मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीले अध्यक्ष पद छाड्नु नै पुनर्गठनको प्रारम्भ हो : सिंह

मङ्गलबार, २३ असार २०८३, १७ : ३८
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरबिन्द सिंहले निर्वाचन अवधिभर पार्टी अध्यक्ष र आसेपासेहरूको अभिव्यक्तिले चुनाव हार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई मङ्गलबार सुझाव दिँदै सिंहले यस्तो बताएका हुन् । 

‘गुइँठा र छाउरा’ अभिव्यक्तिले मधेसमा हामीलाई पुरै रक्षात्मक बनायो’ सिंहले प्रश्न गर्दै भने, ‘जेनजी आन्दोलनमा हत्याहिंसा र नरसंहारको अभियोग लागेका पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा पुनः अगाडि सार्नु कति वस्तुनिष्ठ थियो ?’ 

उनले निर्वाचनमा पार्टी अध्यक्षको भूमिका निर्वाचन परिचालनको क्षेत्रीय संयोजक जस्तो देखिएको भन्दै आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्त जानै नसक्ने अवस्था कसरी निर्माण भयो ? भन्दै प्रश्न समेत गरे ।

वर्तमान पार्टी सञ्चालनमा देखिएका समस्याका कारणहरूमा ठुला र भद्दा कमिटी हुनु, निर्देशित र नियन्त्रित कमिटी प्रणाली रहनु तथा आधारभूत तहका नेता कार्यकर्ता र आम जनताका कुरामा बेवास्ता गर्दै फर्जी रिपोर्टिङ गर्नेहरूलाई जिम्मेवारीमा ल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । 

‘त्यसैले पार्टी अध्यक्ष केपी ओलीले किन्तुपरन्तु नगरीकन पार्टी नेतृत्व छोड्नु नै अहिलेको लागि नेकपा एमालेको पुनर्गठनको प्रारम्भ हो’, सिंहको भनाइ थियो । एमाले कार्यदलले जेठ ३० गतेबाट सुरु गरेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारेको आज असार २३ गते अन्तिम दिन केन्द्रीय सल्लाहकारहरूसँग सुझाव सङ्कलन गरेको थियो । 

केन्द्रीय सल्लाहकारहरू उषाकिरण तिम्सिना, केशव बडाल, अमृत बोहोरा, युवराज ज्ञवाली, गुरु बराल, वैद्यनाथ चौधरी र लक्ष्मी पोखरेल लगायतले आआफ्नो सुझाव राखेका थिए । ती मध्ये पोखरेलबाहेक अरू सबैले पार्टी पुनर्गठन अनिवार्य रहेको सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप