शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खाली पेट खानै हुन्न लिची

शनिबार, ०६ असार २०८३, ०७ : ३७
शनिबार, ०६ असार २०८३

सारांश

  • गर्मीयाममा लोकप्रिय फल लिची खाली पेटमा खाँदा खतरनाक हुन सक्छ किनकि यसमा पाइने विषाक्त यौगिकहरूले रगतमा चिनीको मात्रा घटाउँछन्।
  • लिचीमा पाइने हाइपोग्लाइसिन-ए र एमसीपीजी नामक विषाक्त तत्वले फ्याटी एसिडको अक्सिडेशनमा बाधा पुर्‍याई रगतमा चिनीको मात्रा अचानक घटाउने (हाइपोग्लाइसेमिया) गर्छ, जसले मस्तिष्कमा असर पार्न सक्छ।
  • कुपोषित बालबालिका, १ देखि १० वर्षका बालबालिका, मधुमेह रोगी वा रगतमा चिनीको समस्या भएका व्यक्तिहरूले खाली पेटमा लिची खाँदा स्वास्थ्य जोखिम बढ्छ।

काठमाडौँ । गर्मीयाममा लिची सबैको मन पर्ने फल हो । तर लिची कहिलेकाहीँ खतरनाक पनि हुन सक्छ । यसमा पाइने हाइपोग्लिसिन–ए र एमसीपीजी जस्ता विषाक्त यौगिकहरू खाली पेटमा सक्रिय हुन्छन् । जसले रगतमा चिनीको मात्रा कम हुन्छ । 

यो कुपोषित बालबालिकाहरूका लागि झनै घातक हुन सक्छ । त्यसैले, लिची सधैँ खाली पेट नभएको बेलामा र सीमित मात्रामा मात्रै खानु पर्छ ।

गर्मीको आगमनसँगै बजारमा छ्यापछ्याप्ती लिच्ची देखिन्छ । तर यसलाई खानु अघि केही कुराहरू जान्नु महत्त्वपूर्ण छ । यदि रसिलो र रातो लिची तपाईंको मनपर्ने फलफूलको सूचीमा छन् भने, खाली पेटमा यसलाई खानु तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

के हो लिची र इन्सेफलाइटिस बिचको सम्बन्ध ?

लिची र एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस)बीच सम्बन्ध रहेको विभिन्न अनुसन्धान रिपोर्टहरूले भनेका छन् । द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित एक रिपोर्टका अनुसार लिचीमा दुई खाले विषाक्त यौगिकहरू पाइन्छन्ः हाइपोग्लाइसिन–ए र मिथिलिन साइक्लोप्रोपाइल ग्लाइसिन (एमसीपीजी) । यी दुवै यौगिकहरूले शरीरमा फ्याटी एसिडको अक्सिडेशनमा हस्तक्षेप गर्छन् । जसले गर्दा रगतमा चिनीको स्तर अचानक घट्छ । यो अवस्थालाई हाइपोग्लाइसेमिया भनिन्छ । ग्लुकोजको कमीले मस्तिष्कलाई प्रत्यक्ष असर गर्छ । यस्तो अवस्थामा व्यक्ति बेहोश हुने वा मृत्यु नै पनि हुन सक्छ । अनुसन्धानका अनुसार, बिहारको मुजफ्फरपुर जिल्लामा गर्मीयाममा बालबालिकाको अचानक मृत्युका घटना सुनिन्छ । यी बालबालिकाको मृत्युको कारण लिचीमा पाइने विषाक्त यौगिकहरू भएको बताइएको छ ।

१ देखि १० वर्ष उमेरका बालबालिका र कुपोषित बालबालिकाहरू लिचीमा पाइने विषाक्त यौगिकहरूको जोखिममा हुन सक्ने अध्ययनले देखाएको छ । यी बालबालिकाहरूमा ग्लाइकोजेनको स्तर अत्यन्तै कम हुन्छ । र यदि त्यस्ता बालबालिकाहरूले खानै नखाइकन बिहान खाली पेटमा लिची खाए भने शरीरको ग्लुकोज उत्पादन गर्ने क्षमता पूर्ण रूपमा बाधित हुन्छ । वयस्कहरूमा कसैले मधुमेहको औषधि सेवन गरिरहेको छ, कोही कुपोषित छ, वा पहिले नै रगतमा चिनीको समस्या छ भने तिनीहरूले पनि खाली पेटमा लिची खानु हानिकारक हुन सक्छ ।

लिची खानु अघि पालना गर्नुस् यी नियम

अमेरिकी कृषि विभागका अनुसार, लिची भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरले भरिपूर्ण फल हो । यद्यपि, यसलाई खानु अघि केही कुराहरू ध्यानमा राख्नु पर्छः

  • कहिल्यै पनि खाली पेटमा लिची नखानुस् । किनभने यसमा पाइने हाइपोग्लिसिन–ए र मिथिलिन साइक्लोप्रोपाइल ग्लाइसिन जस्ता विषाक्त यौगिकहरूले रगतमा चिनीको मात्रा द्रुत रूपमा कम गर्न सक्छन् ।
  • खाना खाएपछि मात्र यसलाई खाने बानी बसाल्नुस् ।
  • लिचीमा फाइबरको मात्रा बढी हुन्छ । त्यसैले, बच्चाहरूले ६–७ लिचीभन्दा बढी र वयस्कहरूले ११–१२ वटाभन्दा बढी लिची खानु हुँदैन । धेरै लिची खाँदा दिसा लाग्ने वा एसिडिटी हुन सक्छ ।
  • राम्रोसँग पाकेको लिची मात्र खानुपर्छ । खाना खानुअघि केही घण्टा पानीमा भिजाउनु पनि राम्रो हुन्छ ।
  • यदि तपाईँ मधुमेह रोगी हुनुहुन्छ भने, लिचीको सेवन सीमित गर्नुहोस् । किनकि यसले रगतमा चिनीको मात्रालाई अचानक घटाउन सक्छ ।

विभिन्न अनुसन्धानहरूका अनुसार, लिची हानिकारक फल होइन । तर खाली पेटमा र धेरै मात्रामा यसलाई सेवन गर्दा कुपोषित र खाली पेट भएका वा थोरै मात्रै खानेकुरा खाएका बालबालिकाहरूमा शारीरिक समस्याहरू बढ्न सक्छ । त्यसैले यो मीठो, मौसमी फलको विवेक र सावधानीका साथ आनन्द लिनुहोला । लिची खाएपछि तपाईँले कुनै शारीरिक असुविधा अनुभव गर्नुभयो भने, सकेसम्म चाँडो डाक्टरसँग परामर्श लिनुहोस् ।

 (अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप