मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?

मङ्गलबार, ०९ असार २०८३, १३ : ३४
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • निर्देशक राजकुमार हिरानीले 'मुन्ना भाई एमबीबीएस' र '३ इडियट्स'को सीक्वल बनाउन चाहेको बताएका छन्।
  • उनले 'मुन्ना भाई'को सीक्वलका लागि ३-४ वटा स्क्रिप्टमा काम भइरहेको तर कुनै पनि पूर्ण नभएको जानकारी दिए।
  • हिरानीले आगामी वर्षसम्ममा फिल्मको काम सुरु हुने संकेत दिएका छन्।

मुम्बई। बलिउडका चर्चित फिल्महरू ‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ लाई दर्शकले निकै मन पराएका थिए। फिल्मका हरेक पात्र र संवाद आज पनि दर्शकको मनमा जीवितै छन्। 

वर्षौँ बितिसक्दा पनि प्रशंसकहरू यी फिल्मको अर्को भागको उत्सुकताका साथ पर्खाइमा छन्। यसैबिच, निर्देशक राजकुमार हिरानीले यी दुवै चर्चित फिल्मको सीक्वललाई लिएर एउटा ठूलो अपडेट दिएका छन्।

एबीपी न्युजसँगको कुराकानीमा निर्देशक राजकुमार हिरानीले भने, ‘म यी दुवै फिल्म बनाउन चाहन्छु।’ 

मुन्ना भाईको सीक्वलका बारेमा कुरा गर्दै उनले थपे, ‘हामी विगत धेरै वर्षदेखि मुन्ना भाईको सीक्वल लेख्ने प्रयास गरिरहेका छौँ। मसँग आधा-आधा लेखिएका ३ देखि ४ वटा स्क्रिप्ट छन्। हाल एउटा स्क्रिप्टमा निकै काम भएको छ, तर त्यो पूर्ण रूपमा सकिएको भने छैन। आशा छ त्यो चाँडै पूरा हुनेछ, बिचमा हामीले थिएटरको काम भने गरिरहेका थिएनौं।’

उनले अगाडि भने, ‘मसँग पूर्ण रूपमा लेखिएको एउटा स्क्रिप्ट ‘दादा साहब फाल्के’ को हो, तर म फेरि यसैमा लागेँ। मलाई एउटा कमेडी फिल्ममा काम गर्नुपर्छ जस्तो लाग्यो।’ उनले आगामी वर्षसम्ममा फिल्मको काम सुरु हुन सक्ने सङ्केत समेत गरे।

सन् २००३ मा रिलिज भएको ‘मुन्ना भाई एमबीबीएस’ राजकुमार हिरानीको निर्देशकका रूपमा पहिलो फिल्म थियो। यस फिल्ममा सञ्जय दत्त, सुनील दत्त, अरशद वारसी र ग्रेसी सिंह मुख्य भूमिकामा देखिएका थिए। यसको सफलतापछि सन् २००६ मा यसको दोस्रो भाग ‘लगे रहो मुन्ना भाई’ आयो, जसलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए।

त्यस्तै, सन् २००९ मा रिलिज भएको ‘३ इडियट्स’ लाई पनि राजकुमार हिरानीले नै निर्देशन गरेका थिए। कलेज जीवन र शिक्षा प्रणालीमा आधारित यस फिल्ममा आमिर खान (रेन्चो), आर. माधवन (फरहान) र शरमन जोशी (राजू) मुख्य भूमिकामा थिए। यस फिल्मका पात्रहरूलाई मानिसहरूले आज पनि सम्झने गर्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप