आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्

आइतबार, ०७ असार २०८३, १६ : ४९
आइतबार, ०७ असार २०८३

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेता रवि लामिछाने तथा काठमाडौँका मेयर बालेन्द्र शाहलाई जनताले परिवर्तनको ऐतिहासिक अवसर दिएको बताएका छन् ।
  • लिङ्देनले प्रजातन्त्र स्थापनापछि दलहरूले 'लुटतन्त्र' मच्चाएको आरोप लगाउँदै यस पटकको निर्वाचनमा दलहरूको सङ्गठन र पैसाले काम नगरेको र जनताले नयाँ शक्तिलाई विश्वास गरेको बताए ।
  • उनले यो अवसरलाई चुकाएमा देशले क्षति भोग्नुपर्ने चेतावनी दिँदै रास्वपालाई निषेधको राजनीति नगरी सहमतिका आधारमा अगाडि बढ्न सुझाव दिएका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक परिवर्तनको जिम्मा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा रवि लामिछाने र बालेन्द्र शाहलाई दिएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यो अवसर कुनै व्यक्ति वा पार्टीका लागि मात्र नभई समग्र देशका लागि ऐतिहासिक भएको बताए । 

अध्यक्ष लिङ्देनले प्रजातन्त्र स्थापनापछि देशमा राजनीतिक दलहरूले ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै त्यसमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । ‘हामी कुनै समय फरक–फरक कित्तामा रहेर पनि एउटै कुरा गरिरहेका थियौँ,’ उनले भने, ‘फागुन २१ गतेको निर्वाचनबाट जनताले परिवर्तनका लागि स्पष्ट जनमत दिएका छन् र त्यो जिम्मा रवि लामिछाने र बालेन्द्र शाहको काँधमा आएको छ।’

उनले यस्तो अवसर पार्टी र व्यक्तिको जीवनमा कहिल्यै नआउने बताउँदै यसलाई चुकाएमा त्यसको क्षति देशले भोग्नुपर्ने चेतावनी दिए ।  ‘यो अवसर चुकाउनुभयो भने धोका व्यक्ति वा पार्टीलाई मात्र होइन, समग्र देशलाई हुनेछ। मलाई विश्वास छ, तपाईंहरूले यो जिम्मेवारी पूरा गर्नुहुनेछ,’ लिङ्देनले भने । 

निर्वाचनको परिणामले परम्परागत राजनीतिलाई चुनौती दिएको बताए । ‘यस पटकको निर्वाचनमा दलहरूको सङ्गठन र पैसाले काम गरेन। झन्डै दुई तिहाइ बहुमत र सङ्गठन नभएका शक्तिलाई जनताले विश्वास गरेका छन्। यो जनविश्वासलाई कुनै पनि हालतमा निराशामा परिणत नगर्नुस्,’ उनले भने । 

अध्यक्ष लिङ्देनले देशको समस्या केवल नेताहरूमा मात्र नभई वर्तमान संविधान र राज्यको संरचनामा पनि रहेको औँल्याए । उनले केवल अनुहार फेरेर मात्र नपुग्ने भन्दै प्रणाली र संरचनागत सुधारमा जोड दिए । 

राजनीतिक सहकार्यका बारेमा बोल्दै उनले निषेधको राजनीति नगर्न र सहमतिका आधारमा अगाडि बढ्न रास्वपा नेतृत्वलाई सुझाव दिए । ‘निषेधको राजनीति होइन, सहमतिको राजनीतिबाट अगाडि बढ्नुस्,’ लिङ्देनले भने । 

उहाँले राप्रपा सकारात्मक प्रतिपक्षको भूमिकामा रहने बताए । ‘हामी सकारात्मक प्रतिपक्ष हौँ। सरकारले गर्ने राम्रा कामको हामी पूर्ण समर्थन गर्छौं, तर गलत काम भएमा कडा खबरदारी पनि गरिरहनेछौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप