ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
दोहा । अमेरिका-इजरायल र इरानबिचको युद्धपछि ऊर्जा बजारमा सुधारका सङ्केतहरू देखिएसँगै ओपेक प्लस देशहरूले कच्चा तेलको उत्पादन बढाउने योजना घोषणा गरेका छन् । विश्व बजारको अवस्था र भावी परिदृश्यको समीक्षा गर्न भर्चुअल माध्यमबाट बसेको बैठकपछि ओपेक प्लसले आइतबार यस्तो निर्णय गरेको हो ।
नयाँ निर्णय अनुसार साउदी अरब, रुस, इराक, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमान गरी सात सदस्य देशले आगामी अगस्ट महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने छन् ।
विगत पाँच महिनायता यी सात देशले लगातार प्रत्येक महिना उत्पादन बढाउँदै लगेका छन् । यो वृद्धि सन् २०२३ मा गरिएको उत्पादन कटौतीको निर्णयलाई बिस्तारै खारेज गर्ने योजनाकै निरन्तरता हो । सन् २०२३ को अप्रिल र नोभेम्बरमा विश्वका प्रमुख बैंकहरू डुब्न थालेपछि तेल र अन्य वस्तुको बजार ओरालो लागेका बेला ओपेक प्लसले उत्पादनमा कटौती गरेको थियो ।
ओपेक प्लसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सदस्य राष्ट्रहरूले बजारको अवस्थालाई नजिकबाट नियाल्ने र मूल्याङ्कन गर्ने कार्य जारी राख्नेछन् ।’ बैठकमा अधिकारीहरूले बजारको अवस्था हेरेर स्वैच्छिक उत्पादन समायोजनलाई बढाउने, रोक्ने वा पुरानै अवस्थामा फर्काउने पूर्ण लचकतासहित सतर्कतापूर्वक अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । यी सात सदस्य देशहरू आगामी अगस्ट २ मा बजारको पुनरावलोकन गर्न पुनः बैठक बस्नेछन् ।
गत अप्रिल महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ डलर नाघेको थियो । तर इरान द्वन्द्वको स्थायी अन्त्य हुने र स्ट्रेट अफ होर्मुजमा ढुवानी सेवा सामान्य बन्ने आशा बढेपछि पछिल्ला दिनहरूमा तेलको मूल्य युद्ध सुरु हुनुअघिको अवस्थामै फर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानबीच गत जुन १७ मा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुजमा जहाजको आवतजावत केही बढेको छ, यद्यपि यो अझै पनि युद्धअघिको तुलनामा निकै कम हो ।
जहाज ट्र्याक गर्ने अनलाइन प्लेटफर्म मरीन ट्राफिकका अनुसार युद्ध सुरु हुनुअघि सो क्षेत्रमा दैनिक करिब १३० वटा जहाज आवतजावत गर्ने गरेकोमा गत जुलाई १ मा ४८ र जुलाई २ मा ३८ वटा जहाज मात्र ओहोरदोहोर गरेका छन् । सोमबार सेप्टेम्बर डेलिभरीका लागि ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७२ डलर कायम भएको छ । यो मूल्य गत फेब्रुअरी २७ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुभन्दा ठिक अघिल्लो दिनको मूल्य ७२.४८ डलरभन्दा पनि कम हो ।
विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको झन्डै पाँच भाग ओगट्ने स्ट्रेट अफ होर्मुजलाई इरानले बन्द गरिदिएपछि यस क्षेत्रका भण्डारण कक्षहरू भरिएका थिए । सोही कारण ओपेक प्लस देशहरू उत्पादन कटौती गर्न बाध्य भएका थिए । ओपेकको तथ्याङ्क अनुसार गत फेब्रुअरीमा दैनिक ४ करोड २७ लाख ७० हजार ब्यारेल रहेको ओपेक प्लसको कुल उत्पादन मे महिनामा घटेर ३ करोड ३१ लाख ३० हजार ब्यारेलमा झरेको थियो ।
अस्ट्रेलियाको सिड्नीस्थित आईजीका बजार विश्लेषक फेबियन यिपले ओपेक प्लसको यो पछिल्लो उत्पादन वृद्धिको निर्णयलाई वास्तविक बजारको अवस्था अनुसार केवल ‘कागजी औपचारिकता’ मात्र भएको टिप्पणी गरेका छन् । यिपले भने, ‘वास्तविक रूपमा स्ट्रेट अफ होर्मुजको नाकाबन्दीका कारण महिनौँदेखि तेल आपूर्ति रोकिएको थियो, जसले गर्दा तोकिएको कोटा पूरा हुन सकेको थिएन, अहिले त्यो अवरोध हट्दै गएकाले मूल्य घट्न थालेको हो ।’
उनका अनुसार साउदी अरबले जुन १७ यता आफ्नो ढुवानी परिमाणलाई त्यसअघिका तीन महिनाको संयुक्त परिमाण भन्दा दोब्बर बनाएको छ भने इरानमाथिको नौसैनिक नाकाबन्दी हटेपछि उसले झन्डै ५ करोड ब्यारेल कच्चा तेल बजारमा पठाइसकेको छ । चीनमा तेलको माग घट्नु तथा अमेरिका र रुसको निर्यात बढ्नुका साथै रोकिइराखेको तेल बजारमा आउनाले निकट समयमै बजारमा तेलको आपूर्ति बढी हुने देखिएको र सोही कारण कच्चा तेलको मूल्य युद्धअघिकै स्तरमा झरेको विश्लेषक यिपको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण