राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले कानुनी समयसीमा भन्दा १२ दिन ढिलो गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था भए पनि राक्सिराङ गाउँपालिकाले सोमबार बसेको २०औँ गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष वनस्थम थिङले ६५ करोड ३१ लाख ७९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
पालिकाले प्रस्तुत गरेको बजेटअनुसार कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदानको छ । आगामी आर्थिक वर्षमा संघीय सरकारबाट ४६ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी प्रदेश सरकारबाट ८ करोड ६९ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ भने पालिकाको आन्तरिक स्रोतबाट ९ करोड ७० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिकाले बजेट तर्जुमा गर्दा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदान, समपूरक तथा सशर्त अनुदानसँगै पालिकाको आन्तरिक स्रोतलाई समेत आधार बनाएको जनाएको छ ।
खर्चतर्फ चालु खर्चमा ३७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि २७ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । कुल बजेटमा चालु खर्चको हिस्सा पुँजीगत खर्चभन्दा बढी रहेको देखिन्छ ।
राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकताका क्षेत्रमा राखेको छ । ग्रामीण भेगको आर्थिक गतिविधि, उत्पादन वृद्धि तथा आधारभूत सेवा विस्तारलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाको दाबी छ ।
क्षेत्रगत रूपमा हेर्दा यातायात पूर्वाधारमा सबैभन्दा बढी ४ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । विकट भूगोलका कारण सडक पहुँच विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको गाउँपालिकाको नीतिमा उल्लेख छ ।
यसैगरी पर्यटन पूर्वाधार निर्माणका लागि २ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ । प्राकृतिक तथा धार्मिक पर्यटकीय सम्भावना रहेका क्षेत्रको संरक्षण, पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटले कृषि उत्पादन वृद्धि, आधारभूत सेवा विस्तार तथा पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको विकास योजना अघि सारेको उपाध्यक्ष थिङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण