स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
सारांश
- दुर्गादेवी नेपाल पूर्वी नेपालको पाँचथरमा जन्मिएकी एक लेखक, समाजसेवी र अप्ठ्यारामा परेकाहरूको सेवामा जुट्ने व्यक्तित्व हुन्।
- उनले बाल्यकालदेखि नै घरायसी कामकाजमा संलग्न भई संघर्ष गरे तापनि पढेरभन्दा परेर नेपाली समाजमा स्थापित भइन् र 'उनैको माया' तथा 'बगेको खोला' जस्ता कृतिहरू लेखिन्।
- उनले गणेश पुस्तकालयका लागि जग्गा दान, नइ एकेडेमीको अक्षयकोषमा सहयोग र 'गणेश-दुर्गा पुरस्कार' स्थापनामा योगदान पुर्याइन्।
दुर्गादेवी नेपाल नेपाली लेखक, समाजसेवी र अप्ठ्यारामा परेकाहरूको सेवामा जुट्ने नाउँ हो। उनी पूर्वी नेपालको पाँचथरस्थित लिम्बामा जन्मिइन्। उनको जन्म १९९५ साल दसैँको अष्टमीमा भएको थियो। दुर्गा अष्टमीका दिन जन्मिएकी हुनाले उनको नाउँ ‘दुर्गादेवी’ राखिएको थियो।
दुर्गादेवी नेपालको धनकुटाका गणेशप्रसाद शर्मासित बिहे भयो। त्यस बेला उनी १० वर्षकी थिइन् भने उनका पतिले १५ वर्ष टेकेका थिए। त्यसैले उनी बालपनदेखि नै घरायसी कामकाजमा मुछिइन्। जति नै ठुलो सङ्घर्ष गर्नुपरे तापनि उनी हिलोमा भासिनबाट भने जोगिएकी थिइन्।
अन्ततः धैर्यलाई शिरबन्दी बनाएर क्रमशः उनी कमलको फूल भएर जताततै फुलिन्। पढेरभन्दा परेर उनी नेपाली समाजमा स्थापित भइन्। पछिल्ला दिनमा उनी लेखककै रूपमा समेत देखा परिन्। ‘उनैको माया’ (विलौना काव्य: २०७१) र ‘बगेको खोला’ (आत्मकथा: २०७२) उनको लेखकीय परिचय बन्यो।
दुर्गादेवी नेपाल बलभद्र रिजालकी रगत थिइन्। बलभद्र रिजाल पूर्वाञ्चलका धनाढ्य मात्र नभएर धार्मिक प्रवृत्तिका व्यक्तित्व थिए। उनी दानवीर र धर्मभीरुका रूपमा प्रचलित नाउँ थियो। उनका सात छोरी र दुई छोरा जन्मेका थिए। चित्ररेखा बलभद्रकी साइँली छोरी थिइन्।
चित्ररेखा र पदमलाल घिमिरे दुर्गादेवी नेपालका आमाबुबा थिए। यी दम्पतीका चार भाइ छोरा र एघार छोरी जन्मे। तीमध्ये नेपाली समाजमा एक जना राधाप्रसाद घिमिरे र अर्की दुर्गादेवी नेपालले आ–आफ्नो नाउँलाई शिलालेखमा कुँदाए। राधाप्रसाद घिमिरे नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालमा पुष्पलालका दाहिने हात थिए। त्यस बेला पुष्पलालले घिमिरेजस्ता विद्वान्को साथ पाएर वाम विचारको बीजारोपण गरेका थिए।
पछि उनै घिमिरेले विराटनगरमा महेन्द्र मोरङ कलेजको स्थापनामा महत्त्वपूर्ण भूमिका खेले। राजा वीरेन्द्रको शासनकालमा उनी शिक्षामन्त्री पनि बने। त्यसताका उनका मावली दाइ नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री थिए। पछिल्ला दिनमा घिमिरे कीर्तिनिधि विष्टका पनि प्रिय पात्र भए।
विष्टका लागि घिमिरे र घिमिरेका लागि विष्ट एकअर्काको मन खोल्ने र मन बुझाउने साधन बनेका थिए। त्यतिन्जेलमा दुर्गादेवी नेपालले पनि नेपाली समाजमा आफ्नो मर्यादालाई उचाइतिर धकेल्दै थिइन्। उनले राजा वीरेन्द्रबाट अलङ्कार तक्मा पनि पाइन्।
दुर्गादेवी नेपालको रुचिको विषय अनाथ सेवा, जनसम्पर्क र भ्रमण गर्नु थियो। नेपाल र भारतका धेरै ठाउँ डुलिसकेकी दुर्गादेवी नेपाललाई अमेरिकाबाट आफ्नी नातिनी गीताञ्जलीको भ्रमणको निम्ता आएको थियो। २०६४ सालको कुरा हो– अमेरिका जाने बेला परराष्ट्र मन्त्रालयले उनको सिफारिस गरेको थियो, ‘दुर्गादेवी नेपाल पूर्वाञ्चलकी धनाढ्य, समाजसेवी र साहित्यकार हुन्।’
त्यसपछि तुरुन्तै भिसा पाएर उनी अमेरिका डुल्न गइन्। नेपालले अमेरिका जानुअघि नै प्रारम्भ गरेको आफ्नो आत्मकथा ‘बगेको खोला’ अमेरिका पुगेर पनि लेखिरहिन्। अन्ततः उनले लेखेको आत्मकथा नेपाली भाषासाहित्यको अर्को चमत्कारै भयो। वास्तवमा सानैदेखि उनले कविता र निबन्ध रचनामा मन दिएकी थिइन्।
जनरल मातृकाप्रसाद कोइरालादेखि जनरल भूपामानसिंह कार्कीले भन्ने गर्थे, ‘गणेशप्रसाद शर्माकै कारणले विराटनगरमा लथालिङ्ग भएका युवाहरूले सही मार्ग समाएका थिए। वास्तवमा तिनै गणेश गुरु हुन्, जसले आवारा, गुण्डा र कुलतमा लागेका युवाहरूलाई ठाउँ–ठाउँबाट कठालो समातेर स्कुल र कलेजमा लगेर थेचार्थे।’
गणेश गुरुले स्रष्टालाई धन दिन्थे, जग्गा दिन्थे र घर पनि बनाइदिन्थे। उनी भन्थे, ‘तिमीहरूउपरको मेरो लगानी तिरे तिर, नत्र अर्को जन्ममा म तिमीहरूलाई घोडा कुदाउँछु।’ उनी जङ्गबहादुरजस्तै साहसी थिए। अनि उनी उपकारका नम्बरी सुन पनि थिए। उनी भन्थे, ‘यदि दुर्गादेवी घिमिरेसग मेरो बिहे नभएको भए म आज जोगी हुन्थेँ। मेरो सृष्टि जोगाउने नै मेरी अर्धाङ्गिनी हुन्। उनैको कर्म र धर्मले म गणेशप्रसाद शर्मा बनेँ।’
दुर्गादेवी नेपालले सामाजिक जागरणका लागि आफ्नो गच्छे रोपिरहिन्। उनी पाटी, पौवा, स्कुल, साहित्यिक संस्था र कलेजलाई चन्दा दिन्थिन्। उनी गरिब, दुःखी मानिसका लागि आफ्नो मन खोल्थिन्। साथै, उनले विराटनगरमा स्थापित गणेश पुस्तकालयका लागि एक करोड रुपैयाँ राशि पर्ने जग्गा प्रदान गरेकी थिइन्। त्यति मात्र होइन, नइ एकेडेमीको अक्षयकोषमा पनि उनले बलियो आर्थिक थैली प्रदान गरेकी थिइन्।
नइले पनि उनी र उनका पतिको नाउँमा ‘गणेश–दुर्गा पुरस्कार’ को स्थापना गरिदियो। यो पुरस्कार २०६६ सालदेखि प्रदान हुँदै आएको छ। नेपालबाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित एक जना स्रष्टालाई हरेक वर्ष एक लाख रुपैयाँ राशिसहित यो पुरस्कार प्रदान गरिन्छ।
मीठो बोल्ने, नरम बोल्ने र सानो स्वरमा बोल्ने दुर्गादेवी नेपाल सबैलाई समव्यवहार गर्ने नारीको नाउँ मानिन्छ। बाँचुन्जेल उनी लत्रेरै हिँडिन्। त्यसैले उनी कसैसित पनि सिङ, जुरो र बोली तिखारेर प्रस्तुत भइनन्। जीवनमा दुःख र कष्टहरूसँग उनले अनुभव जोडेकी थिइन्।
पतिको निधनपछि छोराहरूबाट उनलाई मानसिक तनाव मात्रै भइरह्यो। उनी हरदम ‘छोरा, छोरा र छोरा’ भन्थिन्। तर, उनका छोराहरूको माया ढुङ्गामाथि हुन्थ्यो। छोराका पीडामा रुँदारुँदै उनका दुवै आँखा बन्द भएका थिए। त्यसपछि उनले जेठी छोरी इन्दिरा प्रसाईंको पूर्ण आड र भरोसामा लौरो टेक्न थालेकी थिइन्।
दुर्गादेवी नेपाल सरस्वतीपुत्री मात्र नभएर लक्ष्मीपुत्री पनि थिइन्। उनी सम्पन्न हुनुमा उनका पति गणेशप्रसाद शर्माको सयकडा सय योगदान थियो। २०२८ सालमा नयाँ शिक्षा नीति आएपछि गणेशप्रसाद शर्मालाई विराटनगरबाट भक्तपुर लखेटिएको थियो।
त्यसपछि उनले प्राध्यापन पेसालाई नै तिलाञ्जली दिए। अनि उनी वकालत र जग्गाजमिनको किनबेचमा लागे। तर, उनले धेरै गर्न पाएनन्– उनी ५६ वर्षकै उमेरमा स्वर्गीय भए। त्यसपछि उनको सारा सम्पत्तिको हेरचाह गर्ने जिम्मा दुर्गादेवीकै काँधमा आयो।
दुर्गादेवी नेपालका तीन जना छोरीहरूमध्ये जेठी छोरी इन्दिरा प्रसाईं उनको धड्कन थिइन्। इन्दिराले नै एउटा अनाथ शिशुलाई सडकबाट उठाएर गणेश–दुर्गाको काखमा राखेकी थिइन्। पछि गणेशप्रसाद शर्माकै कान्छो छोरो किटेरै उनको नाउँमा नागरिकताको प्रमाणपत्र बनाइएको थियो।
जेठो छोरा शोभन नेपाल र कान्छो छोरा स्वस्तिक अज्ञातले सारा सम्पत्ति लुटेपछि दुर्गादेवी नेपाल असहाय अवस्थामा पुगेकी थिइन्। त्यसपछि उनकी छोरी इन्दिराले नइगृहमा ल्याएर आमाको सेवा गरिन्। अन्ततः २०८० असार १२ गते दुर्गादेवी नेपालले नइगृहमै प्राण त्याग गरिन्।
दुर्गादेवी नेपालले आँखा चिम्लेको साँझ उनका सबै छोराछोरी नइगृहमा उपस्थित भएका थिए। केही समयपछि उनको पार्थिव शरीर आर्यघाटमा पुर्याइएको थियो। त्यस घडी पुरोहितले ‘दागबत्ती दिने जेठा छोरा अघि आउनुपर्यो’ भनेका थिए। त्यति बेला दुवै छोराहरूले आमाको भौतिक चोलाअगाडि सानदार उपस्थिति जनाएका थिए।
तर, त्यसै बेला इन्दिरा प्रसाईं बोलेकी थिइन्, ‘छोराछोरीको हिसाबले होइन, कर्तव्यको हिसाबले काम गर्नुपर्छ। एक त म सबैभन्दा जेठी छोरी हुँ र अर्को कुरा मैले मेरी आमाप्रति जिन्दगीभर कर्तव्य गर्दै आएकी छु।’
अनि, दुई भाइ र दुई बहिनीहरूका अगाडि उभिएर इन्दिराले नै आमालाई दागबत्ती दिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
-
रुसी सेनाद्वारा लुहान्स्कको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा भएको पुटिनको घोषणा
-
विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण