आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
सांसदसँग

‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’

आइतबार, ०७ असार २०८३, १२ : ४५
आइतबार, ०७ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्।
  • उनले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने उद्देश्यले सांसद बनेको बताएका छन्।
  • सांसद धामीले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माण, वन्यजन्तु आरक्ष पीडित, बाढी पीडित, किसान र सुकुम्वासी जस्ता जल्दाबल्दा विषयमा संसदमा आवाज उठाइरहेका छन्।

काठमाडौँ । जनक सिंह धामी कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनले २४ हजार ३३२ मत प्राप्त गरी नेपाली कम्युनिस्ट पार्टीकी विना मगरलाई पराजित गरेका थिए । उनकी निकटतम प्रतिस्पर्धी मगरले ११ हजार ११० मत प्राप्त गरेकी थिइन् । 

रातोपाटीको ‘सांसदसँग’ स्तम्भका लागि प्रतिनिधिसभा सदस्य धामीसँग रातोपाटीका नरेन्द्र रौलेले गरेको कुराकानीको सम्पादित अंश : 

चुनाव जितिसकेपछि आफ्नो क्षेत्रमा कति पटक जानुभयो ?

दुईचोटी पुगें ।
 
तपाईं सांसद किन बन्नुभयो ?

देशमा भ्रष्टाचार भयो, सुशासन भएन र यसलाई निर्मूल गर्नका निमित्त जेनजीहरुको भावना अनुसार परिवर्तित परिस्थितिमा वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी आयो । देश निर्माण, समुन्नत समाज निर्माणका लागि एउटा पार्टी स्थापना भयो । यसले गर्दा देशमा आमूल परिवर्तन हुन्छ र सुशासन आउँछ र भ्रष्टाचार अन्त्य हुन्छ र गर्छौँ भन्ने उद्देश्यले म राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर जनप्रतिनिधिको रुपमा यहाँ पुगेको छु ।

चुनावमा तपाईंका प्रमुख प्रतिबद्धताहरु के–के थिए ?

मेरो व्यक्तिगत प्रतिबद्धता भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नै प्रतिबद्धता हो । हाम्रा १० बुँदे प्रतिबद्धता छन् र त्यसमा देशमा सुशासन कायम गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता, भ्रष्टाचारको उन्मूलन गर्ने, अहिलेसम्म देशमा भएका भ्रष्टाचारको छानबिन गरेर दोषीलाई कारबाही गर्ने हाम्रो चाहिँ एजेन्डा हो ।

त्यसपछि भदौ २३/२४ गते भएको जेनजी आन्दोलन भएको थियो । त्यसको मर्म र भावना अनुसार देशलाई अगाडि लैजाने भन्ने पनि हाम्रो चाहिँ उद्देश्य र एजेन्डा हो ।

संसद्मा खासगरी कस्ता विषयमा आवाज उठाइरहनुभएको छ ?
 
अहिले खासगरी आफ्नो निर्वाचन क्षेत्रका बारेमा प्रश्न उठाइराखेको छु । त्यहाँको विकास निर्माण, वन्यजन्तु आरक्ष पीडितहरुका बारेमा प्रश्न उठाइराखेको छु । यस्तै त्यहाँका बाढी पीडित, दोधारा चाँदनी नदीका तटबन्ध, किसान र सुकुम्वासीका जल्दाबल्दा विषय पनि उठाइराखेको छु । त्यहाँको सीमा क्षेत्र जुन ४० किलोमिटर छ, त्यसलाई व्यवस्थित हुनुपर्छ भनेर कुरा उठाइराखेका छौँ । यस्तै अव्यवस्थित बसोबासीहरूलाई पुर्जा दिनुपर्छ भन्ने बारेमा पनि म कुरा उठाइराखेको छु ।

चुनावमा तपाईंले गरेका प्रतिबद्धताहरु आफ्नो कार्यकालमा पूरा गर्न सकिन्छ ?

आफ्नो कार्यकालमा पूरा गर्न सकिन्छ भन्ने उद्देश्य लिएर हामीहरू अगाडि बढेका छौँ । यसका लागि सबै राज्य संयन्त्र र नागरिकहरूले सकारात्मक सोच राखेर एकआपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ । राज्य संयन्त्रलाई चुस्त बनाएर अगाडि बढ्यौं भने निश्चित रुपमा हामीले गरेका बाचाहरू पूरा हुन सक्छन् ।  देशै कायापलट हुने त नहोला, तर कतिपय समस्या एक वर्षमै समाधान हुन्छन्, कतिपय पाँच वर्षमा होलान् ।
 
आफ्नो निर्वाचन क्षेत्रबाहेक सुदूरपश्चिमको विकासका लागि कस्तो भूमिका खेल्नु हुन्छ ? पर्यटन, कृषि, उत्पादन, उर्जा लगायतका क्षेत्रमा के सोच्नुभएको छ ?

अहिलेको सरकारले दुई तीनवटा तरिकाले त्यसले सम्बोधन गरेको छ । एउटा त पर्यटन, बाटोघाटो, पूर्वाधार क्षेत्रसँग सम्बन्धित राष्ट्रिय गौरवका योजना छन् । विगतमा भएका योजनाहरुलाई निरन्तरता दिने र त्यसपछि प्रक्रियागत ढंगले तलबाट आएका योजनाहरुलाई समावेश गरेर अगाडि लैजाने भन्ने छ ।

रामारोशनदेखि, बडीमालिका, मालिकार्जुनसम्मको क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय क्षेत्रमा करिडोर बनाउने योजनामा छ । सुदूरपश्चिमको गेटा विश्वविद्यालय, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चारवटा विधामा पढाइ हुने योजना अगाडि बढाएको छ । विगतमा भएका करिडोर, सेती लोक मार्ग, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा सुरुवात भएका योजना सम्पन्न गर्ने काममा लाग्नेछौं ।

आफ्नो क्षेत्रका नागरिकलाई के भन्न चाहनुहुन्छ ?

आफ्नो क्षेत्रका मतदाताहरुलाई मैले धन्यवाद दिनैपर्छ । मलाई उहाँहरूले जिताएर पठाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेर एउटा आशा र भरोसा गरेर जिताएर पठाउनुभएको छ । जनताको आशा र भरोसालाई मर्न दिने छैन । इमानदारीतापूर्वक विकासका लागि, देश निर्माणका लागि अगाडि बढ्नेछु भन्ने प्रतिबद्धता गर्न चाहन्छु । त्यहाँका स्थानीय समस्याहरु संसदमा सधैँ उठाइराख्नेछु, जनताका पक्षमा सधैं लडिरहनेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप