सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
नेकपा नेता नारायणकाजी श्रेष्ठसँग ‘वारपार’

‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’

‘विश्वभर नै निर्वाचित अधिनायकवादको ट्रेन्ड देखिएको छ’
सोमबार, २२ असार २०८३, २० : ००
सोमबार, २२ असार २०८३

सारांश

  • नारायणकाजी श्रेष्ठका अनुसार बालेन सरकार प्राविधिक सुधारमा राम्रो भए पनि सुशासन र जनताको जीवनस्तर सुधारको आधारभूत मुद्दामा अलमलिएको छ ।
  • उनले प्रधानमन्त्रीको राष्ट्रिय स्वाधीनता र सिमानाबारेको अभिव्यक्ति शतप्रतिशत गलत, अपरिपक्व र राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।
  • कम्युनिस्ट आन्दोलनको कमजोरी स्वीकार्दै श्रेष्ठले वैचारिक स्पष्टता, साङ्गठनिक लोकतन्त्र, शुद्धीकरण, जनसम्बन्ध र प्रविधिको प्रयोग गरी आन्दोलनलाई पुनर्जीवित गर्न सकिने बताएका छन् ।

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार प्राविधिक सुधारमा राम्रै देखिएको भएपनि सुशासन र जनताको जीवनस्तर सुधारको आधारभूत मुद्दामा अलमलिएको देख्नछन् नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ । रातोपाटीको ‘वारपार’मा कुराकानीका क्रममा उनले वर्तमान सरकार जनअपेक्षा र आफ्नै प्रतिबद्धतामा खरो उत्रिन नसकेको टिप्पणी गरे । 

साथै कम्युनिस्ट पार्टीहरूबिचको एकताबारे पनि उनले धारणा राखे । केपी शर्मा ओली र प्रचण्ड मिल्दैमा मात्रै अब जनताले नपत्याउने उनलाई महसुस भएको छ । 

नेता श्रेष्ठसँग वर्तमान सरकारको १०० दिन, राष्ट्रिय स्वाधीनता, नेपालको कूटनीतिक मर्यादा, सेनाको भूमिका र कम्युनिस्ट आन्दोलनको भविष्यका विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

अहिले विश्वकप फुटबल चलिरहेको छ,  हेर्नुहुन्छ ?

फुटबलमा मेरो त्यति रुचि छैन, मैले त्यति हेरेको पनि छैन । अब फाइनल चाहिँ हेर्ने हो ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको १०० दिन पूरा भएको छ । सरकारले आफ्नो उपलब्धि सार्वजनिक गरेर उत्सवका रूपमा मनाइरहेको छ । तपाईं यस अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? सरकारको हनिमुन पिरियड सफल रह्यो ?

संसदीय व्यवस्थामा सरकार गठन भएको पहिलो १०० दिनलाई ‘हनिमुन पिरियड’ मान्ने र यस अवधिमा सरकारले गरेका कामको प्रारम्भिक समीक्षा गर्ने एउटा विश्वव्यापी चलन नै हो । यो कानुन वा संविधानमा लेखिएको कुरा त होइन, तर अभ्यासमा छ । जहाँसम्म यो सरकारको १०० दिनको कुरा छ, हामीले यस सरकारबाट ठुलो आशा राखेका थियौँ । २०७४ मा हामी (नेकपा) लाई जनताले अभूतपूर्व बहुमत दिएका थिए, तर हामीले त्यसको सदुपयोग गर्न सकेनौँ भन्ने आत्मबोध हामीलाई छ । अहिलेको सरकारले जुन म्यान्डेट पायो, हामी चाहन्थ्यौँ कि यसले सुशासन र समृद्धिको दिशामा फड्को मारोस्, ताकि जनताले धोका नपाउन् ।

Narayankaji Shrestha1

समग्रमा हेर्दा यो सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन । केही स–साना सकारात्मक सुधार पक्कै भएका छन् । जस्तै, प्रधानमन्त्री स्वयं हरेक साना शिलान्यास, उद्घाटन, पुरस्कार वितरण र विमोचनमा दौडिनुभएको छैन । यो राम्रो कुरा हो, जुन हामीले पहिलेदेखि भन्दै आएका थियौँ । त्यस्तै, विदेशी कूटनीतिज्ञहरूलाई भेट्ने कुरामा एउटा प्रोटोकल मर्यादा कायम गर्न खोज्नुभएको छ । परराष्ट्र मन्त्रालयलाई छलेर सिधै प्रधानमन्त्री भेट्न जाने प्रवृत्तिमा केही अङ्कुश लागेको छ । मन्त्रालयको सङ्ख्या घटाउने निर्णय पनि स्वागतयोग्य छ, तर यी केही प्राविधिक सुधारबाहेक सुशासन र जनताको जीवनस्तर सुधारको आधारभूत मुद्दामा सरकार अलमलिएको छ ।

तपाईंले सुशासनको कुरा गर्नुभयो, सरकारले त पासपोर्ट र लाइसेन्स वितरणमा सुधार गरेको दाबी गरेको छ नि ?

सुशासन भनेको विज्ञापन गर्ने कुरा मात्र होइन । लाइसेन्सका बारेमा सरकारले जे दाबी गरेपनि त्यो के–कति भएको छ, जनतालाई नै सोध्नुपर्छ । पासपोर्ट घरघरमै पुर्‍याउने कुरा सुन्दा राम्रो लाग्छ, तर व्यवहारमा यसको प्रभावकारिता कति छ, त्यो हेर्न बाँकी छ । सुशासनको कुरा गर्दा मन्त्रीहरूले ५–५ जना सचिव सरहका सल्लाहकार नियुक्त गर्ने अधिकार लिनु कुन प्रकारको सुशासन हो ? हामीले त एउटा पनि सल्लाहकार राख्न नपाउने नियम बनाएका थियौँ । यो त राज्यको स्रोतमाथि रजाइँ गर्ने कुरा भयो ।

अर्को मुख्य कुरा सम्पत्ति छानबिनको हो । नयाँ आएका शक्तिहरूले त ‘हामी नयाँ हौँ, सफा छौँ, पहिले हाम्रै सम्पत्ति छानबिन गर’ भन्नुपर्ने हो, तर उहाँहरूले आफ्नो सम्पत्ति छानबिनको दायरामा नपर्ने गरी नियम बनाउनुभएको छ । सम्पत्ति विवरणमा देखिएका सुनका डल्ला र अपारदर्शी स्रोतका बारेमा जनतालाई स्पष्ट पार्नुपर्छ । उत्पादक लगानीमा भन्दा ‘आइडल’ सुनमा लगानी गर्ने प्रवृत्ति दलाल पुँजीवादको लक्षण हो ।

राष्ट्रिय स्वाधीनता र सिमानाको विषयमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिले निकै ठुलो चर्चा पायो । नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने उहाँको आशयप्रति तपाईंको धारणा के छ ?

यो विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति शतप्रतिशत गलत, अपरिपक्व र राष्ट्रघाती छ । नेपालको राजनीतिक इतिहासमा आजसम्म कुनै पनि प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भनेर बोलेका थिएनन् । यो कुरा त स्वयं भारतले पनि आधिकारिक रूपमा दाबी गरेको छैन ।

सिमानाको विषयमा नेपाल र भारतबिच प्राविधिक समितिले ९८ प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी रहेको २ प्रतिशत सुस्ता र कालापानी क्षेत्रको विवाद हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो अभिन्न भूभाग हो भनेर हाम्रो संसदले सर्वसम्मत रूपमा नक्सा पारित गरेको छ । यस्तो अवस्थामा देशको कार्यकारी प्रमुखले ‘हामीले पनि भारतको जग्गा मिचेका छौँ’ भन्नु हाम्रो कूटनीतिक अडानलाई कमजोर बनाउनु हो ।

Narayankaji Shrestha3

कतिपयले यसलाई क्रस बोर्डर होल्डिङ अर्थात् सिमा वारपारको जोतभोगसँग जोडेर बचाउ गर्न खोजेका छन् नि, कुरा के हो ?

नदीले धार परिवर्तन गर्दा यताका मान्छेले उता र उताका मान्छेले यता कमाइ गर्ने कुरा प्राविधिक समस्या हो, तर प्रधानमन्त्रीले यसलाई सिमाना अतिक्रमणको सन्दर्भमा जोडेर नेपाललाई दोषी देखाउन खोज्नुभयो, जुन अत्यन्तै गम्भीर गल्ती हो ।

तपाईंले अहिलेको राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी लोकरिझ्याइँवाद’ भन्नुभएको छ । यसले लोकतन्त्रलाई खतरामा पार्छ भन्ने तर्क छ, कसरी यस्तो हुन्छ ?

अहिले विश्वभरि नै एउटा ट्रेन्ड देखिएको छ, जसलाई हामी ‘निर्वाचित अधिनायकवाद’ भन्छौँ । जनताको असन्तुष्टि र निराशालाई टेकेर केही शक्तिहरू उदाउँछन्, जसलाई विधिको शासन र लोकतान्त्रिक पद्धतिप्रति कुनै सम्मान हुँदैन । उनीहरू पपुलिस्ट नारा दिएर संस्थागत लोकतन्त्रमाथि प्रहार गर्छन् ।

नेपालमा सरकारले त्यस्तो के गर्‍यो र लोकतन्त्र खतरामा पर्दैछ भन्ने आशङ्का गर्नुभयो ?

नेपालमा पनि विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कुरा भइरहेको छ । शिक्षण संस्थामा दलगत राजनीति अन्त्य गर्ने कुरा ठीक हो, तर संगठन खोल्ने मौलिक अधिकारमाथि नै प्रतिबन्ध लगाउनु अधिनायकवादको सुरुवात हो । कर्मचारीलाई अनावश्यक हस्तक्षेप गर्न नदिने कुरा सुशासन हो, तर उनीहरूको हकहितका लागि बोल्न पाउने अधिकार खोस्नु गलत हो ।

अर्को डरलाग्दो कुरा ‘अन्धभक्त’हरूको जत्था हो । समाजलाई विभाजित गर्ने र आफ्नो नेताले जे गरे पनि ठिक भन्ने अन्धसमर्थकको फौजले बिस्तारै देशलाई फासीवादतिर लैजान्छ । मुसोलिनी र हिटलरको उदय पनि यसरी नै भएको थियो । विधिको शासनलाई मिचेर ‘म नै राज्य हुँ’ भन्ने सोचले लोकतन्त्रलाई कमजोर बनाउँछ ।

सेना र वर्तमान सरकारको सम्बन्धलाई तपाईंले कसरी हेर्नुभएको छ ? के हामी पाकिस्तानी मोडलतिर जाँदैछौँ ?

म सेनाको बारेमा धेरै बोल्न चाहन्नँ । किनभने नेपाली सेना एउटा यस्तो संस्था बनोस्, जसलाई सबै नागरिकले साझा विश्वासको केन्द्र मानुन्, तर पछिल्लो समय केही यस्ता घटना भएका छन्, जसले प्रश्न उठाएका छन् । राजधानीमा सुकुमबासी बस्ती हटाउन सेनाको प्रयोग गर्ने कुरा कुन कानुनले दिन्छ ? सेनाले सुकुमबासीको रेकर्ड र विवरण मागेर हिँड्नु उसको कार्यक्षेत्रभित्र पर्छ ?

सेनालाई नागरिक मामिलामा र विशेष गरी जनतालाई दबाउन प्रयोग गरिनु लोकतन्त्रका लागि घातक हुन्छ । सेना राष्ट्रिय सुरक्षा र सार्वभौमिकताका लागि हो, आन्तरिक प्रशासन र नागरिक विवादका लागि होइन । यदि हामीले सेनालाई स–साना आन्तरिक विषयमा अल्झायौँ र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्‍यौँ भने त्यसले हामीलाई कता लैजान्छ ? सेनाले स्वयं आफ्नो मर्यादा र कार्यक्षेत्रको पुनरवलोकन गर्नुपर्छ । सेनाले जनताको विश्वास आर्जन गर्ने हो, डर पैदा गर्ने होइन ।

७०–८० वर्षदेखि सङ्घर्ष गरेको कम्युनिस्ट आन्दोलन अहिले यति कमजोर किन भयो ? के नयाँ शक्तिहरूले तपाईंहरूलाई विस्थापित गर्न लागेका हुन् ?

कम्युनिस्ट आन्दोलन कमजोर भएको कुरालाई स्वीकार नगर्नु भनेको कम्युनिस्ट हुनु होइन । कम्युनिस्टले वस्तुगत यथार्थलाई स्वीकार्नुपर्छ । हाम्रा कमजोरीकै कारण यो स्थिति आएको हो । हामीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रका लागि ठुलो सङ्घर्ष गर्‍यौँ, तर जब हामी सत्तामा पुग्यौँ, हामीले आफ्नो वैचारिक र सांस्कृतिक चरित्र जोगाउन सकेनौँ ।

Narayankaji Shrestha2

हाम्रो पार्टी र नेताहरूको ‘बुर्जुवाकरण’ भयो । हामी दलाल पुँजीवादको चक्रमा फस्यौँ । जनतासँगको सम्बन्ध टुट्यो र हामी पद र प्रतिष्ठामा मात्र केन्द्रित भयौँ । यो हाम्रो आन्दोलनको स्खलन हो, तर यसको अर्थ कम्युनिस्ट आन्दोलन सकियो भन्ने होइन । नेपालको विशिष्टतामा समाजवादको एजेन्डा अझै सान्दर्भिक छ ।

तपाईंले रूपान्तरण र पुनर्गठनको कुरा गर्नुभयो, तर पार्टीभित्र त अध्यक्षले ‘मैले नै मन्त्री बनाएको, मलाई नै निकाल्ने ?’ भनेर असन्तुष्टि व्यक्त गर्नुहुन्छ । यस्तो अवस्थामा सुधार कसरी सम्भव छ ?

पार्टीभित्र जीवन्त बहस हुनु राम्रो कुरा हो । कमरेड प्रचण्डले ‘मलाई सच्याऊ वा निकाल’ भन्नु भनेको एउटा द्वन्द्वात्मक अभिव्यक्ति हो । उहाँले अर्को महाधिवेशनपछि नेतृत्व छोड्छु भनेर पटक–पटक भन्नुभएको छ । नेतृत्व परिवर्तनमात्र ठुलो कुरा होइन, पार्टीको चरित्र परिवर्तन मुख्य कुरा हो ।

नेपालमा कम्युनिस्ट आन्दोलन सुधार हुने देख्नुहुन्छ ?

यसका मैले लागि ५ वटा आधारभूत कुरा प्रस्ताव गरेको छु । पहिलो– वैचारिक स्पष्टताः मार्क्सवाद र समाजवादलाई नारामा मात्र होइन, व्यवहारमा लागु गर्ने । दोस्रो– साङ्गठनिक लोकतन्त्रः पार्टीभित्र विधि, पद्धति र सामूहिकतालाई स्थापित गर्ने, गुटबन्दी अन्त्य गर्ने । तेस्रो– शुद्धीकरणः भ्रष्टीकरणका विरुद्ध निर्मम अभियान चलाउने र कार्यकर्ताको न्यायोचित मूल्याङ्कन गर्ने । चौथो– जनसम्बन्धः मजदुर, किसान र उत्पीडित वर्गसँगको सम्बन्धलाई फेरि कसिलो बनाउने  र पाँचौँमा प्रविधिको प्रयोगः आधुनिक विज्ञान र प्रविधिलाई अँगालेर नयाँ पुस्तासँग जोडिने ।

के एमाले र नेकपाबिच पुनः एकताको सम्भावना छ ?

अहिलेकै अवस्थामा, यथास्थितिको निरन्तरताका रूपमा एकता सम्भव छैन र त्यसले कुनै अर्थ पनि राख्दैन । केपी ओली र प्रचण्ड मिल्दैमा मात्रै जनताले पत्याउनेवाला छैनन् । पहिला दुवै पार्टीले आफूलाई रूपान्तरण गर्नुपर्छ । वैचारिक र सांस्कृतिक रूपमा रूपान्तरित भएरमात्रै एकता हुनुपर्छ । अहिलेलाई कार्यगत एकता र सहकार्य हुन सक्छ, तर वास्तविक एकताका लागि आधारभूत सुधार जरुरी छ ।

आम जनता र तपाईंका कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?

अहिले देश एउटा सङ्क्रमणकालीन अवस्थामा छ । लोकप्रियतावादको लहरले एकछिन रमाइलो त देला, तर यसले देशको आधारभूत समस्या समाधान गर्दैन । हामी कम्युनिस्टहरूले आफ्ना गल्तीहरू स्वीकार गर्दै आफूलाई जनताको सेवामा समर्पित गर्नुपर्छ । इतिहासको गाथा गाएरमात्र पुग्दैन, वर्तमानमा जनताका समस्याहरूसँग जोडिनुपर्छ । हामी सच्चिएर अगाडि बढ्यौँ भने कम्युनिस्ट आन्दोलनको भविष्य अझै उज्ज्वल छ ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप