सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
मिल्क बैंक

अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल

माग बढेपछि बनाइयो मापदण्ड, सातै प्रदेशमा मिल्क बैंकको आवश्यकता
सोमबार, १५ असार २०८३, १९ : ०१
सोमबार, १५ असार २०८३

सारांश

  • थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा 'अमृत कोष' स्थापना गरिएको छ जसले आमाको दुध पाउन नसक्ने शिशुलाई दुध उपलब्ध गराउँछ।
  • अन्य अस्पताल तथा मेडिकल कलेजहरूबाट दुधको माग बढेको छ, जसले गर्दा अस्पताललाई सबैको माग धान्न मुस्किल भएको छ।
  • मिल्क बैंकमा संकलित दुधलाई कीटाणु परीक्षण गरी प्रशोधन गरेपछि ६ महिनासम्म सुरक्षित भण्डारण गरिन्छ।

काठमाडौँ । आमाको दुध पाउन नसक्ने शिशुलाई दुध उपलब्ध गराउने उद्देश्यले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘अमृत कोष’ स्थापना गरिएको छ । बृहत् स्तनपान व्यवस्थापन केन्द्रका रूपमा रहेको यो कोषमा अन्य अस्पतालहरूबाट पनि दुधको माग आउने गरेको छ । 

पछिल्लो समय विभिन्न अस्पताल तथा मेडिकल कलेजहरूले पत्र नै लेखेर दुधको माग गर्न थालेका छन् । 

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी भन्छन्, ‘अस्पतालहरूले हामीलाई पत्र लेखेर दुध पठाइदिनुस् भनी अनुरोध गर्नुहुन्छ । तर अहिले माग यति बढेको छ कि सबैलाई पुग्ने गरी दुध उपलब्ध गराउन सक्ने अवस्थामै छैनौँ ।’ 

हाल अस्पतालमा दैनिक डेढदेखि दुई लिटरसम्म आमाको दुध संकलन हुने गरेको छ । धेरै दुध आउने आमाको बच्चाले खाएर बाँकी रहेको दुध संकलन गरी लामो समयसम्म सुरक्षित भण्डारण गरिने ठाउँ नै ‘ह्युमन मिल्क बैंक’ हो । परोपकार प्रसूति गृहमा स्थापना गरिएको यो नै नेपालको पहिलो मिल्क बैंक हो । 

माग बढ्न थालेपछि प्रसूति गृहले दुध वितरणका लागि मापदण्ड बनाएको छ । बच्चाको तौल, उसको हालको स्वास्थ्य अवस्था र आवश्यकताको गम्भीरता हेरेर मात्र दुध उपलब्ध गराइन्छ । निर्देशक डा। अधिकारीले भने, ‘हामीले दैनिक दुई–तीन लिटर संकलन गर्न सक्यौँ भने पनि त्यो अपुग नै हुन्छ । यस्तो अवस्थामा प्रसूति गृहले अन्य अस्पतालहरूलाई आफैँ दुध संकलन गर्ने, प्रसूति गृहमा प्रशोधनका लागि पठाउने र प्रशोधनपछि फिर्ता लैजाने नयाँ मोडलको प्रस्ताव गरेको छ ।’ 

२०७९ भदौ ३ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ह्युमन मिल्क बैंकको उद्घाटन गरिएको थियो । 

अस्पतालका निर्देशक डा. अधिकारीका अनुसार बिरामी वा दुध नआउने आमाका नवजात शिशुहरूलाई ‘फर्मुला फिडिङ’ (बट्टाको दुध) को सट्टा आमाकै उपलब्ध गराउन सकिन्छ कि भन्ने सोचबाट यो पहल सुरु भएको हो । अधिकारीले भने, ‘बच्चालाई क्यालोरी त फर्मुलाले दिन्छ, तर आमाको दुधमा हुने इम्युनोग्लोबुलिन, भिटामिन, प्रोटिन र अन्य पौष्टिक तत्त्वहरू फर्मुलामा हुँदैनन् ।’ 

यिनै तत्त्वहरूको अभावमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र दीर्घकालमा स्वास्थ्यमा असर पर्ने उनको भनाइ छ । 

कसरी काम गर्छ मिल्क बैंकले ?

मिल्क बैंकमा काउन्सेलरसहित १४ जना कर्मचारी कार्यरत छन् । काउन्सेलरहरूले वार्ड–वार्डमा गएर स्तनपानको महत्त्व बुझाउँछन् । साथै, जसका बच्चा आईसीयूमा छन् र दुध खुवाउन नसकिने अवस्थामा छन्, उनीहरूलाई आफ्नो दुध दान गर्नाले अन्य बिरामी बच्चालाई बचाउन सहयोग पुग्छ भनी काउन्सलिङ गर्छन् । 

संकलित दुधलाई पहिले माइक्रोअर्गानिजम (कीटाणु) परीक्षण गरिन्छ । कीटाणुरहित पाइएमा मात्र त्यसलाई पास्चराइजेसन मेसिनमा राखेर उचित तापक्रममा प्रशोधन गरिन्छ । त्यसपछि फ्रिजमा भण्डारण गरिन्छ, जुन ६ महिनासम्म सुरक्षित रहन्छ । यस प्रक्रियाका लागि एक जना मिल्क बैंक म्यानेजर, एक जना ल्याब टेक्निसियन र काउन्सेलरहरूको टोली कार्यरत छ । 

पास्चराइजेसन मेसिन मात्रै ४०–५० लाख रुपैयाँभन्दा बढी मूल्यको पर्छ । अधिकारी थप्छन्, ‘दान गरिएको दुधमा पहिले कीटाणु छ कि छैन भनी परीक्षण गर्छौँ । परीक्षणमा सुरक्षित देखिएपछि मात्र त्यसलाई पास्चराइज गरिन्छ ।’ 

milk-bank-nepal

कसले दान गर्छन् दुध ? 

अस्पतालको बृहत् स्तनपान व्यवस्थापन केन्द्रमा आफ्नो बच्चालाई दुध बढी भएमा दान गर्न सकिन्छ । यस्तै, स्तनको मुन्टो (निप्पल) मा समस्या भएका महिलाहरू वा आफ्नो बच्चा बिरामी भएर दुध खान नसकेको अवस्थामा पनि दुध दान गर्न मिल्छ । स्वस्थ आमाले मिल्क बैंकमा आफ्नो दुध दिन सक्ने विशेषज्ञहरू बताउँछन् । 

मुख्यतया अस्पतालको आईसीयू वा एनआईसीयूमा बच्चा भएका आमाहरू दुध दिन आउने गर्छन् । जन्मिनेबित्तिकै शिशुलाई आईसीयूमा राख्नुपर्दा आमाको दुध ननिकाले स्तन गानिने हुनाले पनि त्यस्ता आमाहरू मिल्क बैंकमा आउने गर्छन् । 

कसले दान गर्न मिल्दैन ? 

केन्द्रका अनुसार एचआईभी, हेपाटाइटिस ‘बी’ पोजेटिभ, ब्लड क्यान्सर र दीर्घ रोग भएका आमाहरूले मिल्क बैंकमा दुध दान गर्न मिल्दैन । यस्तै, जाँड, रक्सी, चुरोट, सुर्ती सेवन गर्ने आमाहरूले समेत दुध दान गर्न मिल्दैन । 

फर्मुला फिडिङविरुद्ध जनचेतना

अस्पतालले फर्मुला फिडिङविरुद्ध जनचेतना पनि जगाएको छ । अधिकारीले भने, ‘राम्रा तस्बिर भएका ल्याक्टोजिनका बट्टाहरू नवजात शिशुका आमाहरूलाई उपहार दिने चलन बढ्दै गएको थियो । यसले आमाहरूमा फर्मुला फिडिङ नै राम्रो हो भन्ने भ्रम पैदा गरिरहेको थियो ।’ 

प्रसूति विशेषज्ञका अनुसार फर्मुला दुधले बच्चाको पेटमा हावा भरिन सक्ने, पखाला लाग्न सक्ने र दुध पचाउन समस्या हुन सक्छ । दीर्घकालमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने खतरा रहन्छ । यसका विपरीत, मिल्क बैंकले आमाको दुधको विकल्प नहुने कुरालाई वैज्ञानिक आधारमा स्थापित गरेको छ । नेपालमा अन्तर्राष्ट्रिय तुलनामा स्तनपानको दर उच्च रहे पनि सहरी क्षेत्रमा यो घट्दै गएको डा. अधिकारी बताउँछन् ।

कार्यालयमा व्यस्त रहने र समय नहुने सहरी महिलाहरू ‘फर्मुला फिडिङ’तर्फ आकर्षित हुँदै गएको देखिन्छ । “ग्रामीण क्षेत्रमा स्तनपानको दर अझै राम्रो छ, तर सहरमा यो घट्दो छ,' अधिकारीले भने । यही प्रवृत्तिलाई परिवर्तन गर्न मिल्क बैंकले ठुलो भूमिका खेलिरहेको उनको विश्वास छ ।  

shree-prasad-adhikari

‘हरेक प्रदेशमा एउटा मिल्क बैंक चाहिन्छ’

नेपालका हरेक प्रदेशमा कम्तीमा एउटा मानव दुग्ध बैंक हुनुपर्छ । लुम्बिनी, सेती, कोशीलगायत सबै प्रदेशमा यस्ता केन्द्रहरू खुल्नुपर्ने डा. अधिकारीको धारणा छ । साथै ठुला प्रसूति केन्द्रहरूमा दुध संकलन गर्ने ‘ल्याक्टेसन म्यानेजमेन्ट युनिट’ बनाएर प्रसूति गृहमा पठाउने र प्रशोधनपछि फिर्ता लैजाने केन्द्रीकृत प्रणाली बनाउन उनले सुझाएका छन् । मिल्क बैंकले आमाको दुधबाट वञ्चित शिशुलाई संक्रमण र कुपोषणबाट जोगाउने विश्वास गरिएको छ । 

सञ्चालनका लागि वार्षिक करिब ६०–७० लाख रुपैयाँ कर्मचारीको तलब र उपकरण मर्मतमा खर्च हुने भए तापनि यो रकम राज्यको क्षमताभित्रकै भएको उनको भनाइ छ । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ७९ प्रतिशत जीवित बच्चाहरू स्वास्थ्य संस्थामा जन्मिएका छन् । नेपालमा २ वर्षमुनिका लगभग सबैजसो बालबालिकाहरूलाई कुनै न कुनै समयमा स्तनपान गराउने गरिएको पाइएको छ । लगभग १० मध्ये ६ जना बच्चालाई जन्मेपछि पहिलो दुई दिनसम्म पूर्ण स्तनपान गराइएको थियो र ५५ प्रतिशत बालबालिकाहरूलाई जन्मेको एक घण्टाभित्रै स्तनपान गराइएको थियो । 

विश्व स्वास्थ्य संगठनको सुझावअनुसार ६ महिनासम्मका बालबालिकाहरूलाई पूर्ण रूपमा स्तनपान मात्र गराउनुपर्छ । नेपालमा ६ महिनामुनिका ५६ प्रतिशत बालबालिकाहरूलाई पूर्ण रूपमा स्तनपान गराउने गरिएको पाइएको छ, भने एक प्रतिशत बालबालिकाहरूलाई मात्र स्तनपान गराइएको छैन ।

बालबालिकाहरूलाई कुपोषणको जोखिमबाट जोगाउन ६ महिना पूरा भएपछि पूरक आहारा खुवाउन सुरु गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप