म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
सारांश
- राहदानी छपाइमा भएको अनियमितताबारे बयान दिन म्याद थपिएपछि कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियारलाई इमेल गरेकी छन् ।
- पूर्व परराष्ट्रमन्त्री देउवाले आफू विदेशमा रहेकाले ३ दिनभित्र बयानका लागि उपस्थित हुन नसक्ने व्यहोरा इमेलमार्फत जानकारी गराएकी छन् ।
- राहदानी खरिदमा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्षसहित अख्तियारले राहदानी विभागका महानिर्देशकसहित ४ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल गरेकी छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाले अख्तियारको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’
आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरे । उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन् ।
अख्तियारले असार २ मा देउवाको घरमा म्याद टाँस गरेको थियो । घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालस्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको थियो । आयोगको पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’ आरजु हाल हङकङमा रहेको बताइन्छ ।
आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।
राहदानी खरिदमा आरजु समेतको मिलेमतोमा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको आयोगको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण