बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता

बुधबार, १७ असार २०८३, १९ : ०७
बुधबार, १७ असार २०८३

काठमाडौँ । श्रीमती हत्याका आरोपी नेपाली ब्रो भनेर चिनिने नुवाकोटका कुमार थापाविरुद्ध कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजाय माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

काठमाडौँ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ‘नेपाली ब्रो’सहित उनकी प्रेमिका जुम्लाकी प्रतीक्षा आचार्य, सहोदर भाइ विक्रम थापामगर र बालाजुका पुजन क्षेत्री थापालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको हो ।

थापाले गत जेठ २२ मा खुकुरी प्रहार गरेर श्रीमती ईश्वरी भुजेलको हत्या गरेका थिए । प्रहरीले ‘नेपाली ब्रो’सहित तीन जनालाई पक्राउ गरेको थियो ।

नेपाली सेनाको सैनिक ब्याण्डमा कार्यरत सुवेदार ईश्वरी भुजेल कार्यालयको ड्युटी सकेर स्कुटरमा घर फर्किँदै गर्दा काठमाडौँको तारकेश्वर नगरपालिका पैयाँटारको उकालोमा ढुकेर बसेका कुमार थापामगरले चुक्कुले  घाँटी रेटी हत्या गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी ईश्वरीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धान र अभियोग पत्रका अनुसार करिब २० वर्षअघि प्रेम विवाह गरेका यो जोडीबिच पछिल्लो समय सम्बन्ध निकै चिसिएको थियो। कुमार थापामगर सामाजिक सञ्जाल टिकटकमा  'नेपाली ब्रो'को नामले चर्चित थिए। 

उनको अन्य महिलाहरूसँगको अवैध सम्बन्ध र विशेष गरी प्रतिवादी प्रतीक्षा आचार्यसँगको प्रेम सम्बन्धका कारण घरमा बारम्बार झगडा हुने गरेको थियो ।

ईश्वरीले कुमारविरुद्ध यसअघि नै जबरजस्ती करणी र घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । जुन अदालतमा विचाराधीन नै थियो ।

सोही मुद्दा फिर्ता लिन कुमारले दबाब दिँदै आएका थिए । ईश्वरीले मुद्दा फिर्ता लिन नमानेपछि र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएपछि कुमारले योजनाबद्ध रूपमा हत्या गरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप