आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत

आइतबार, २१ असार २०८३, १९ : ५०
आइतबार, २१ असार २०८३

काठमाडौँ। अखिल नेपाल यातायात मजदुर सङ्घले नेपाल अरनिको यातायात सेवा प्रालिका अध्यक्षसमक्ष ८ बुँदे मागपत्र बुझाएको छ। आइतबार बुझाइएको मागपत्रमा सार्वजनिक यातायात क्षेत्रलाई श्रममैत्री, व्यवसायीमैत्री, प्रविधिमैत्री तथा यात्रुमैत्री बनाउन भनिएको छ।

सार्वजनिक यातायात क्षेत्रमा कार्यरत श्रमिक, स्वरोजगार व्यवसायी, यात्रु उपभोक्ता तथा कम्पनीको समग्र हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनप्रति आफू निरन्तर प्रतिबद्ध रहेको सङ्घले जनाएको छ। 

स्थापना कालदेखि नै सार्वजनिक यातायात क्षेत्रको व्यवस्थित विकास, श्रमिक अधिकारको संरक्षण, व्यवसायीको लगानीको सुरक्षा तथा यात्रुलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउने अभियानमा सङ्गठनले रचनात्मक भूमिका निर्वाह गर्दै आएको पनि मागपत्रमा उल्लेख गरिएको छ।

सङ्घले हाल सार्वजनिक यातायात क्षेत्र गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले प्रस्ताव गरेको "सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक, २०८३" मा दण्ड, सजाय र जरिवानालाई अत्यधिक प्राथमिकता दिइएकाले श्रमिक, व्यवसायी तथा यात्रु उपभोक्ताको हितमा प्रतिकूल असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ। यस्तो अवस्थामा यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षबिच एकता, सहकार्य र साझा धारणा निर्माण आवश्यक रहेको सङ्घको भनाइ छ।

त्यसैगरी, नेपालको संविधान, श्रम ऐन, सामाजिक सुरक्षा ऐन तथा प्रचलित कानुनले सुनिश्चित गरेका श्रमिक अधिकार, सुरक्षित श्रम वातावरण, सामाजिक सुरक्षा तथा सम्मानजनक रोजगारीको प्रभावकारी कार्यान्वयन गर्दै नेपाल अरनिको यातायात सेवा प्रा.ली.लाई अझ व्यवस्थित, उत्तरदायी, श्रममैत्री र यात्रुमैत्री संस्थाका रूपमा विकास गर्नुपर्ने माग सङ्घले गरेको छ।

नेपालको संविधान, २०७२, श्रम ऐन, २०७४ तथा सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम नेपाल अरनिको यातायात सेवा प्रा.ली. अन्तर्गत सञ्चालित सम्पूर्ण सवारी साधनमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउनुपर्ने लगायतका ८ बुँदे मागपत्र बुझाइएको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप