शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’

शनिबार, २० असार २०८३, १९ : ००
शनिबार, २० असार २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् ।
  • काठमाडौँ विश्वविद्यालयको उपकुलपति भइसकेका प्राडा थापाले त्रिविमा परीक्षाको नतिजा समयमै प्रकाशन गर्ने पहिलो प्राथमिकता हुने बताएका छन् ।
  • उनले विद्यार्थीका जायज माग सम्बोधन गरिने र शिक्षक-कर्मचारीको वृत्तिविकासका विषयलाई न्यायपूर्ण रूपमा सम्बोधन गरिने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले डा. थापालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । 
यसअघि उनी काठमाडौं विश्वविद्यालयको उपकुलपतिसमेत भइसकेका छन् । 

यसैसन्दभर्ममा त्रिवि उपकुलपति प्राडा थापासँग गरिएको कुराकानीको अंश 

तपाईं उपकुलपति नियुक्त हुन कसरी सम्भव भयो ? 

अब मेरो पनि अब आफ्नो जीवन लामो समयसम्म काठमाडौँ विश्वविद्यालय स्थापनादेखि नै नेपालको उच्च शिक्षामा जोडियो । काठमाडौँ विश्वविद्यालयमा लामो समय योगदान गरिसकेपछि अब अहिलेको परिवर्तित सन्दर्भमा त्रिभुवन विश्वविद्यालयको लागि पनि नेतृत्वको लागि आवेदन दिएँ । उच्च शिक्षालाई केही गरौँ भनेर आवेदन दिएँ । छनोट समिति र सिफारिस समितिले बनाएको मापदण्डमा आफ्नो व्यावसायिक योग्यता तथा अनुभव अनि आफूले आर्जन गरेको विभिन्न शैक्षिक उपाधिहरू, ज्ञानहरूके कारण सरकारले मलाई यो जिम्मेवारीमा ल्याइदियो । विशुद्ध एउटा प्राज्ञिक छनोट प्रक्रियाअन्तर्गत नै म यहाँ आइपुगेको हुँ । 

काठमाडौँ विश्वविद्यालयमा लामो समयदेखि उपकुलपति हुनुभयो । त्यो अनुभव अब त्रिविमा कसरी समायोजन गर्नुहुन्छ ? 

काठमाडौँ विश्वविद्यालय एउटा परिस्थिति, परिवेशमा जन्मियो अनि त्यो अगाडि बढ्दै गयो । संसद्ले स्थापना गर्दिएर तर सरकारभन्दा अलिकति बाहिर रहेर हामीलाई काम गर्ने एउटा किसिमको फ्रीडम रह्यो, अगाडि बढ्यौँ हामी । र अब सफलता पनि प्राप्त भयो । त्रिभुवन विश्वविद्यालय काठमाडौँ विश्वविद्यालयभन्दा अलि फरक किसिमको संरचना छ । त्यसको आफ्नै एउटा नियम अथवा बाध्यता, परिधि छ । अब काठमाडौँ विश्वविद्यालयमै गरेको कुरा त्यहीँ पनि गर्छु भन्ने होइन । 

तथापि, मैले सधैँ नै त्रिभुवन विश्वविद्यालयलाई सम्भावनाको उच्च शैक्षिक संस्थाका रूपमा लिएको छु । किनभने संसारमा अहिले पनि ५ लाखभन्दा बढी विद्यार्थी हुने थोरै विश्वविद्यालयहरू छन्, त्योमध्ये त्रिभुवन विश्वविद्यालय पनि एउटा हो । 

त्यसकारण यो पनि एउटा हामीले सम्भावनालाई अब कसरी उपयोग गर्ने, कसरी यसलाई चाहिँ चिनाउने भन्ने कुरामा चाहे त्यो विद्यार्थी संख्यामा होस्, चाहे त्यसको भएका भौतिक सम्पत्तिहरूमा होस जग्गा जमिनदेखि लिएर भवनहरू, अरू अरू स्रोतहरू होस्, शिक्षकहरू होस यो सबै र यति राम्रो ठुलो ब्रान्ड पनि छ । 

कहिलेकाहीँ हामी यसलाई नकारात्मक रूपमा यो सबै बिग्रियो, भत्कियो, यो राम्रो भएन भन्छौँ । तर अहिलेसम्म नेपालको विविध क्षेत्र, त्यो चाहे निजामती क्षेत्र होस्, राजनीति होस्, व्यापार होस्, त्यो सबै त्रिभुवन विश्वविद्यालयकै उत्पादनहरूले सम्हालेको हुनाले यसलाई अझ केही मैले योगदान दिएर यसलाई अझ राम्रो डिरेक्सनमा लैजान सक्छु कि ? 

अहिलेसम्म अग्रजहरूले गर्नुभएको योगदान र बाटो बिराएका छौँ भने त्यो बाटोलाई पुनः लिकमा ल्याएर अगाडि लैजाने मेरो योजना छ । अहिलेकै संरचनाले ५ लाख विद्यार्थीहरू चुस्त दुरुस्त रूपमा पढ्ने, पढाउने, परीक्षा लिने, त्यो काम गर्न गाह्रो छ, केही संगठनात्मक संरचनाहरू सुधारहरू गर्नुपर्ने छ होला । केही अटोनोमीका कुराहरू होलान्, डिसेन्ट्रलाइजेसनका कुरा होलान्, अगाडिका नेतृत्वहरूले उठान गरेका विषयहरू, सुरुवात गरेका विषयहरू होलान्, तिनलाई कार्यान्वयनमा लिएर जाने सोच छ । 

नयाँ पुस्ताहरूले जे सोच्छ, त्यसलाई म कार्यान्वयनमा लैजाने मेरो एउटा योजना छ ।

त्यो भनेको विशेष गरेर सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रमहरूलाई बढाउने र अन्य जुन भइराखेका परम्परागत कार्यक्रमहरूहरूलाई सूचना प्रविधिमा जोडेर एउटा कम्तीमा रोजगारीमूलक कार्यक्रमहरूमा लैजाने, अनुसन्धानमूलक कार्यक्रमहरूमा लैजाने मेरो योजना छ । विश्वविद्यालयका परिवारहरूसँग छलफल गरेर र तुरुन्तै गर्नुपर्ने केही कामहरू पनि छन्, त्यसलाई प्राथमिकतामा राखेर सुरुवात गर्छु ।

त्रिविमा सुधार गर्नुपर्ने पक्षहरू केके छन् ? 

–झन्डै दुई महिनादेखि विश्वविद्यालयको नेतृत्व कामचलाउ भएकाले धेरै निर्णयहरू अड्केका होलान् । अब सरकारले सार्वजनिक रूपमै घोषणा गरिराखेको कम्तीमा क्यालेन्डरलाई मेन्टेन गरौँ । परीक्षा गरिसकेपछि त्यसको नतिजा समयमै प्रकाशित गरौँ । परीक्षा प्रणालीलाई अलि चुस्त दुरुस्त बनाउन र नतिजा समयमै प्रकाशन गर्ने पहिलो प्राथमिकता हुनेछ । त्यो भनेको विद्यार्थीले प्रमाणपत्र लिएर आफ्नो रोजगारीमा जाने अवसर हो । 

त्यसबाहेक त्रिविको जग्गा सदुपयोग गर्न नसकिएको भन्ने कुरा आइराखेको छ । केही विश्वविद्यालयको जग्गा अन्य सरोकारवालाहरूले उपयोग गरिराख्दा त्यसलाई विश्वविद्यालयकै हितमा, विश्वविद्यालयकै उपयोगमा ल्याउनुपर्छ भन्ने सरकारको प्राथमिकतामा छ । त्यसमा पनि मेरो कोसिस हुनेछ । 

त्यसबाहेक नयाँ कार्यक्रमहरू प्लान गर्न, त्यसलाई इम्प्लिमेन्ट गर्न योभन्दा अगाडि डिसेन्ट्रलाइजेसन र अटोनोमीका योजनाहरू अघि सारिएको थियो, त्यसलाई अध्ययन गरेर कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर नै म आफ्नो कार्यक्रमहरू अगाडि बढाउँछु ।

अन्त्यमा मुख्यतः त्रिभुवन विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी भइरहन्छ । अब यो चुनौतीलाई कसरी सामना गर्नुहुन्छ ? 

केही समस्य होला, कारण होला । विद्यार्थीका समस्या र समयमा परीक्षाफल प्रकाशित भएनन् होला । अथवा अतिरिक्त क्रियाकलापहरूमा जसरी विद्यार्थीहरू सहभागी हुनुपर्ने थियो, त्यो हुन पाएनन् होला । 
विद्यार्थीका जायज मागहरूलाई सम्बोधन गर्ने विश्वविद्यालयभित्र विभिन्न मेकानिजमहरू हुन्छ, त्योअनुसार समाधान गर्‍यो तालाबन्दी र हड्ताल गर्नुपर्ने कुनै कारण देख्दिनँ । 
शिक्षक कर्मचारीको वृत्ति विकासबारे बुझेर सम्बोधन गर्ने प्रयास गर्छु । 

शिक्षक, कर्मचारीका पनि समस्या र माग होलान् । उहाँहरूको वृत्तिविकासका कुराहरू होलान्, उहाँहरूका एउटा सेवा–सुविधाका कुराहरू होलान् । त्यो कुरालाई जे हो, एउटा न्यायपूर्ण रूपमा जे हुनुपर्ने हो, त्यो भयो भने कुनै पनि बहानामा, कुनै कसैको आड–भरोसामा फेरि त्यहाँ आन्दोलन गरिरहनुपर्छ जस्तो लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रशान्त वली
प्रशान्त वली
लेखकबाट थप