शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

कसरी बदलियो ५० वर्षमा शीर्ष फुटबल खेलाडीहरूको शरीर ?

बिहीबार, ०४ असार २०८३, १६ : १७
बिहीबार, ०४ असार २०८३

फिफा पुरुष विश्वकपका दुई ऐतिहासिक गोलहरूले फुटबल र यसका शीर्ष खेलाडीहरूको शरीरमा भएको आमूल परिवर्तनको कथा बताउँछन् । सन् १९७० मा तनावपूर्ण तर शानदार ३० सेकेन्डको अवधिमा ब्राजिलले आठ खेलाडीमार्फत बल अघि बढाउँदै दायाँ डिफेन्डर कार्लोस अल्बेर्टोको शक्तिशाली प्रहारमार्फत गोल गर्‍यो । 

इटालीविरुद्धको विश्वकप फाइनलमा टोलीले गरेको यस चौथो गोललाई प्रायः प्रतियोगिताको इतिहासकै उत्कृष्ट क्षणमध्ये एक मानिन्छ । 

पाँच दशकपछि सन् २०२२ को फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध गरेको यस्तै सात पासको आक्रमणमा विंगर एन्जल डि मारियाले गोल गरेका थिए, तर यसपटक केवल १२ सेकेन्डमै गोल सम्पन्न भयो । 

फ्लोरिडा विश्वविद्यालयका फिजियोलोजी अभ्यासका विशेषज्ञ डा. ओरलान्डो लाइतानो भन्छन्, 'सन् १९७० को त्यो गोल आजको समयमा सम्भव हुने थिएन । यदि त्यो ब्राजिल टोली ‘टाइम जोन’मा छिरेर आजको फुटबल खेलमा आउँथ्यो भने उनीहरूको चाल आधुनिक प्रतिद्वन्द्वीले रोक्ने थियो ।' डा. लाइतानोका अनुसार सबैभन्दा ठुलो अन्तर प्रतिभामा होइन, शारीरिक क्षमतामा हुने थियो । 

‘हरेक इन्चका लागि युद्ध’

२०१४ विश्वकपमा ब्राजिल राष्ट्रिय टोलीसँग काम गरेका डा. लाइतानो भन्छन् कि आधुनिक फुटबल खेलाडीहरू जैविक रूपमा नै पहिलेका खेलाडीभन्दा फरक भइसकेका छन् । उनका अनुसार व्यायाम विज्ञान, चिकित्सा, र खेल शैलीमा आएको परिवर्तनका कारण शीर्ष फुटबल अब मैदानको प्रत्येक इन्चका लागि संघर्ष बनेको छ । त्यसको परिणामस्वरूप आधुनिक खेलाडीहरू ‘छिटो र शक्तिशाली’ बन्न बाध्य भएका छन् ।

युकेको वुल्भरह्याम्पटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार पछिल्ला ५० वर्षमा शीर्ष खेलाडीहरू अग्ला र पातला बन्दै गएका छन् । उनीहरूले सन् १९७० देखि २०२० को दशकसम्म इङ्ग्ल्यान्डको शीर्ष लिगका हजारौँ खेलाडीहरूको तथ्याङ्क तुलना गरेका छन् । १९७३ देखि २०१३ बिच खेलाडीहरूको औसत उचाइ ४ सेमीभन्दा बढीले बढेको देखिन्छ ।

पछिल्ला दशकमा यो प्रवृत्ति गोलकिपर र डिफेन्डरमा अझै बढेको भए पनि फरवार्ड र मिडफिल्डरमा भने अलिकति घटेको पाइएको छ । अनुसन्धानले शीर्ष लिगका खेलाडीहरू ‘अझ बढी कोणीय (एंगुलर) र इक्टोमर्फिक (सलक्क परेका)’ बन्दै गएको निष्कर्ष निकालेको छ । 

यसको अर्थ उनीहरू अग्ला, पातला, हल्का शरीर संरचना भएका र लामो अंग भएका बन्दै गएका छन् । यो परिवर्तन रिकिप्रोकल पन्डरल इन्डेक्स (आरपीआई) नामक सूचकले पनि देखाउँछ, जसले उचाइ र तौलको अनुपातमा पातलोपनलाई मापन गर्छ ।

इङ्ग्ल्यान्डको शीर्ष लिगका खेलाडीहरूको औसत उचाइ सन् १९७३ मा १७७.१ सेमी थियो भने २०२३ मा बढेर १८१.५ सेमी पुगेको देखिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार यो परिवर्तन राम्रो पिच र आधुनिक फुटबलले मागे अनुरुपको शारीरिक संरचनाको परिणाम हो । 

१९७० को दशकमा जाडो मौसममा मैदान धेरै हिलो हुने भएकाले खेलाडीहरू ‘धेरै मांसपेशीयुक्त हुनुपर्ने’ अवस्था थियो, अध्ययनका सह–लेखक प्रोफेसर एलन नेभिल भन्छन् । तर अहिले राम्रो मैदानका कारण ‘खेलाडीहरू हल्का र पातला भए पनि लामो समयसम्म उच्च ऊर्जा प्रदर्शन गर्न सक्षम भएका छन् ।’ 

विशेषज्ञहरूका अनुसार यस्तो ऊर्जाको ठुलो हिस्सा गति (स्पिड) मा खर्च हुन्छ । 

छिटो दौडने खेलाडीको बढ्दो आवश्यकता 

धेरै अध्ययनहरूले देखाएका छन् कि १९७० र ८० को दशकमा खेलाडीहरू ३० किमी/घण्टाभन्दा माथि धेरै कम दौडिन्थे । तर २०२२ विश्वकपमा कम्तीमा १० खेलाडीले ३५ किमी प्रतिघण्टाभन्दा बढी गति हासिल गरेका थिए । महत्त्वपूर्ण कुरा, खेलाडीहरूले अब खेलमा आफ्नो उच्चतम गति पटक–पटक देखाउनुपर्छ । 

कोपेनहेगन विश्वविद्यालयका प्रोफेसर जेन्स बाङ्स्बो भन्छन्, ‘पहिलेका स्ट्राइकरहरू धेरैजसो समय हिँड्थे, तर केही क्षणमा मात्र विस्फोटक रूपमा दौडेर गोल गर्थे । अहिले त्यो अवस्था छैन ।’ युरोपेली फुटबलको २०२४ युरो प्रतियोगितामा खेलाडीहरू प्रतिखेल औसत १२ पटक २५ किमी/घण्टा वा सोभन्दा बढी गतिमा दौडेका थिए । यसमा पनि पोजिसनअनुसार फरक प्रवृति देखिन्छ । सेन्टर ब्याक र मिडफिल्डरले औसत ८ पटक, फरवार्डले १२ पटक र फुलब्याकले १४ पटक उच्च गतिमा दौडेका थिए । 

प्रोफेसर बाङ्स्बोका अनुसार सबैभन्दा महत्त्वपूर्ण कुरा केवल छिटो दौडनु होइन, तर बारम्बार त्यसलाई दोहोर्‍याउन सक्ने क्षमता हुनु हो । ‘आजको फुटबल मुख्य रूपमा रिकभरी (पुनःऊर्जा प्राप्ति) को खेल हो,’ उनी भन्छन् । 

खेलाडीहरूले कति दूरी दौड्छन् ?

अध्ययनहरू अनुसार १९७० को दशकमा खेलाडीहरूले प्रतिखेल औसत ८.७ किलोमिटर दूरी कभर गर्थे । यो १९९० को दशकमा बढेर ११.४ किलोमिटर पुगेको थियो, तर पछि घटेको छ । फिफाका अनुसार २०२२ विश्वकपमा औसत दूरी १०.६ किलोमिटर थियो, जुन पोजिसनअनुसार फरक थियो । 

के खेलाडीहरू धेरै खेलिरहेका छन् ?

डेटाले देखाउँछ कि शीर्ष स्तरका खेलाडीहरू पहिलेभन्दा बढी खेल खेलिरहेका छन् । क्लबहरूले प्रति वर्ष औसत ४२ खेल खेल्ने प्रवृत्ति स्थिर छ । तर शीर्ष खेलाडीहरूको बोझ धेरै बढी हुन्छ । उदाहरणका लागि, लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले विश्वकपअघि यस सिजनमा क्लब र राष्ट्रिय टोली मिलाएर ६५ खेल खेलेका थिए । अन्तर्राष्ट्रिय खेलाडी संघ फिफ्रोले खेलाडीमाथि ‘अहिलेसम्मकै सबैभन्दा ठुलो दबाब’ रहेको बताउँदै विश्राम समय बढाउन आग्रह गरेको छ । प्रोफेसर बाङ्स्बो भन्छन्, ‘धेरै खेल खेल्नु भनेको सीधै चोटपटकको जोखिमसँग सम्बन्धित छ ।’ 

एक युईएफए अध्ययनले पछिल्ला आठ सिजनमा ह्यामस्ट्रिङ चोटमा चिन्ताजनक वृद्धि देखाएको छ । धेरैजसो चोट दौड्दा वा र हुत्तिदाँ भएको पाइएको छ । ‘खेलाडीहरू अहिले आफ्नो सीमामा काम गर्छन् । पर्याप्त आराम नपाए शरीरले साथ दिँदैन,’ डा. लाइतानो भन्छन् । 

अनुभवी शीर्ष खेलाडीहरूको वृद्धि

तर एउटा सुखद पक्ष पनि छ । खेल विज्ञान, पोषण र रिकभरीमा भएको प्रगतिका कारण खेलाडीहरू अब लामो समयसम्म शीर्ष स्तरमा खेल्न सक्षम भएका छन् । युईएफए च्याम्पियन्स लिगमा औसत टोली उमेर सन् १९९२ मा २४.९ वर्ष थियो, जुन २०१८ मा बढेर २६.५ वर्ष पुगेको थियो । 

फिफा विश्वकपमा ३५ वर्षभन्दा माथिका खेलाडीहरूको संख्या पनि तीव्र रूपमा बढेको छ । १९५४ मा यो संख्या केवल १० थियो । १९९० विश्वकपमा ३५ वर्षभन्दा माथिका केवल ७ खेलाडी थिए, तर २०२२ मा यो संख्या ४१ पुगेको थियो । 

यस वर्षको फिफा सूचीअनुसार ७२ खेलाडी ३५ वर्षभन्दा माथिका छन्, जसमा ४० वर्षभन्दा माथिका ८ खेलाडी छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । डा. लाइतानो भन्छन्, ‘जो खेलाडीले आफ्नो शरीरको राम्रो हेरचाह गर्छन् र सही प्रशिक्षण तथा रिकभरी प्रक्रिया अपनाउँछन्, उनीहरू पहिलेभन्दा लामो समयसम्म उच्च स्तरमा खेल्न सक्छन् ।’

बीबीसीको रिपोर्टमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप