'विश्वकपले कार्बन उत्सर्जनको जिम्मेवारी बहन गर्नैपर्छ'
सारांश
- कार्बन न्युट्रालिटीको अवधारणा अनुसार वातावरणले ऊर्जा खपत, सामग्री उत्पादन, सामान ढुवानी र पूर्वाधार निर्माणको मूल्य चुकाउनुपर्छ ।
- विश्वकप जस्ता ठूला कार्यक्रमहरूले पनि वातावरणीय लागतको जिम्मेवारी लिनुपर्छ, जसमा कार्बन कर र शुल्कको सिद्धान्त लागू हुनुपर्छ ।
- सन् २०२६ को विश्वकपले करिब ७८ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन गर्ने अनुमान छ, जसको ८८ प्रतिशत समर्थकहरूको यात्राबाट हुनेछ ।
काठमाडौँ । ‘कार्बन न्युट्रालिटी’को अवधारणा निकै सरल छ । कुनै भवनले ऊर्जा खपत गर्दा, कारखानाले सामग्री उत्पादन गर्दा, कम्पनीहरूले संसारभर सामान ढुवानी गर्दा वा कुनै सहरले पूर्वाधार निर्माण गर्दा वातावरणले त्यसको मूल्य चुकाउनुपर्छ ।
त्यो वातावरणीय लागत मापन गर्न सकिन्छ, कम गर्न सकिन्छ र सबै सम्भावित उपाय अपनाइसकेपछि पनि बाँकी रहने उत्सर्जनको हिसाब राख्नुपर्छ । आज यही सिद्धान्त व्यवसाय, सरकारी आयोजना र विभिन्न संस्थाहरूको मूल्याङ्कन गर्ने आधार बनेको छ ।
यही मापदण्ड विश्वकै सबैभन्दा ठुलो कार्यक्रमहरू, विशेषगरी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकपमा पनि लागू हुनुपर्छ ।
यही सोच कार्बन कर (कार्बन प्राइसिङ) र कार्बन शुल्क (कार्बन टयारिफ) को आधार पनि हो । विश्वभरका सरकारहरूले अहिले प्रदूषणको लागत कसैले न कसैले तिर्नैपर्ने कुरा स्वीकार गर्न थालेका छन् । अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने उद्योगहरूले कर, कार्बन बजार, कडा नियम र विस्तृत प्रतिवेदनमार्फत आफ्नो उत्सर्जनको जिम्मेवारी लिनुपर्ने अवस्था बन्दै गएको छ । यसको उद्देश्य आर्थिक गतिविधिलाई दण्ड दिनु होइन, बरु पहिले लुकेर बसेको वातावरणीय लागतलाई सबैका अगाडि ल्याउनु हो ।
दशकौँसम्म ऊर्जा–आधारित प्रविधिबाट मानवले लाभ लियो, तर त्यसको मूल्य जलवायुले चुकायो । कार्बन मूल्य निर्धारणको उद्देश्य यही अन्यायलाई केही हदसम्म सच्याउनु हो ।
यही सिद्धान्त खेलकुदमा पनि लागू हुनुपर्छ । हाम्रो घर निर्माण गर्ने उद्योग, ऊर्जा उपलब्ध गराउने कम्पनी, हवाई इन्धन उत्पादन गर्ने क्षेत्र वा उपभोग्य वस्तु बनाउने उद्योगलाई जलवायु प्रभावबारे निरन्तर प्रश्न गरिन्छ । तर ठुला खेलकुद प्रतियोगिताको कुरा आउँदा यस्तो निगरानी निकै कमजोर देखिन्छ ।
फुटबल सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण भए पनि यसको वातावरणीय प्रभाव ठुलो छ । प्रतियोगिताका लागि टोली, समर्थक, प्रायोजक, प्रसारण संस्था र उपकरणहरू एक देशबाट अर्को देशसम्म लैजाँदा ठुलो मात्रामा कार्बन उत्सर्जन हुन्छ ।
सन् २०२६ को फिफा विश्वकपमा यो समस्या झन् स्पष्ट देखिन्छ । जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुने यो विश्वकप इतिहासकै सबैभन्दा ठुलो संस्करण हो । अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा ४८ टोलीबिच १०४ खेल हुँदै छन् । टोली, अधिकारी, पत्रकार, प्रायोजक, आपूर्तिकर्ता र लाखौँ समर्थकहरू उत्तर अमेरिकाभर मुख्यतः हवाई यात्रामार्फत आवतजावत गरिरहेका छन् ।
फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकपले आफ्नो कार्बन उत्सर्जन मापन, न्यूनीकरण र त्यसको जिम्मेवारी बहन गर्न गम्भीर योजना बनाउनुपर्छ ।
कार्बन लेखाङ्कन संस्था ‘ग्रीन्ली’को स्वतन्त्र अनुमानअनुसार यस विश्वकपबाट करिब ७८ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन हुनेछ । त्यसमध्ये करिब ८८ प्रतिशत उत्सर्जन समर्थकहरूको यात्राबाट मात्र हुने अनुमान गरिएको छ ।
यात्राबाहेक रङ्गशालाको प्रकाश, वातानुकूलन, प्रसारण, सुरक्षा, खानपान सेवा र समर्थकहरूको बसोबासले पनि ठुलो मात्रामा ऊर्जा खपत गर्छ । यी सबै कारणले प्रतियोगिताको कुल कार्बन फुटप्रिन्ट बढाउँछन् ।
यो प्रतियोगिताको आकार वातावरणीय दृष्टिले मात्र होइन, आर्थिक हिसाबले पनि विशाल छ । फिफाले सन् २०२३–२०२६ अवधिमा करिब ११ अर्ब अमेरिकी डलर आम्दानी हुने प्रारम्भिक अनुमान गरेको थियो, जसमा २०२६ विश्वकप सबैभन्दा ठुलो आयस्रोत हो । पछि यो अनुमान अझ बढाइएको छ । यति ठुलो आम्दानी गर्ने प्रतियोगिताले दिगोपनलाई केवल नाराका रूपमा होइन, योजनाको अभिन्न अंगका रूपमा लिनुपर्छ । प्रतियोगिताबाट प्राप्त आम्दानीको निश्चित हिस्सा जलवायु अनुसन्धान, दिगो यातायात, नवीकरणीय ऊर्जा, कार्बन लेखाङ्कन, उत्सर्जन न्यूनीकरण र दीर्घकालीन वातावरणीय परियोजनामा लगानी गर्नुपर्छ ।
हामीले व्यक्तिगत स्तरमा पनि यसको महत्त्व बुझिरहेका छौँ । खेल सकिएपछि समर्थकहरूले रङ्गशालाको फोहोर आफैँ उठाएर सफा गरेको दृश्यले सबैलाई प्रेरित गर्छ । त्यो सानो काम भए पनि त्यसले ठुलो सन्देश दिन्छ । उत्सव मनाउँदैमा आफ्नो जिम्मेवारी बिर्सनु हुँदैन । विश्वकपको वातावरणीय प्रभावलाई पनि यही दृष्टिले हेर्नुपर्छ । यदि समर्थकहरूले आफूले छोडेको फोहोर उठाउन सक्छन् भने, फुटबल सञ्चालन गर्ने संस्थाहरूले पनि आफ्ना प्रतियोगिताबाट उत्पन्न हुने कार्बन उत्सर्जन कम गर्न सक्छन् । दर्शकदीर्घा सफा गर्नु राम्रो हो, तर वातावरणीय क्षति कम गर्नु त्योभन्दा धेरै महत्त्वपूर्ण हो ।
यसका लागि ‘स्पोट्र्स क्लाइमेट रेस्पोन्सिबिलिटी फन्ड’ स्थापना गर्नुपर्ने मेरो प्रस्ताव छ । यो कोष विश्वकपको आम्दानीको निश्चित अंश, फिफा, प्रायोजक, प्रसारण संस्था र प्रतियोगिताबाट लाभ उठाउने अन्य व्यावसायिक साझेदारहरूको योगदानबाट सञ्चालन हुनुपर्छ । यसको व्यवस्थापन स्वतन्त्र निकायले गर्नुपर्छ ताकि पारदर्शिता कायम रहोस् ।
यस्तो अवधारणाको उदाहरण पहिले नै छ । यूईएफए युरो २०२४ क्लाइमेट फन्डले करिब ८० लाख युरो स्थानीय दिगोपन परियोजनामा लगानी गरेको थियो । यसबाट सौर्य ऊर्जा, ब्याट्री भण्डारण, एलईडी फ्लडलाइट, विद्युतीय सवारी चार्जिङ स्टेसन र फोहोर व्यवस्थापन प्रणाली निर्माण गरियो । यद्यपि त्यो एक देशमा आयोजना भएको प्रतियोगिता थियो । तीन देशमा १०४ खेल हुने विश्वकपका लागि त्यसैको हुबहु नक्कल पर्याप्त हुँदैन । तर यो राम्रो सुरुआती उदाहरण भने अवश्य हो ।
यस कोषको मुख्य उद्देश्य विश्वकपसँग सम्बन्धित सम्पूर्ण कार्बन उत्सर्जनको स्वतन्त्र मूल्याङ्कन गर्नु र कार्बन तटस्थताका लागि विश्वासयोग्य योजना तयार गर्नु हुनेछ । यसको लागि खेल तालिका वैज्ञानिक रूपमा मिलाउने, कम प्रदूषण हुने यातायातको प्रयोग, नवीकरणीय ऊर्जा, ऊर्जा–दक्ष रंगशाला सञ्चालन र प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकास गर्न सकिन्छ ।
विशेष गरी यात्रा, होटल, ढुवानी, खाद्य सेवा, फोहोर व्यवस्थापन र रङ्गशालाको ऊर्जासँग सम्बन्धित स्कोप–१, स्कोप–२ र स्कोप–३ का सबै उत्सर्जन स्वतन्त्र रूपमा अध्ययन गरिनुपर्छ । यस उद्देश्यका लागि म अनुसन्धान परियोजना सुरु गर्ने तयारीमा छु । खेल, वातावरण र दिगोपनलाई सँगै अघि बढाउन चाहने अनुसन्धानकर्ता, विश्वविद्यालय, विशेषज्ञ तथा लगानीकर्ताहरू यस अभियानमा सहभागी हुन सक्छन् ।
विश्वकपलाई जिम्मेवार बनाउन यसको रमाइलोपन घटाउन आवश्यक छैन । फुटबल सधैँ मानिसलाई उत्साहित बनाउने, समुदायलाई जोड्ने र अविस्मरणीय सम्झना दिने खेल नै रहनेछ । तर यस विश्वव्यापी प्रेमबाट आर्थिक लाभ उठाउने सबै पक्षले प्रतियोगिता आयोजना गर्दा हुने वातावरणीय लागत पनि स्वीकार गर्नुपर्छ ।
‘कार्बन तटस्थता’ भन्ने शब्द प्रतियोगिता सकिएपछि प्रतिवेदनमा लेखिने औपचारिक वाक्यांश मात्र बन्नु हुँदैन । यो विश्वकपको योजना, बजेट, सञ्चालन र उत्सवको अभिन्न हिस्सा बन्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण