शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
सन्दर्भः यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

कागजी र कानुनी न्यायमात्र पर्याप्त हुँदैन, सामाजिक दृष्टिकोण र संस्कृति बदल्नुपर्छः देवी खड्का

शुक्रबार, ०५ असार २०८३, १७ : ४५
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक वर्ष जुन १९ तारिखमा यो दिवस मनाइन्छ ।

द्वन्द्वको समयमा हुने यौन हिंसालाई अन्त्य गर्न, पीडितको न्याय सुनिश्चित गर्न र यस्ता अपराध गर्नेलाई दण्डित गर्ने उद्देश्यसहित यो दिवस मनाइन्छ ।

यस दिवसले राज्य, समाज र अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्वकालीन यौन हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन जिम्मेवारीलाई स्मरण गराउँदै आएको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१५ जुन १९ देखि यस दिवसलाई मनाउने घोेषणा गरेको हो । संयुक्त राष्ट्र संघका अनुसार द्वन्द्व–सम्बन्धित यौन हिंसाको अन्त्य गर्ने आवश्यकताका बारेमा जागरुकता जगाउन तथा विश्वभर यौन हिंसाका पीडित र बाँचेकाहरूलाई सम्मान गर्न यस दिवसले सहयोग पुर्‍याउँछ ।

द्वन्द्व–सम्बन्धित यौन हिंसाले युद्ध वा द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने महिला वा पुरुषमाथि गरिएको बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, गर्भपतन, विवाह र यस्तै गम्भीर प्रकृतिका कुनै पनि यौन हिंसालाई बुझाउँदछ । यसले यौनशोषण वा हिंसाको उद्देश्यले द्वन्द्वको समयमा गरिने मानव बेचबिखनलाई पनि समेट्छ ।

दिवसको अवसरमा अभियन्ता देवी खड्कासँग संक्षिप्त कुरा गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीकाे सम्पादित अंश-

आज हामी द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाइराखेका छौँ । आजको दिनसम्म आउँदाखेरि तपाईंलाई कस्तो लागिरहेको छ ?

खासमा यो दिवस २०१५ बाट विश्वव्यापी रूपमा मनाउँदै आइएको छ । नेपालमा पनि कैयौँ एनजीओ र अरु द्वन्द्व पीडीतहरुले यो दिवस मनाउँदै आउनुभएको थियो । तर सर्भाइभरहरूकै लिडमा अथवा यौन हिंसा पीडितहरूकै संगठनको नेतृत्वमा यो दिवस मनाएको चाहिँ पहिलो हो नेपालको लागि । यसमा हामीले सप्ताहव्यापी कार्यक्रम सोचेका थियौँ । एक हप्ताको मनाएका थियौँ । एक हप्ताभित्र हामीले बढी एड्भोकेसीमै काम गर्‍यौँ । हिजो हामीले सर्भाइभरहरूको आत्म उपचार र सामाजिक लाञ्छनाको विषयमा प्यानल डिस्कसन गरेका थियौँ । आज हामीले लोकतान्त्रिक राज्यमा सर्भाइभरको पहिचानको विषयमा प्यानल डिस्कसन पनि गर्‍यौँ । अनि साथीहरूले आफ्नो भोगाइको बारेमा एउटा सानो परिचयात्मक पृष्ठभूमि जनाउने खालको नाटक पनि प्रस्तुत गर्नुभएको थियो ।

एक दशक लामो सशस्त्र द्वन्द्वमा देशमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना पनि भए । शान्ति प्रक्रिया सुरु भएको यतिका वर्ष भइसक्दा पनि विशेषतः महिलामाथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन नसकेको अवस्था छ । यसलाई कसरी लिनुहुन्छ ?

यो विषय अलि ढिलो निस्कने विषय पनि हो । अब बुझाउन पनि एकदमै समय लाग्छ । यो स्वाभाविक समाजको अवस्था हो, यो अलि बढी राजनीतिक त हुँदै हो, तर बढी चाहिँ सामाजिक इस्यु पनि हो ।

यसो भएको कारणले  न्याय पाउँछौँ भन्ने कुरामा हामी आशावादी छौँ । दोस्रो चाहिँ यो खालको पीडाको न्याय भनेको कानुनी न्यायमात्रै पर्याप्त हुँदैन । यो अलिकति सामाजिक, अलिकति आत्मिक अनि अलिकति सामाजिक अवस्था, दृष्टिकोण बदल्ने कुराहरू, संस्कृति परिवर्तन गर्ने कुराहरूसँग पनि जोडिन्छ । त्यसो हुँदा हामी निरन्तर अभियानको क्रममा छौँ । आशा छ, समाज पनि परिवर्तन हुन्छ र हामीले न्यायको अनुभूति पनि गर्छौ भन्नेमा ।

द्वन्द्व पीडित तथा प्रभावित महिलाहरूको आत्मसम्मान सहितको सत्य, न्याय र परिपूरणका लागि राज्यले अथवा सरकारले के गर्नुपर्ला जस्तो लाग्छ तपाईंलाई ?

यसमा त धेरै कुरा छन् । तर मुख्य कुराचाहिँ स्वीकारोक्ति हो । दोस्रो कुरा, पीडितलाई न्यायको अनुभूति दिलाउने कुरा, तेस्रो कुरा पुनरावृत्ति नहुने । यस्ता गल्तीहरू अब नदोहोरिने । त्यसो गरेमा न्यायको प्रत्याभूति हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप