सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा सरिना घलेले जितिन् स्वर्ण

सोमबार, २२ असार २०८३, १३ : १७
सोमबार, २२ असार २०८३

सारांश

  • नेपाली उमा कुङफु खेलाडी सरिना घलेले युकेको वोर्चेस्टरमा भएको डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।
  • महिला क्रिएटिभ फमको १८ वर्षमाथि मिक्स बेल्ट स्पर्धामा सरिनाले २२.९ अङ्क जोड्दै पहिलो स्थान हासिल गरिन् ।
  • अब उनको लक्ष्य अस्ट्रियामा आयोजना हुने डब्लुएमएसी वर्ल्ड च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउनु हो ।

लण्डन । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । 

युकेको वोर्चेस्टरमा भएको प्रतियोगिता अन्तर्गत महिला क्रिएटिभ फमको १८ वर्षमाथि मिक्स बेल्ट स्पर्धामा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिएका छन् ।

कडा प्रतिस्पर्धात्मक बनेको उक्त स्पर्धामा सरिनाले २२.९ अङ्क जोड्दै पहिलो स्थान हासिल गरेकी हुन् । उनकी निकटत्तम प्रतिद्वन्द्वी इङल्यान्डकी अमेलिया पार्किनले २२.८ स्कोर मात्र गर्न सकिन् ।

करिब २ वर्षअघि अध्ययनको सिलसिलामा युके गएकी सरिनाले त्यहाँ आफ्नो पढाइसँगै खेल जीवनलाई पनि निरन्तरता दिइरहेकी छन् । उनले 'मास्टर्स अफ साइन्स इन डिजिटल मार्केटिङ' को अध्ययन पूरा गरिसकेकी छन् । पढाइका अतिरिक्त खेलकुदमा निकै सक्रिय उनले चर्चित लन्डन म्याराथनसहित विभिन्न दौड प्रतियोगिताहरूमा समेत सहभागिता जनाइसकेको अध्यक्ष राईले बताए ।

ब्रिटिस च्याम्पियनसिपमा सफलता हात पारेकी सरिनाको अबको लक्ष्य विश्व च्याम्पियनसिप तर्फ सोझिएको छ । आगामी सेप्टेम्बरमा अस्ट्रियामा आयोजना हुने ‘डब्लुएमएसी वर्ल्ड च्याम्पियनसिप– २०२६’ मा सहभागिता जनाउनका लागि उनले अहिलेदेखि नै तयारी गरिरहेको अध्यक्ष राईले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप