भूकम्प गएको साढे दुई वर्षसम्म पुनर्निर्माण सुरु भएन, बजेट भाषणमा गफ मात्रै भयो : रोकाया
सारांश
- कांग्रेस सांसद कृष्णबहादुर रोकायाले जाजरकोट भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग माग गरेका छन् ।
- उनले भूकम्प गएको साढे दुई वर्षसम्म पनि पुनर्निर्माण कार्य अघि बढ्न नसक्नु दुःखद् भएको र बजेटमा आवश्यक रकम विनियोजन नभएकोमा आपत्ति जनाए ।
- रोकायाले पुनर्निर्माणका लागि करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको र स्रोतको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा तत्काल पुनर्निर्माणको कार्य सुरु गर्न सरकारसमक्ष माग गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
भूकम्प गएको साढे दुई वर्षसम्म पनि पुनर्निर्माणको कार्य अघि बढ्न नसक्नु अत्यन्त दुःखद् भएको उनले बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै उनले आपत्ति जनाए ।
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि करिब २२ अर्ब लागत लाग्ने अनुमान गरिएको उल्लेख गर्दै उनले स्रोतको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा उनले भने, ‘२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको साढे दुई वर्ष पुरा हुँदा समेत जाजरकोट र रुकुमपश्चिम भूकम्पपीडित परिवारको लागि पुनर्निर्माणको कार्य शुरु हुन नसक्नु दुःखद् कुरा हो। पुनर्निमाणको लागि जम्मा २२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। हाल विपद् व्यवस्थापन कोषमा दुई करोड ७० लाख रुपैयाँ मौज्दात रहेको छ। माननीय अर्थमन्त्रीज्युले भूकम्पपछिको पुनर्निर्माणको लागि स्रोत व्यवस्थापन गरेको छु भनेपनि अंकमा बजेट देखिँदैन। रुकुमपश्चिममा मात्रै डिडिएपछि करिव १९ हजार लाभग्राही कायम भएका छन्। जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निमाणको कार्य अगाडि बढाउन सम्माननीय अध्यक्षमार्फत सरकारसँग जोडदार माग गर्दछु।’
प्रभावित जिल्लाहरूको विस्तृत क्षति आँकलन सम्पन्न गरी वडाहरूले विवरण पठाइसकेको भए पनि पुनर्निर्माणले अझै गति लिन सकेको छैन । बजेट भाषणमा स्रोत व्यवस्थापनको दाबी गरिए पनि वास्तविक अङ्कमा रकम नदेखिँदा भूकम्पपीडितहरूको बिचल्ली भइरहेको भन्दै उनले संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्षमा माध्यमिक तहका १ लाख ६४ हजार विद्यार्थी गायब
-
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
-
माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण