा कोशेढुंगा साबित भयो । विवेकशील साझा, काठमाडौँ महानरपालिकाका तत्कालीन मेयर बालेन शाह, जेनजी समूह, थारुवान/थरुहट समूहसँग एकता गरी निर्वाचनमा होमिएको रास्वपाले अभूतपूर्व नतिजा निकाल्न सफल भयो ।

बालेनसँग भएको पूर्वसहमति अनुसार रवि अहिले दुई तिहाइ बहुमत नजिकको शक्तिशाली पार्टीका सभापति छन् । रास्वपा नेतृत्वको एकमना सरकारका प्रधानमन्त्री बालेन छन् । पार्टीका संस्थापक प्रभावशाली नेता अर्याल अहिले राज्यका प्रमुख अङ्गमध्ये एक सार्वभौम प्रतिनिधि सभाका सभामुख बन्न सफल भएका छन् ।

पार्टी स्थापनाको चार वर्ष पुगेको र चुनावबाट झन्डै ५२ लाख लोकप्रिय मत जितेर मूलधारको पार्टी बनेको ऐतिहासिक अवसर पारेर रास्वपाले असार (७–९)मा चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पूर्वी चितवनको रत्ननगरमा हुने महाधिवेशनका लागि पार्टीले गठन गरेको १८ वटा उपसमितिले धमाधम काम गरिरहेका छन् ।

संस्थापक सभापति रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाइएको छ । यस समितिमा डा. स्वर्णिम वाग्ले,  कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली, सागर ढकाल छन् । समितिमा सबै केन्द्रीय समिति सदस्य र सबै प्रदेश सभापति छन् ।

तर, पार्टीको यस ऐतिहासिक अवसरमा संस्थापक नेता तथा पूर्वउपसभापति अर्याल छुट्ने भएका छन् । पार्टीभित्र र बाहिर शालीन तथा प्रभावशाली नेता मानिएका उनी पदीय जिम्मेवारीका कारण महाधिवेशनमा सहभागी हुन पाउने छैनन् । पार्टीले उनलाई सभामुखजस्तो गरिमामय पदमा पठाउने निर्णय गर्‍यो । पार्टीको निर्णय शिरोपर गरी उनी चैत २० गते निर्विरोध निर्वाचित भए । 

अर्याल फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–९ बाट निर्वाचित भएका थिए । उनी ३५ हजार ९३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नानीमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरेकी थिइन् ।

वरिष्ठ नेता बालेन नेतृत्वको सरकारमा अर्याल गृहमन्त्री बन्ने दौडमा थिए । प्रतिकूल अवस्थामा पनि पार्टीलाई जोगाएकाले सभापति रविले उनलाई गृहमन्त्री बनाएर कार्यकारी भूमिकामा राख्न चाहेका थिए । तर वरिष्ठ नेता बालेनले आफू निकट सुनिल लम्साललाई गृहमन्त्री बनाउन जोडबल गरे । अर्याल र लम्सालमध्ये एकलाई गृहमन्त्री बनाउन सहमति नजुटेपछि बालेनले सुधन गुरुङलाई अगाडि सारे । बालेनको दोस्रो प्रस्तावमा रवि सहमत भएपछि अर्याल सभामुख बन्न बाध्य भए ।

शालीन, राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका खेल्न सक्ने क्षमताका कारण अर्याललाई सभामुख बनाइएको नेताहरूले प्रस्ट पारेका छन् । सभामुख भएसँगै पार्टीको सक्रिय राजनीतिमा उनलाई ब्रेक लागेको छ । सभामुखमा निर्वाचित भएपछि दलीय आबद्धता नरहने संवैधानिक व्यवस्थाका कारण पार्टीको प्रथम अधिवेशनमा उनी सहभागी हुने छैनन् ।

अर्याल सभामुखको जिम्मेवारी लिने बेलामा होस् वा सभापति रवि जेलमा रहेको बेलामा होस्, अविचलित भएर पार्टी निर्माणमा सक्रिय रहे । नियमित कार्यालय पुगेर नेता तथा कार्यकर्ता समस्या, गुनासाहरू मिहिन ढंगले बुझ्ने र हौसला दिने काम उनले गरे ।

२०८१ कात्तिक २५ गते पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले आजीवन पार्टी सभापति रवि बन्ने बताएका थिए ।

‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ अर्यालले भनेका थिए, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ–पाउँदैन, गौण कुरा हो । रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहनुहुन्छ ।’

जेलबाट रिहा भएपछि रविले २०७९ सालमा केन्द्रीय सदस्यताका लागि नागरिक पाउन पनि गाह्रो भएको सुनाएका थिए । वरपरका साथीहरूलाई हात जोडेर सुरू गरेको अभियान विशाल बनाउनमा अर्यालले खेलेको भूमिकालाई उनले प्रशंसा गरेका थिए । अर्का उपसभापति तथा हाल अर्थमन्त्री रहेका डा. स्वर्णिम वाग्लेले संसदमा सभामुख पदमा रविले प्रस्ताव गरेका अर्याललाई समर्थन गर्ने क्रममा इतिहास स्मरण गरेका थिए ।

‘विगत केही वर्षमा पार्टीले धेरै प्रतिकूलता झेल्यो । पार्टी र हाम्रा सभापतिमाथि प्रहार हुँदा हामी दुई उपसभातिले सम्हालेर लान सक्यौँ’, वाग्लेले भनेका थिए, ‘उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता छ । शालीन र समन्वयकारी भूमिका छ । एउटा मध्यम वर्गीय संघर्षबाट ओतप्रोत भएको एउटा जीवन गाथा छ । त्यसलाई सार्वजनिक नीतिसँग जोड्नुपर्छ भन्ने उन्नत चेत मैले पाएको छु ।’

सहमहमान्त्री विपिन कुमार आचार्यले पार्टीमा अर्यालको अनुपस्थितिले केही अप्ठ्यारो भए पनि संस्थागत ढंगले नेतृत्व विकासमा कुनै अवरोध नहुने जिकिर गरे ।

‘पार्टीको जिम्मेवारी भन्दा पनि देशको जिम्मेवारी ठुलो भएर नै उहाँलाई सभामुखमा पठाइएको हो’, उनले भने, ‘उहाँको अनुपस्थितिको अभाव पार्टीमा पक्कै खट्किन्छ । तर देश सञ्चालन गर्नका लागि पार्टी निर्माण अपरिहार्य हुन्छ । उहाँको अभाव महसुस हुन नदिन पार्टीले नेतृत्व विकास गरिसकेकाले कठिन नहोला ।’

कोषाध्यक्ष लिमा अधिकारीले अर्यालमा समन्वयकारी तथा स–साना कुरा व्यवस्थापन गर्ने क्षमता भएकाले उनको अनुपस्थितिले अभाव महसुस गराउने बताइन् ।

‘उहाँमा व्यवस्थापकीय खुबी एकदम राम्रो छ । स–साना कुरा व्यवस्थापन गर्ने, सबैसँग समन्वय गर्न सक्ने खुबी छ । उहाँको अनुपस्थितिले अभाव महसुस मैले पनि गरेको छु’, अधिकारीले भनिन् ।

२०३२ सालमा धादिङको ज्वालामुखी गाउँपालिका (साबिक मैदी गाविस)मा किसान परिवारमा जन्मिएका अर्याल रोजगारीको सिलसिलामा २०४९ सालपछि काठमाडौँमा प्रवेश गरेका थिए । अर्यालले सुरुवाती दिनमा रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम गरे ।

२०५३ सालमा वैदेशिक रोजगारीका लागि उनी जापान पुगेका थिए । जापानबाट फर्किएपछि भने उनी पर्यटन पेसामा होमिएका थिए ।

नेपाल फर्किएपछि पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा एकैपटक लगानी गरी उनी सक्रिय भए । उनले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापनिज ल्याङ्गवेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्र्याउने लगायतका काम गरे । करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय रहेका उनी १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न थिए ।

२०७९ साल अगाडिसम्म खुलेर कुनै राजनीतिक दलमा जोडिएका उनी २०७४ सालमा कालीकोटमा अस्पताल निर्माण गर्न सहयोगी खोज्ने क्रममा रविसँग जोडिएका थिए । रविसँगै मिलेर अर्यालले रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेले । अस्पताल निर्माण अभियानकै क्रममा अर्याल, रवि, डा. मुकुल ढकाल जोडिएपछि वैकल्पिक राजनीतिक दल खोल्ने निर्णयमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप