सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु

सोमबार, २२ असार २०८३, ११ : १६
सोमबार, २२ असार २०८३

किभ । सोमबार बिहान युक्रेनको राजधानी किभमा रुसले क्षेप्यास्त्र र ड्रोनमार्फत गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । यी आक्रमणमा अरु २४ जना घाइते भएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । 

 आक्रमणका कारण अपार्टमेन्ट भवनहरू तथा अन्य संरचनामा व्यापक क्षति पुगेको छ । किभ सहरको सैन्य प्रशासनका प्रमुख टिमुर ट्काचेन्कोका अनुसार आक्रमणबाट ऐतिहासिक पोडिल्स्की जिल्लामा गम्भीर रूपमा क्षतिग्रस्त भएको एउटा अपार्टमेन्ट भवनबाट दुई जनाको शव निकालिएको छ । उक्त जिल्लामा मात्रै चार वटा आवासीय भवनमा आक्रमण भएको उनले टेलिग्राममार्फत जानकारी दिएका छन् ।

उद्धारकर्मीहरूले भत्किएका भवनहरूबाट स्थानीय बासिन्दाको उद्धार गरिरहेको किभका मेयर भिताली क्लिच्कोले बताए । उनका अनुसार पोडिल्स्की जिल्लामा आंशिक रूपमा भत्किएको एक भवनबाट १५ जनाको सकुशल उद्धार गरिएको छ ।  

उद्धार गरिएकामध्ये तीन महिला र छ जना बालबालिकालाई माथिल्लो तलाबाट सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ । पूर्वी दार्नित्स्की जिल्लामा ड्रोनका भग्नावशेष २५ तले अपार्टमेन्ट भवनमा खस्दा दुई जनाको मृत्यु भएको क्लिच्कोले जानकारी दिए । भवनका माथिल्ला तलामा फसेका बासिन्दाको उद्धार कार्य जारी रहेको उनले बताए । दार्नित्स्कीमै रहेको ३० तले अर्काे भवनमा पनि आगलागी भएको छ । गत बिहीबार रुसले सयौं ड्रोन र दर्जनौं क्षेप्यास्त्र प्रहार गर्दा यही क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार किभ र आसपासका क्षेत्रमा लगातार विस्फोटको आवाज सुनिएको थियो भने युक्रेनी वायु प्रतिरक्षा प्रणालीले रुसी ड्रोनहरूलाई रोक्ने प्रयास गरिरहेको देखिएको थियो । 

घटनास्थलका तस्बिरहरूमा उद्धारकर्मीहरू भग्नावशेष हटाउँदै घाइतेहरूलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा लगिरहेको देखिन्छ । अनौपचारिक टेलिग्राम च्यानलहरूमा सार्वजनिक गरिएका तस्बिरहरूमा धेरै अग्ला आवासीय भवन तथा एक व्यावसायिक भवनमा आगलागी भएको र भवनभित्र ठूलो क्षति पुगेको देखाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप