१९७० को त्यो फाइनल, पेलेको अन्तिम विश्वकप र गोल
सारांश
- सन् १९७० को जुन २१ मा ब्राजिल र इटालीबीच भएको विश्वकप फाइनलमा ब्राजिलले इटालीलाई ४-१ गोलले पराजित गर्दै तेस्रो पटक विश्वकप जित्यो ।
- यो फाइनल दुई पूर्व विश्व च्याम्पियन टोलीबीचको उपाधि भिडन्त थियो, जहाँ ब्राजिलले आफ्नो आक्रमणकारी शैली र उत्कृष्ट टिमवर्क प्रदर्शन गर्यो ।
- पेलेको यो अन्तिम विश्वकप थियो, जसमा उनले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरे र तेस्रो विश्वकप उपाधि जित्ने कीर्तिमान बनाए ।
काठमाडौँ । ठिक ५६ वर्ष अघि, सन् १९७०को आजकै दिन, अर्थात् जुन २१ का दिन विश्वकपको फाइनलमा ब्राजिल र इटाली भिडेका थिए । संयोग नै मान्नुपर्छ त्यसदिन पनि आइतबार नै परेको थियो ।
फिफा विश्वकप फाइनललाई विश्व फुटबल इतिहासकै महान् फाइनलमध्ये एक मानिएको यो खेल मेक्सिको सिटीस्थित लोकप्रिय एज्टेका रंगशालामा खेलिएको थियो ।
यस फाइनल केवल दुई टोलीबिचको उपाधि भिडन्त मात्र थिएन, यो फुटबल कला, कौशल र आक्रमणकारी खेलको उत्कृष्ट प्रदर्शन पनि थियो । ब्राजिलले इटालीलाई ४–१ ले पराजित गर्दै तेस्रो पटक विश्वकप जित्दै र विश्व फुटबलमा आफ्नो वर्चस्व स्थापित गरेको थियो ।
यो फाइनल विशेष थियो, किनभने पहिलो पटक विश्वकप फाइनलमा दुई पूर्व विश्व च्याम्पियन टोली आमनेसामने भएका थिए । इटालीले १९३४ र १९३८ मा विश्वकप जितिसकेको थियो भने ब्राजिलले १९५८ र १९६२ मा उपाधि उचालेको थियो । त्यसैले यो खेल केवल उपाधिका लागि मात्र नभई विश्व फुटबलको सर्वश्रेष्ठ राष्ट्र बन्ने प्रतिस्पर्धा पनि थियो ।
फाइनलसम्मको यात्रा
मेक्सिको पुग्नुअघि ब्राजिलले छनोट चरणमा कोलम्बिया, भेनेजुएला र पाराग्वेविरुद्ध खेल्दै सबै छ खेल जितेको थियो । टोलीले २३ गोल गरेको थियो भने केवल दुई गोल मात्र खाएको थियो । विश्वकपको मुख्य प्रतियोगितामा पनि ब्राजिल अजेय रहेको थियो ।
समूह चरणमा ब्राजिलले चेकोस्लोभाकियालाई ४–१, इंग्ल्यान्डलाई १–० र रोमानियालाई ३–२ ले पराजित गरेको थियो । क्वार्टरफाइनलमा पेरूमाथि ४–२ को जित निकालेको थियो भने सेमिफाइनलमा उरुग्वेलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
इटालीको यात्रा भने केही फरक थियो । उसले स्विडेनलाई १–० ले हरायो, उरुग्वे र इजरायलसँग गोलरहित बराबरी खेलेको थियो । क्वार्टरफाइनलमा आयोजक मेक्सिकोलाई ४–१ ले हराएको थियो । त्यसपछि विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिने सेमिफाइनलमा पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
एज्टेका रंगशालामा ऐतिहासिक भिडन्त
१०७ हजारभन्दा बढी दर्शक उपस्थित एज्टेका रंगशालामा खेल सुरु भएपछि ब्राजिलले सुरुदेखि नै आफ्नो आक्रमणकारी शैली देखाएको थियो । खेलको १८औँ मिनेटमा रिभेलिनोको क्रसमा महान् खेलाडी पेलेले शक्तिशाली हेडरमार्फत गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर इटालीले हार मानेन। ३७औँ मिनेटमा ब्राजिलको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै रोबर्टो बोनिनसेग्नाले बराबरी गोल गरेका थिए । पहिलो हाफ १–१ को बराबरीमा समाप्त भएको थियो ।

दोस्रो हाफमा भने ब्राजिलले आफ्नो वास्तविक शक्ति प्रदर्शन गरेको थियो । इटालीको रक्षात्मक रणनीति ब्राजिलको सिर्जनात्मक खेलका अगाडि टिक्न सकेन । ६६औँ मिनेटमा जर्सोनले शक्तिशाली प्रहारमार्फत गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि पेलेको हेडर पासमा जाइरजिन्होले गोल गर्दै अन्तर ३–१ बनाएका थिए ।
इतिहासकै उत्कृष्ट गोलमध्ये एक
खेलको ८६औँ मिनेटमा आएको ब्राजिलको चौथो गोललाई धेरै फुटबल विश्लेषकहरूले विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक मान्छन् ।
यो गोल कुनै व्यक्तिगत कौशलभन्दा पनि सामूहिक फुटबलको उत्कृष्ट नमुना थियो । ब्राजिलका सात खेलाडीले लगातार पास आदानप्रदान गर्दै इटालीको रक्षापंक्तिलाई छकाए । क्लोडोआल्डोले आफ्नै क्षेत्रमा चार इटालियन खेलाडीलाई छलाउँदै खेल अघि बढाएका थिए। त्यसपछि रिभेलिनो, जाइरजिन्हो र पेलेमार्फत बल कप्तान कार्लोस अल्बर्टोसम्म पुगेको थियो ।
पेलेले बल नियन्त्रणमा लिएर दायाँपट्टि तीव्र गतिमा दौडिरहेका कार्लोस अल्बर्टोलाई पास दिएका थिए । अल्बर्टोले कुनै गल्ती नगरी शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । त्यो गोलसँगै एज्टेका रंगशाला उत्सवमय बनेको थियो ।
यो गोल आज पनि फुटबलको सामूहिक सौन्दर्य र टिमवर्कको उत्कृष्ट उदाहरणका रूपमा स्मरण गरिन्छ ।
पेलेको अन्तिम विश्वकप
यो प्रतियोगिता पेलेको अन्तिम विश्वकप थियो । यद्यपि उनले राष्ट्रिय टोलीबाट औपचारिक रूपमा एक वर्षपछि सन्न्यास लिए, १९७० विश्वकप उनको विश्व फुटबल यात्राको शिखर मानिन्छ ।
फाइनलमा एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका पेले खेलका सर्वश्रेष्ठ खेलाडीमध्ये एक थिए । उनले यस प्रतियोगितासँगै तेस्रो विश्वकप उपाधि जित्ने विश्वकै पहिलो र हालसम्मका एकमात्र खेलाडी बन्ने कीर्तिमान पनि बनाएका थिए ।

१९५८ मा किशोर खेलाडीका रूपमा विश्वकप जितेका पेलेले १९६२ र १९७० मा पनि उपाधि जित्दै आफूलाई इतिहासकै महान् फुटबलरमध्ये एकका रूपमा स्थापित गरेका थिए ।
ब्राजिलको स्वर्णिम टोली
१९७० को ब्राजिल टोलीलाई धेरैले फुटबल इतिहासकै उत्कृष्ट राष्ट्रिय टोली मान्छन् । पेले, जाइरजिन्हो, जर्सोन, रिभेलिनो, टोस्टाओ, क्लोडोआल्डो र कप्तान कार्लोस अल्बर्टोजस्ता प्रतिभाशाली खेलाडीहरूले टोलीलाई असाधारण बनाएका थिए ।
टोलीका प्रशिक्षक मारियो जागालोले पनि इतिहास रचेका थिए । उनी खेलाडीका रूपमा १९५८ र १९६२ को विश्वकप जितिसकेका थिए । १९७० मा प्रशिक्षकका रूपमा उपाधि जित्दै विश्वकप खेलाडी र प्रशिक्षक दुवै भूमिकामा जित्ने पहिलो व्यक्ति बनेका थिए ।
जुल्स रिमे ट्रफी सधैँका लागि ब्राजिललाई
यो जितसँगै ब्राजिलले तेस्रो पटक विश्वकप जितेको थियो । त्यतिबेला लागू नियमअनुसार तीन पटक विश्वकप जित्ने राष्ट्रले जुल्स रिमे ट्रफी स्थायी रूपमा राख्न पाउने व्यवस्था थियो ।
यसरी ब्राजिलले प्रतिष्ठित जुल्स रिमे ट्रफी स्थायी रूपमा आफ्नो बनायो । यद्यपि सन् १९८३ मा रियो दि जेनेरियोमा प्रदर्शनका क्रममा उक्त ट्रफी चोरी भयो र आजसम्म फेला परेको छैन ।
अमर बनेको फाइनल
१९७० विश्वकप फाइनललाई केवल एउटा फुटबल खेलका रूपमा मात्र हेर्न सकिँदैन । यो खेलले फुटबल कसरी खेलिनुपर्छ भन्ने आदर्श प्रस्तुत गरेको थियो । ब्राजिलको आक्रमण, पासिङ, सिर्जनात्मकता र सामूहिक खेलले विश्वभरका फुटबल समर्थकलाई मन्त्रमुग्ध बनाएको थियो ।
आज पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि १९७० को ब्राजिल टोली र इटालीविरुद्धको ४–१ को विजय फुटबल इतिहासको स्वर्णिम अध्यायका रूपमा सम्झिइन्छ । धेरै विशेषज्ञ र समर्थकहरू यस टोली र यो फाइनलाई अझै पनि विश्व फुटबलको उत्कृष्टताको नमुनाको रुपमा लिने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण