शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अपराध

बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार

शनिबार, ०६ असार २०८३, १५ : २९
शनिबार, ०६ असार २०८३

सारांश

  • प्रहरीले ललितपुरको बालकुमारीमा खैरो हेरोइन कारोबारमा संलग्न ३ जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
  • लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले घटनाको पुष्टि गरेका छन् ।

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । 

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । 

ललितपुर र काठमाडौँको सिमानास्थित काठमाडौँ महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो । ब्युरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो । 

लागुऔषध कारोबारमा संलग्न कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको छ । 

गोली प्रहारबाट घाइते भएका ओझैयालाई उपचारका लागि अस्पताल पठाइएको छ ।  ओझैया खैरो हेरोइन मगाउने मुख्य व्यक्ति रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उनी लागुऔषध नाइट्रोभ्याट मुद्दामा २०७९ पुस ३ मा थानकोटबाट पक्राउ परेर जेल परेका थिए । ३ वर्ष जेल बसेर २०८२ पुस १७ मा छुटेपछि फेरि लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खैरो हेरोइन रिसिभ गर्न बालकुरीमा पुगेका अशोक प्रहरी देखेर भागेका थिए । उनलाई ब्यूरोको टोलीले काठमाडौँ महानगरापालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप