शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
आन्तरिक पर्यटन पहिलो सर्वेक्षण

आन्तरिक पर्यटकको मुख्य रोजाइ काठमाडौँ र पोखरा, केमा गर्छन् धेरै खर्च ?

शुक्रबार, १९ असार २०८३, २० : ३०
शुक्रबार, १९ असार २०८३

सारांश

  • राष्ट्रिय तथ्यांक कार्यालयको "आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२" अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत छ ।
  • आन्तरिक पर्यटकहरूले भ्रमणका क्रममा किनमेलमा सबैभन्दा धेरै खर्च गर्छन्, त्यसपछि स्वास्थ्य उपचार र आफन्त भेटघाटमा खर्च गर्छन् ।
  • आन्तरिक पर्यटकहरूको मुख्य रोजाइ काठमाडौँ र पोखरा हुन्, जहाँ बस र माइक्रोबस जस्ता सार्वजनिक सवारी साधनको प्रयोग बढी हुन्छ ।

काठमाडौँ । नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणमा पर्यटन क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण मानिँदै आएपनि आन्तरिक पर्यटनको वास्तविक योगदान र यसको आयतनबारे वैज्ञानिक अध्ययनको अभाव थियो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलोपटक ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटनले पुर्‍याएको ठोष योगदानको विस्तृत विवरण बाहिर ल्याएको छ ।

जीडीपीमा आन्तरिक पर्यटनको हिस्सा २.६५ प्रतिशत

पहिलोपटक पर्यटन स्याटलाइट लेखा ढाँचामा आधारित रही गरिएको यस सर्वेक्षणले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा आन्तरिक पर्यटन क्षेत्रको योगदान २.६५ प्रतिशत रहेको देखाएको छ । जसले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन बाह्य पर्यटक जत्तिकै वा त्यसभन्दा बढी मात्रामा स्वदेशी पर्यटकको भूमिका रहेको तथ्य उजागर गरेको छ । 

Domestic Tourism3

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०२४/२५ मा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने यस क्षेत्रको कुल उत्पादन ३ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ रहँदा मध्यवर्ती उपभोग १ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । अर्कोतर्फ देशका कुल ६९.१ लाख घरपरिवारमध्ये ५२.४ प्रतिशत अर्थात् ३६.२ लाख घरपरिवार कुनै न कुनै रूपमा पर्यटकीय गतिविधिमा संलग्न भएको देखिए पनि अझै ४७.६ प्रतिशत घरपरिवारले कुनै पनि पर्यटकीय यात्रा नगरेको पाइएकाले आगामी दिनमा आन्तरिक पर्यटनको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकतालाई यसले औंल्याएको छ । 

प्रति एक हजार घरपरिवारमा ५२३ पर्यटक घरपरिवार हुनुले समाजमा घुमफिरको संस्कृति क्रमिक रूपमा विकास भइरहेको सङ्केत गरेपनि धेरै नागरिक अझै यात्राको पहुँचबाट टाढा रहेको यथार्थलाई यस प्रतिवेदनले सन्तुलित रूपमा प्रस्तुत गरेको छ ।

किन गर्छन् नेपालीले आन्तरिक भ्रमण ?  

नेपालीहरूको यात्रा गर्ने बानी, उद्देश्य र जनसाङ्ख्यिकीय अवस्थितिको विश्लेषण गर्दा एकदिने र रात बिताउने भ्रमणका बिचमा स्पष्ट भिन्नता र रोचक तथ्यहरू फेला परेका छन् । एकदिने भ्रमण गर्ने मानिसहरूको मुख्य आकर्षण किनमेल रहने गरेको छ, जसको हिस्सा कुल यात्राको ३२.६ प्रतिशत देखिन्छ भने त्यसपछि स्वास्थ्य उपचार तथा आफन्त भेटघाट समान २०.१ प्रतिशतका दरले प्राथमिकतामा परेका छन् । यसको विपरीत कम्तीमा एक रात बिताउने लामो भ्रमणको हकमा भने ६५.५ प्रतिशत नेपालीहरूले साथीभाइ तथा आफन्त भेटघाटलाई पहिलो रोजाइ बनाउने गरेका छन् । 

नेपाली समाजमा आपसी सम्बन्ध र सामाजिक सम्बन्धको महत्त्वलाई दर्शाएको देखिन्छ । यस्ता रात बिताउने भ्रमणहरूमा धार्मिक यात्राको हिस्सा ७.६ प्रतिशत र व्यावसायिक कार्यको हिस्सा ५.५ प्रतिशत छ । लैङ्गिक दृष्टिकोणबाट हेर्दा नेपाली पर्यटनमा महिलाहरूको सहभागिता पुरुषको तुलनामा बढी पाइएको छ, जहाँ कुल राष्ट्रिय जनसंख्यामा महिलाको हिस्सा ५२.६२ प्रतिशत हुँदा पर्यटक सदस्यहरूमा २८.४९ प्रतिशत महिला रहेका छन् भने पुरुषको सहभागिता २३.९३ प्रतिशत मात्र छ, जसमा विशेषगरी स्वास्थ्य उपचार र घरायसी पारिवारिक यात्रामा महिलाहरूको सक्रियता बढी देखिएको छ । 

Domestic Tourism

उमेर समूहका आधारमा हेर्दा  जेनजी  अर्थात् १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूको हिस्सा सबैभन्दा बढी २६.६ प्रतिशत हुनुले नयाँ पुस्तामा घुमफिर गर्ने, सामाजिक सञ्जालमा अनुभव साटासाट गर्ने र मनोरञ्जन गर्ने संस्कृति बलियो बन्दै गएको स्पष्ट पार्छ भने उमेर बढ्दै जाँदा यात्रा गर्ने प्रवृत्ति क्रमिक रूपमा घट्दै गएको देखिन्छ ।

सबैभन्दा बढी कपडा र किनमेलमै खर्च

नेपाली पर्यटन बजारमा हुने खर्चको आकार र यसको बहाव अत्यन्त विशाल रहेको तथ्यलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक विश्लेषणले प्रमाणित गरेको छ । जसअनुसार नेपाली घरपरिवारले एक वर्षको अवधिमा भ्रमणसम्बन्धी गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन् । यस कुल खर्चमध्ये आन्तरिक पर्यटनकै हिस्सा ठुलो रहेको छ ।  जहाँ रात बिताउने भ्रमणमा ३ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ र सोही दिन फर्किने एकदिने भ्रमणमा ९० अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ भने बाँकी रकम बाह्य वा आउटबाउन्ड पर्यटनमा खर्च भएको देखिन्छ । खर्चको विधागत वर्गीकरण गर्दा नेपालीहरूले सबैभन्दा बढी रकम किनमेल अर्थात् कपडा र अन्य घरायसी सामान खरिदमा १ खर्ब ५ अर्ब रुपैयाँ र दोस्रो ठुलो हिस्सा स्वास्थ्य तथा औषधोपचारमा ९६.७ अर्ब रुपैयाँ खर्च गरेका छन् ।  जसले नेपालमा आन्तरिक भ्रमण मनोरञ्जनका लागि मात्र नभई स्वास्थ्योपचार र आधारभूत आवश्यकता परिपूर्तिको माध्यम पनि बनिरहेको देखाउँछ । 

यसबाहेक खुला सिमानाका कारण सीमावर्ती क्षेत्रका नेपालीहरूले गर्ने एकदिने सीमापार यात्राको हिस्सा पनि निकै बलियो छ । सन्दर्भ अवधिमा कुल ३५ लाख १७ हजार एकदिने बाह्य भ्रमणहरू भएका छन् र यी भ्रमणहरूमध्ये आधाभन्दा बढी मधेश प्रदेश र लुम्बिनी प्रदेशबाट मात्र भएका छन् । यस्ता एकदिने सीमापार भ्रमणहरूमा ६३.९ प्रतिशत मानिसहरू केवल किनमेलका लागि भारत जाने गरेको र औसतमा १.२ जना मात्र सहभागी हुने गरेकाले सीमावर्ती क्षेत्रमा हुने आर्थिक गतिविधि र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने बाह्य प्रभावबारे नीतिगत तहमा थप मनन् गर्नुपर्ने आवश्यकता देखिन्छ ।

यातायात खर्च नै धेरै

अन्तरिक पर्यटकहरूले यात्राका क्रममा गर्ने खर्चहरूमध्ये यातायात क्षेत्रको खर्च निकै महत्त्वपूर्ण पाइएको छ । सर्वेक्षण अनुसार नेपाली आन्तरिक पर्यटकहरूले यातायात खर्चमध्ये ६८.७ प्रतिशत हिस्सा सार्वजनिक सवारी साधन (जस्तै- बस, माइक्रो, ट्याक्सी आदि) मा खर्च गर्ने गरेका छन् । जसले मुलुकको आन्तरिक पर्यटन सार्वजनिक यातायात सेवामा अत्यधिक निर्भर रहेको तथ्यलाई पुष्टि गर्छ । 

Domestic Tourism1

प्रतिवेदन अनुसार आन्तरिक पर्यटकको प्रतिभ्रमण औसत खर्च ११ हजार ९ सय २२ रुपैयाँ रहेको छ । सार्वजनिक सवारी साधनको उच्च प्रयोगले सर्वसाधारणका लागि यात्रा अझै पनि आर्थिक रूपमा पहुँचयोग्य माध्यम बनेको सङ्केत गरेको छ । यद्यपि आरामदायी र छिटो यात्राका लागि वैकल्पिक यातायातका पूर्वाधारहरूको आवश्यकतालाई पनि यसले औंल्याएको छ । यातायात खर्चको यो प्रवृत्तिले देशको सार्वजनिक यातायात सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी नीति तथा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकतालाई समेत उजागर गरेको छ ।

काठमाडौं र पोखरा मुख्य रोजाइ

आन्तरिक पर्यटकहरूको मुख्य रोजाइमा राजधानी काठमाडौँ र प्रमुख पर्यटकीय सहर पोखरा छन् । कुल राष्ट्रिय रात बिताउने भ्रमणहरूमध्ये २५.९५ प्रतिशत हिस्सासहित काठमाडौँ पहिलो स्थानमा रहँदा चितवन ९.४२ प्रतिशतसहित दोस्रो र कास्की ५.०२ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन् भने केवल मनोरञ्जन र बिदा मनाउने दृष्टिकोणले कास्की जिल्ला २२.२२ प्रतिशत हिस्सासहित निर्विकल्प पहिलो रोजाइ बनेको छ । 

Nepali Visit

यातायातका साधनको प्रयोगमा नेपालको भौगोलिक अवस्थिति र आर्थिक पहुँचका कारण ६८.७ प्रतिशत रात बिताउने पर्यटकहरूले बस, माइक्रो वा ट्याक्सी जस्ता सार्वजनिक सवारी साधन नै प्रयोग गर्ने गरेको पाइएको छ भने हवाई मार्गको प्रयोग समग्रमा ७.४ प्रतिशत मात्र रहेपनि व्यावसायिक र शैक्षिक क्षेत्रका यात्रुहरूमा यसको प्राथमिकता बढी देखिएको छ । 

मौसमी अनुकूलता र चाडपर्वहरूले पनि आन्तरिक पर्यटनलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।  कात्तिकदेखि पुस महिनासम्म पर्ने दोस्रो सिजनमा राष्ट्रिय चाडपर्वहरू र अनुकूल मौसमका कारण कुल पर्यटकीय गतिको ३५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने वर्षायामको समयमा यो गतिविधि झन्डै आधा अर्थात् १७ प्रतिशतमा खुम्चिने गरेको छ । यसरी मौसम, चाडपर्व र यातायातको पहुँचले आन्तरिक पर्यटनको आयतन र भौगोलिक फैलावटलाई प्रत्यक्ष रूपमा निर्देशित गरिरहेको तथ्याङ्कले स्पष्ट पार्छ । 

आन्तरिक पर्यटक मधेसमा कम बस्छन्, सुदूरपश्चिममा धेरै

आन्तरिक पर्यटकहरूको बसाइ अवधि र भ्रमणको आवृत्तिका सवालमा नेपालका प्रदेशहरू र ग्रामीण तथा सहरी क्षेत्रहरूबिच निकै ठुलो असमानता र विविधता फेला परेको छ । प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेश घुम्न जाने पर्यटकहरूको औसत बसाइ अवधि सबैभन्दा लामो अर्थात् ८.१८ दिन पाइएको छ भने मधेश प्रदेशमा यो अवधि सबैभन्दा छोटो अर्थात् ३.१७ दिन मात्र रहेको छ ।

Domestic Tourism4

यसले पूर्वाधार विकास र पर्यटकीय सेवाको उपलब्धताले बसाइ अवधिमा पार्ने प्रभावलाई देखाएको प्रतिवेदनले जनाएको छ ।

सहरका भन्दा गाउँका पर्यटकको बसाइ धेरै

ग्रामीण क्षेत्रका बासिन्दाहरूले सहरी क्षेत्रका बासिन्दाको तुलनामा लामो समय पर्यटकीय भ्रमणमा व्यतीत गर्ने गरेको रोचक तथ्य पनि यस सर्वेक्षणले बाहिर ल्याएको छ । जहाँ ग्रामीण पर्यटकको औसत बसाइ ५.८ दिन रहँदा सहरी पर्यटकको बसाइ ४.९ दिन मात्र रहेको छ र यो अन्तर लामो दूरी पार गर्नुपर्ने बाध्यता र यात्रा खर्चको व्यवस्थापनसँग जोडिएको देखिन्छ । 

नागरिकहरूको शैक्षिक योग्यता र उनीहरूको भ्रमण गर्ने दरका बिचमा पनि सिधा र सकारात्मक सम्बन्ध पाइएको छ, जसअनुसार विश्वविद्यालय तहको उच्च शिक्षा हासिल गरेका नागरिकहरूले वर्षमा औसत ४.४७ पटक रात बिताउने भ्रमण गर्छन् भने निरक्षर वा औपचारिक शिक्षा नपाएका व्यक्तिहरूको भ्रमण दर सबैभन्दा कम ३.३० पटक मात्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप