फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
सारांश
- चीनमा दाहिने आँखा फरफराउन बन्द नभएपछि एक पुरुषले लगातार आँखामा थप्पड हान्दा दृष्टि गुमाएका छन् ।
- अशुभ सङ्केत मानिने दाहिने आँखा फरफराउनुलाई रोक्न उनले इन्टरनेटमा देखेको उपाय अपनाएका थिए ।
- चिकित्सकीय परीक्षणपछि रेटिना छुट्टिएको पुष्टि भई शल्यक्रियाबाट दृष्टि फर्काइएको छ ।
बेइजिङ । चीनमा दाहिने आँखा फरफराउन बन्द नभएपछि यसलाई रोक्न लगातार आँखामा थप्पड हानेपछि एक पुरुषको आँखाको दृष्टि गुमेको छ । देब्रे आँखा फरफराउनुलाई शुभ र दाहिने फरफराउनुलाई अशुभ सङ्केत मानिन्छ ।
साउथ चाइना मर्निङ पोष्टमा छापिएको समाचार अनुसार आँखा फरफराएर आफ्ना लागि कुनै दुर्भाग्य हुने हो कि भनेर ती पुरुषले यसलाई बन्द गर्न जोड जोडले आँखामा थप्पड हानिरहे । आँखालाई आराम गराउँदा र तातोले सेकाउँदा समेत समस्या कम भएन ।
चीनमा प्रचलित एक अन्धविश्वासअनुसार ‘देब्रे आँखा फरफरायो भने धन लाभ हुन्छ भने दाहिने आँखा फरफराए अशुभ घटना हुन्छ’ । यही विश्वासका कारण उनले चिकित्सककहाँ जानुको सट्टा इन्टरनेटमा उपाय खोजे । इन्टरनेटमा आँखामा थप्पड हाने अशुभ टर्छ भन्ने दाबी देखेपछि उनले लगातार तीन दिनसम्म दाहिने आँखाको वरिपरि थप्पड हाने । त्यसपछि आँखा फरफरिन त बन्द भयो, तर उनको दृष्टिमा गम्भीर समस्या देखापर्यो । उनको दुवैतर्फको दृष्टि क्षेत्र क्रमशः हराउँदै गयो र अन्ततः उनले अगाडिको सिधा भाग मात्र देख्न सक्ने अवस्था सिर्जना भयो । त्यसपछि उनी अस्पताल पुगे ।
चिकित्सकीय परीक्षणपछि उनको रेटिना छुट्टिएको पुष्टि भएको थियो । तत्काल शल्यक्रिया गरिएपछि चिकित्सकहरूले उनको दृष्टि पुनः फर्काउन सफल भए । चिकित्सकहरूका अनुसार मानिसको रेटिनाको औसत मोटाइ शून्य दशमलव ३ मिलिमिटरभन्दा पनि कम हुन्छ । आँखामा बारम्बार वा जोडले प्रहार गर्दा त्यसको असर सिधै आँखाको भित्री भागसम्म पुग्न सक्छ, जसले रेटिना च्यातिने वा छुट्टिने जोखिम बढाउँछ ।
यो घटना सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘दाहिने आँखा फरफरिदा अशुभ हुन्छ भन्ने भनाइलाई उनले आफैँ साँचो साबित गरिदिए,’ । ‘आँखा फरफराउनु शरीरको सङ्केत हो, भविष्यवाणी होइन । अन्धविश्वास होइन, विज्ञानमा विश्वास गर्नुपर्छ,’ अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन् । चिकित्सकहरूका अनुसार अधिकांश अवस्थामा आँखा फरफराउनु भनेको आँखामा बढी तनाव, पर्याप्त निद्राको कमी वा मानसिक तनाव हुन्छ र आराम गरेपछि आफैँ निको हुन्छ । तर समस्या एक साताभन्दा बढी समयसम्म रहिरहे, अनुहारका अन्य भागमा फैलियो वा मुखको कुनासम्म असर गर्न थाल्यो भने तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ ।
यसअघि पनि चीनमा यस्तै अन्धविश्वासका कारण उपचार ढिलाइ भएका हामीले कयौँ घटना पढेका छौँ । हुनान प्रान्तकी एक महिलाले देब्रे आँखा फड्किनुलाई शुभ सङ्केत ठानेर तीन वर्षसम्म उपचार नगर्दा पछि अनुहारको एक भागमा गम्भीर ऐंठनको समस्या देखिएको समाचार सुन्नमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण