शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए

शनिबार, २० असार २०८३, ०९ : २८
शनिबार, २० असार २०८३

सारांश

  • विश्वप्रसिद्ध पप गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल स्टार ट्राभिस केल्सीले विवाह गरेको दाबी गरिएको छ ।
  • उनीहरू शुक्रबार न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा विवाह बन्धनमा बाँधिएको जानकारी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन् ।
  • तीन वर्ष लामो सम्बन्धपछि उनीहरूको विवाह भएको दाबी गरिएको यो समाचारले विश्वभरका प्रशंसकबिच व्यापक चर्चा पाएको छ ।

काठमाडौँ । विश्वप्रसिद्ध पप गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल स्टार ट्राभिस केल्सीले विवाह गरेको दाबी गरिएको छ । उनीहरू शुक्रबार न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा विवाह बन्धनमा बाँधिएको जानकारी स्विफ्टकी जनसम्पर्क प्रतिनिधिलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन् ।

समाचारअनुसार विवाहको घोषणा रंगशालाबाहिरको डिजिटल बोर्डमा ‘जस्ट म्यारिड’ सन्देशमार्फत गरिएको थियो। विवाह समारोहमा अभिनेता एडम स्यान्डलरले औपचारिक रूपमा विवाह सम्पन्न गराएको तथा टेलरका भाइ र ट्राभिसका दाजु जेसन केल्सीले विशेष भूमिका निभाएको उल्लेख गरिएको छ । दुवैले क्रिश्चियन डियोर ओट कुत्युरका पोसाक लगाएका थिए भने टेलरले कार्टिएरका गहना प्रयोग गरेकी थिइन् ।

टेलर र ट्राभिसको प्रेमकथा जुलाई २०२३ मा सुरु भएको मानिन्छ । त्यतिबेला केल्सीले आफ्नो पोडकास्ट ‘न्यु हाइट्स’ मा स्विफ्टलाई आफ्नो फोन नम्बर लेखिएको फ्रेन्डशिप ब्रेसलेट दिन नपाएको प्रसंग सुनाएका थिए । त्यसको केही महिनापछि टेलर पहिलो पटक केल्सीको टोली क्यान्सस सिटी चिफ्सको खेल हेर्न पुगेकी थिइन् । त्यसपछि उनी नियमित रूपमा चिफ्सका खेलमा देखिन थालिन् भने केल्सी पनि टेलरको ‘एराज टुर’ कन्सर्टमा सहभागी हुँदै आएका थिए ।

सन् २०२४ को सुपर बाउलपछि दुवैले सार्वजनिक रूपमा आफ्नो सम्बन्धलाई देखाएका थिए । त्यसयता उनीहरू विभिन्न अवार्ड समारोह, सांगीतिक कार्यक्रम र सार्वजनिक कार्यक्रममा सँगै देखिँदै आएका थिए । अगस्ट २०२५ मा इन्स्टाग्राममार्फत उनीहरूले इन्गेजमेन्टको घोषणा गरेका थिए ।

तीन वर्ष लामो सम्बन्धपछि उनीहरूको विवाह भएको दाबी गरिएको यो समाचारले विश्वभरका टेलर स्विफ्ट र ट्राभिस केल्सीका प्रशंसकबिच व्यापक चर्चा पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप