गोंगबुमा अलपत्र परेका सुकुमबासीलाई बास दिने मनकारी पाण्डे
सारांश
- सुकुम्बासीहरूलाई होटलबाट निकालिएपछि उनीहरूलाई बस्नका लागि बन्दोबस्त मिलाउँदै रामसरन पाण्डे.
- रामसरन पाण्डेले कोठा नपाएका, बिरामी, अशक्त, अपाङ्गता भएका, एकल महिलाहरूलाई आफ्नो होटलमा बास दिएका छन्.
- पाण्डेले राज्यले सुकुम्बासीहरूलाई कुनै व्यवस्था नगरे पनि आफूले एक महिनासम्म निःशुल्क राख्ने बताएका छन्.
काठमाडौँ । सोमबार बिहानै गोंगबुको काठमाडौँ होटल एण्ड लजमा होटल साहुनी र सुकुमबासीबिच केहीबेर गलफत्ती चल्यो । झन्डै हात हालाहालको स्थिति सिर्जना भयो ।
सरकारले होटलमा आश्रय लिइरहेका सुकुमबासीलाई जसरी पनि हट्न उर्दी जारी गरेको थियो ।

होटल साहुनीले प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ तिरेपछि मात्र निस्किन दिने अड्डी कसेपछि सुकुमबासीहरू आक्रोशित बने । केहीबेर आन्दोलन भयो ।
गोंगबुका अन्य होटलमा आश्रय लिइरहेका सुकुमबासीहरू पनि नयाँ बसपार्कस्थित काठमाडौं होटल एण्ड लजमा घेराउ गर्न पुगेपछि स्थिति झन् तनाबग्रस्त भयो । नेपाल प्रहरी, सुकुमबासी र होटल सञ्चालकबिच समझदारीपछि उनीहरू त्यहाँबाट निस्किन पाए । ‘हामीलाई बन्धक बनाइयो । सबैजनालाई थुनेर राखियो,’ होटलमा आश्रय लिँदै आएकी कल्पना कुमारी घलानले भनिन्, ‘लजकी सञ्चालकले अपशब्द बोलिन् । पैसा नतिरे जानै दिन्नँ भनिन् ।’
_WCChvhIdFg.jpg)
होटलमा बस्दा बासी खाना खुवाएको, एकै कोठामा ५ जनालाई कोचेर राखेको गुनासो पनि उनले गरिन् ।
हातमा बच्चा च्यापेर बसेकी कमला रणपहेलीका अनुसार बिहान ४ बजे उठेर साहुनीले भागेर जान्छन् कि भनेर निगरानी गरिन् । उज्यालो हुँदा सुकुमबासीलाई पैसा तिरेर निस्किन धम्की दिइन् ।
‘लजमा पहिलेदेखि नै दुर्व्यवहार हुने, अपशब्द बोल्ने, धम्की दिने काम भइरहेको थियो । तर हामीसँग सहेर बस्नुको विकल्प थिएन,’ ७२ दिनदेखि उक्त लजमा बसेकी कल्पनाले दुखेसो पोखिन् । उनले लजमा २ जनाले मात्र खाना खाए पनि सञ्चालकले ६ जनाले खाना खाएको बिलमा हस्ताक्षर गराएको गुनासो गरिन् । उक्त होटलमा ११ परिवारका सुकुमबासी बस्थे ।
_5oPYna35in.jpg)
सरकारले गोंगबुका विभिन्न होटलमा राखिएका सुकुमबासीहरूलाई असार १९ गते निस्किन सूचना टाँसिसकेको थियो । केही दिन थप गरेपछि होटलमै आश्रय लिइरहेका सुकुमबासीहरू छट्पटीमा थिए । सोमबार बिहानै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी र नेपाल प्रहरी होटलमा पुगेर जसरी पनि होटल छाड्नैपर्छ भनेपछि उनीहरू निरीह भए ।
कतिपयले पुनर्स्थापनाका लागि दिने भनिएको रकम पाएका थिएनन्, कतिले कोठा नै भेटेका थिएनन् । जसरी पनि होटल छाड्नै पर्ने आदेश दिएपछि सुकुमबासीहरू तनावमा परे । आफन्त हुनेहरू निस्किए, कतिले महँगो कोठा भाडा लिन बाध्य भए । बिरामी, अशक्त, बृद्धबृद्धा र साना बालबच्चा हुनेहरू अलपत्र परे । न गास, न बासको टुङ्गो थियो ।
_KrGnfsw1sX.jpg)
साँझ ७ बजे गोंगबुमा झम्–झम् झरी बर्सिंदै थियो । तिनै अलपत्र परेका सुकुमबासीहरू त्रिपुरा सुन्दरी होटल एण्ड लज प्रालिमा थुप्रिए । होटलका मालिक रामसरन पाण्डे अलपत्र परेका सुकुमबासीहरूलाई बस्नका लागि बन्दोबस्त मिलाउँदै थिए । कोठा नपाएका, बिरामी, असक्त, अपाङ्गता भएका, एकल महिलाहरूलाई उनले आफ्नो होटलमा बास दिए ।
वैशाख १२ गते उनको होटलमा ५७ जना सुकुमबासी राखिएको थियो । कोठा पाएर जानेलाई उनले बिहान खादा लगाएर खुसीले बिदाइ गरे । बास नपाएका, बच्चा, अशक्त, बिरामी, अलपत्र परेकाहरूलाई कोठा नपाएसम्म खान, बस्न दिने पाण्डेले बताए ।
_mQGwcodiUt.jpg)
पाण्डेले सुकुमबासीलाई होटल छाडेर जान सरकारले टाँसेको सूचना च्यातिदिए । औषधि सेवन गरिरहेका व्यक्ति, अशक्त, एकल महिला, वृद्धवृद्धाको बिजोग अवस्था देख्दा आफूमा करुणा जागेको उनले बताए । उनको काममा परिवारले पनि साथ दिएको छ । पाण्डेका छोरा र पत्नीले पनि सुकुमबासीको बन्दोबस्तका लागि सघाइरहेका थिए ।
चार वर्षअघि त्रिपुरा सुन्दरी होटल खोलेका पाण्डेले आफू समाजसेवी भएको र मानवीयताका हिसाबले सुकुमबासीहरूलाई खान, बस्न दिएको बताए । ‘राज्यले सुकुमबासीहरूलाई कुनै व्यवस्था नगरे पनि म एक महिनासम्म निःशुल्क राख्छु,’ पाण्डेले भने । हाल उनको होटलमा १६ जनाले आश्रय लिइरहेका छन् ।
_VqyOfgHqT3.jpg)
काठमाडौँ होटल एण्ड लजमा आइतबारदेखि भोकै बस्न बाध्य विशाल राई त्रिपुरा सुन्दरीका रामसरनको साथ पाएपछि खुसी देखिन्थे । ‘आज साँच्चिकै घरबारबिहीन महसुस भयो,’ शारीरिक रुपमा असक्त राईले भने, ‘रामसरन जस्ता मनकारी मानिस भेटिँदा राहत मिलेको छ ।’
सुगर, प्रेसर, दमकी रोगी अनिता श्रेष्ठले लजमा बस्दा पीडादायी रात गुजारेको दुखेसो पोखिन् । थापाथली बस्तीमा रहँदा उनले आफ्ना छोराछोरी कुपन्डोल प्रगति स्कुलमा भर्ना गरेकी थिइन् । सन्तानहरूको भविष्यका बारेमा उनी निकै चिन्तित देखिन्थिन् । होटलमा बन्दीजस्तो जीवन बिताउनु परेको र ज्यालादारी काम पनि गुमेको भन्दै दुखेसो गरिन् । सरकारले दिएको रकमले व्यवस्थापनका लागि एकदमै जटिल भएको उनको भनाइ छ ।
_2DZNaEWACn.jpg)
७० वर्षीय नरमाया परियारले अहिले सम्म पुनर्स्थापनाका लागि दिने भनिएको रकम नपाएको गुनासो गरिन् । प्रभु बैंकमा खाता खोल्न लगाएर अहिलेसम्म पैसा नदिएको उनले बताइन् ।
वैशाख १२ गते घर टहरामा डोजर चलेपछि सुकुमबासीहरूलाई गोंगबुका हामी दाजुभाई गेस्ट हाउस, त्रिपुरा सुन्दरी होटल एण्ड लज, बिगबुल होटल, स्मारिका होटल, काठमाडौँ होटल एण्ड लज, जयकृष्ण होटल, लुम्बिनी होटलमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण