आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका

शुक्रबार, ०५ असार २०८३, ११ : ५९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेकपा एमालेले विश्वविद्यालयहरूमा उपकुलपति छनोटका लागि सरकारले ल्याएको नयाँ कार्यविधिले राजनीतिक भागबन्डालाई थप प्रश्रय दिएको भन्दै विरोध गरेको छ ।
  • एमाले सांसद गुरु बरालले 'एकीकृत कार्यविधि २०८३' मार्फत सरकारले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गरेको र खुला प्रतिस्पर्धा तथा योग्यताको रटान देखावटी भएको आरोप लगाए ।
  • बरालले अङ्क भार प्रणालीले गुणात्मकताभन्दा कागजी अङ्कलाई बढी महत्त्व दिएको र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा वरिष्ठ प्राध्यापकहरूलाई पन्छाएर कनिष्ठहरूलाई कार्यवाहकको जिम्मेवारी दिने गरिएको भन्दै छनोट विधि र प्रक्रिया सच्याउन माग गरे ।

काठमाडौँ । नेकपा एमालेले विश्वविद्यालयहरूमा उपकुलपति छनोटका लागि सरकारले ल्याएको नयाँ कार्यविधिले राजनीतिक भागबन्डालाई थप प्रश्रय दिएको भन्दै कडा विरोध गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले ‘एकीकृत कार्यविधि २०८३’ मार्फत सरकारले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गरेको आरोप लगाए । 

सांसद बरालले विश्वविद्यालयका उपकुलपतिहरूको नियुक्ति कुलपति (प्रधानमन्त्री) बाटै हुने प्रबन्धले दलीय राजनीतिक प्रभाव अन्त्य हुन नसक्ने बताए ।  उनले भने– ‘बाहिर चर्चामा ल्याइए जस्तो खुला प्रतिस्पर्धा र योग्यताको रटान केवल देखावटी मात्र हो। छनोट प्रक्रियालाई नजिकबाट नियाल्दा राजनीतिक प्रभाव पर्याप्त रहने र अन्तिम निर्णय कुलपतिले नै गर्ने व्यवस्थाले दलीय सिफारिसभन्दा बाहिर जाने अवस्था देखिएन।’

विश्वविद्यालयको नेतृत्वका लागि तय गरिएको अङ्क भार प्रणालीप्रति पनि उनले प्रश्न उठाए । शैक्षिक र व्यावसायिक उपलब्धिका लागि ३५, भिजन पेपरका लागि २५, स्ट्राटेजिक प्लानका लागि १० र प्रस्तुतीकरणका लागि २० अङ्क तोकिनुले गुणात्मकताभन्दा कागजी अङ्कलाई बढी महत्त्व दिएको बरालको तर्क छ ।  ‘उपकुलपति पद केवल शैक्षिक उपलब्धको विषय होइन, यो त ठूलो संस्थाको नेतृत्व, वित्तीय व्यवस्थापन, सङ्कट समाधान र सहकार्यको क्षमताको बिम्ब हुनुपर्छ,’ बरालले भने । 

सांसद राईले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा समेत वरिष्ठ प्राध्यापकहरूलाई पन्छाएर कनिष्ठहरूलाई कार्यवाहकको जिम्मेवारी दिने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले यस्तो कार्यले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान दुवै क्षेत्रमा गम्भीर समस्या पैदा गर्ने र शैक्षिक क्षेत्रमा ‘विस्फोट’ हुन सक्ने चेतावनी दिए । 

उनले हालको छनोट विधि र प्रक्रिया अभिलम्ब सच्याउन र पूर्ण रूपमा पारदर्शी एवं न्यायसम्मत प्रक्रिया अपनाउन सरकारसँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप