आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

के हुन सक्ला अबको राजनीतिक विकल्प ?

आइतबार, ०७ असार २०८३, १४ : २१
आइतबार, ०७ असार २०८३

सारांश

  • पहिलो संविधानसभा संविधान निर्माणमा असफल भयो र प्रमुख दलहरू सत्ता खेलमा व्यस्त रहे, जसले जनतामा निराशा बढायो ।
  • स्व. उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको वैकल्पिक अभियानले युवा सहभागिता, सुशासन र पारदर्शितामा जोड दियो, जसले पछि विवेकशील नेपाली दलको रूप लियो ।
  • नेपालमा दर्जनौँ वैकल्पिक दलहरू बने पनि विचार र संस्कारमा पुरानै दलहरूको निरन्तरता देखिएको छ, जसले गर्दा प्रगतिशील, समाजवादी युवाहरूको बृहत् पुनर्गठन आवश्यक छ ।

पहिलो संविधानसभाबाट संविधान बन्न सकिरहेको थिएन । पटक–पटक म्याद थप्दा पनि दलहरूबिचको खिचातानीले लामो त्याग र बलिदानबाट स्थापित भएको पहिलो संविधानसभा संविधान नबनाएर अन्त्य हुँदै थियो । प्रमुख दलहरू संविधानसभाबाट नयाँ संविधान निर्माण भन्दा पनि सत्ताको खेलमा व्याप्त थिए । दलहरूको मुख्य विषय संविधान नभएर सत्ता मात्रै थियो । जनतामा निराशा व्यापक बढ्दै थियो । त्यति ठुलो त्याग र बलिदानपछि बनेको सरकारको कामबाट जनता निराश थिए ।

यसैबिच ०६८ सालमा स्व. उज्ज्वल थापाको नेतृत्वमा एउटा अभियान अगाडि आयो । त्यसको मुख्य लक्ष्य युवालाई सार्वजनिक जीवन र राजनीतिमा सहभागी गराउने, सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा आवाज उठाउने, पुराना खराब राजनीतिक अभ्यासको विरोध गर्ने, योग्य, नैतिक र सेवामुखी नेतृत्व विकास गर्ने थियो । यिनै विषय उठाएर पहिलो पटक पुराना राजनीतिक दलको विकल्पमा नयाँ वैकल्पिक अभियान सुरु भएको थियो । 

यो अभियानमा युवाहरूसहित समाजका प्रबुद्ध वर्ग जोडिने क्रम बढ्दो थियो । यो अभियानले ०७० सालमा दलको रूप लियो । विवेकशील नेपाली दल । त्यो दलले ०७० सालको संविधानसभा को दोस्रो निर्वाचनमा भाग समेत लियो । तर विवेकशील नेपाली दलले निर्वाचनमा परिणाम हासिल गर्न सकेन । निर्वाचनमा काङ्ग्रेस, एमाले, माओवादी नै क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।

०७० फागुन २५ गते आइतबार प्रकाशित नेपाल साप्ताहिकमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले ‘नयाँ शक्तिको खाँचो’ भन्ने आलेख लेखिसकेपछि यो बहस अझै अगाडि बढ्यो । दोस्रो संविधानसभापछि देशमा नयाँ संविधान बन्यो । संविधान घोषणा लगत्तै ठुलो तामझामसहित डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ दल नयाँ शक्ति बनेको थियो ।

यसरी स्व. उज्ज्वल थापाबाट सुरु भएर डा. बाबुराम भट्टराई हुँदै जेनजी विद्रोहसम्म आइपुग्दा नेपालमा वैकल्पिक राजनीतिका नाममा दर्जनौँ दलहरू बने र आज देशको बागडोर पनि पुराना दलको विकल्पमा आएका भनिनेहरूकै हातमा छ ।

अहिले नेपाली राजनीतिक बजारमा वैकल्पिक राजनीति भनेको पुरानाको विरोध र त्यसको विकल्पमा जो जस्तो शक्ति अगाडि आए पनि त्यसलाई वैकल्पिक भन्ने भाष्य तयार गरिँदै छ । जो नितान्त आक्रोश र बदलाको अभिव्यक्ति मात्र हो । हो यतिबेला परम्परागत दलहरू पछाडि परेको र कमजोर बन्दै गएको सत्य हो । 

त्यसको पनि खास कारण छ यदि ती कारण पत्ता नलगाई मात्र नयाँ ठिक भन्ने कुराले हामीलाई विचारविहीन ठाउँमा पुर्‍याउँछ । हो, पुराना राजनैतिक दलको नेतृत्व असक्षम अयोग्य र निवृत्त हुने समय भएकै हो । यसमा कुनै र अगर–मगरको कुरै छैन । तर नेतृत्वले सहज रूपमा यो कुरा नस्विकार्दा अहिले बिचार राजनीति र दर्शनलाई नै दोषी करार गरिएको छ । 

सरकार चलाउने दलहरू बदलिए पनि नेपाली समाजमा वर्गीय समस्या, उत्पीडित जाति समुदाय र सामाजिक अन्तर्विरोध अहिले पनि कायमै छ । हो पुरानो बिचारमा विकास गर्नु जरुरी छ । पुरानो बिचारको कपिपेस्टले समाज अगाडि जान सक्दैन । तर राजनीति कहिल्यै पनि विचारविहिन हुन सक्दैन । त्यसकारण वैकल्पिक राजनीति पनि  विचारसहितको नै हुन्छ । 

अबको वैकल्पिक राजनीति भनेको पुरानो विचारमा थप विकास गरी ज्ञान विज्ञान र प्रविधिसहित नयाँ युगको नेतृत्व गर्न सक्ने विचार र नेतृत्व हो । राजनीतिको अकाट्य सत्य भनेको के हो भने तत्कालीन सामाजिक, वर्गीय, जातीय, लैङ्गिक अन्तर्विरोधको हल हो । त्यो भनेको वर्ग पक्षधरता नै हुन्छ । 

तर दलको विकल्प उदाएका दललाई नयाँ र वैकल्पिक भनेर जति व्याख्या गरे पनि अन्ततः त्यो पुष्टि हुँदैन । दलको विकल्पमा खडा गरिएका दलले त पुरानाले जे गरे त्यसलाई नै निरन्तरता दिने हो । त्यहाँ विचार राजनीति संस्कार, संस्कृति केही पनि फरक हुँदैन । दलको नाम र पात्र मात्रै बदलेर समाजको अन्तर्विरोध हल हुँदैन  ।

सरासर हेर्दा त पुराना दल जो जनतामा बदनाम छन्, त्यसको नेतृत्व अयोग्य छ, विभिन्न काण्डमा मुछिएको छ । परिवारबादमा लिप्त छ । जनविश्वास गुमाइसकेको छ, त्यसको विकल्प जनताले खोज्ने कुरा सही र न्यायोचित नै छ । तर राजनीतिले सधैँ एउटा वर्गको प्रतिनिधित्व गर्ने हुँदा विकल्पमा अगाडी आउने दलहरूको वर्ग द‌ृष्टिकोणले सबै कुरा निर्धारण गर्छ । 

विचारविहीन विकल्प हुल्लडहरूको जमात मात्र हुन्छ । त्यसले तत्काल बदलाको भावना जागृत गरे पनि दीर्घकालीन समाधान दिन सक्दैन । दीर्घकालीन रूपमा राजनैतिक सङ्कट समाधान गरी समाजलाई अगाडि बढाउन प्रगतिशील समाजवादी बिचारसहितको वैकल्पिक शक्ति नै चाहिन्छ । 

अहिले देखिएका र अगाडी आएका नयाँ भनिनेहरूको राजनीतिक दृष्टिकोण के हो ? उनीहरूले तत्कालीन सामाजिक, राजनीतिक, अन्तर्विरोध हल गर्न सक्छन् कि सक्दैनन् ? पक्कै सक्दैनन् । जतिबेला स्व. उज्ज्वल थापाले वैकल्पिक राजनीतिको अभियान सुरु गरे । उनले मुख्यतः सुशासन र नेतृत्व पुस्तान्तरणको विषय उठाएका थिए । समय अगाडि बढ्दै जाँदा उनले यो अभियान अगाडि बढाउन पाएनन् । 

त्यो अभियानमा जोडिएका पात्रहरू पनि लाखापाखा लागे । त्यसपछि बनेका नयाँ दलहरूले पनि आफूलाई पुरानो राजनीतिक फोहोरबाट माथि राख्न सकेनन् । त्यसले गर्दा पछिल्लो ज्ञान विज्ञानको संयोजन गर्दै नयाँ समाजवादी  विचार, कार्यक्रम र एजेण्डा भएको दलको अभाव अहिले पनि छँदैछ । 

त्यसकारण अबको नेपाली समाज अगाडि बढाउन, राजनीतिलाई सफा बनाउन प्रगतिशील, बामपन्थी, समाजवादी युवाहरूले सचेत पहलसहित बृहत् पुनर्गठन नै अबको विकल्प हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

यज्ञ पोखरेल
यज्ञ पोखरेल
लेखकबाट थप