मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने

मङ्गलबार, २३ असार २०८३, १८ : २३
मङ्गलबार, २३ असार २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि फेरि व्यक्तिगत टिप्पणी गरेपछि इटाली सरकारले त्यसको प्रतिउत्तर नदिने बरु दुई देशबिचको सम्बन्ध जोगाउने नीति लिएको जनाएको छ ।

पछिल्ला साताहरूमा ट्रम्प र मेलोनीबिच आरोप–प्रत्यारोप चलेपछि दुवै देशबिचको सम्बन्धमा केही तनाव देखिएको छ । यद्यपि इटालीका मन्त्रीहरूले द्विपक्षीय सम्बन्धलाई असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

एक समय मेलोनीलाई ट्रम्पको निकट सहयोगीका रूपमा हेरिन्थ्यो । तर गत महिना ट्रम्पले इटालीको टेलिभिजन च्यानल ला–सेत्ते (एलए– ७)लाई दिएको अन्तर्वार्तामा मेलोनीले फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा आफूसँग फोटो खिच्न ‘मरिहत्ते गरेकी’ थिइन् भनेर दाबी गरेपछि सम्बन्धमा चिसोपना आएको थियो । 

मेलोनीले उक्त दाबीलाई अस्वीकार गर्दै ट्रम्पले झूटो कथा बनाएको आरोप लगाएकी थिइन् । मंगलबार र बुधबार टर्कीको अङ्कारामा हुने नेटो शिखर सम्मेलनमा दुवै नेता सहभागी हुँदैछन् । सम्मेलनअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा मेलोनीले आफूलाई माथि हेर्दै गरेको एउटा तस्बिर पोस्ट गर्दै त्यसमा ‘नजिकिन रोक लगाउन निशेधाज्ञा आवश्यक छ’ भन्ने व्यंग्यात्मक टिप्पणी गरेका थिए । 

ट्रम्पको यो पछिल्लो टिप्पणीले मेलोनीले कस्तो प्रतिक्रिया दिने हुन् भन्ने चासो बढाएको छ । यसले नेटो सम्मेलनमा सहयोगी राष्ट्रहरूबिच थप तनाव सिर्जना हुन सक्ने अनुमान गरिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो तायानीले भने रोम सरकार ट्रम्पको उक्साहटमा नफस्ने र ह्वाइट हाउसमा जोसुकै राष्ट्रपति भए पनि अमेरिकासँग राम्रो सम्बन्ध कायम राख्ने पक्षमा रहेको स्पष्ट पारे ।

उनले इटालीको ला स्टाम्पा दैनिकसँग भने, ‘ट्रम्प आफ्नै तर्फ अनुसार बोल्छन् । उनी सामाजिक सञ्जालमा विशेषगरी उत्तेजक टिप्पणी गर्न रुचाउने अमेरिकी राष्ट्रपति हुन् । हामीले यस्ता टिप्पणीको जवाफ दिन छोड्ने निर्णय गरेका छौँ, मुस्कानसहित अभिवादन गर्नेछिन् ।’ 

रक्षामन्त्री गुइडो क्रोसेट्टोसहित सरकारका अन्य वरिष्ठ अधिकारीहरूले पनि यस्तै धारणा व्यक्त गरेका छन् । उता मेलोनीको कार्यालयले अङ्कारामा ट्रम्पसँग भेट हुँदा प्रधानमन्त्रीले कस्तो व्यवहार गर्ने भन्ने विषयमा कुनै टिप्पणी गरेको छैन । 

तर मेलोनीनिकट एक स्रोतले नाम नखुलाउने सर्तमा उनले ट्रम्पलाई बेवास्ता नगर्ने र बरु ‘मुस्कानसहित अभिवादन गर्ने’ बताए । स्रोतका अनुसार मेलोनीलाई यस्ता परिस्थितिसँग कसरी जुध्ने भन्ने राम्रोसँग थाहा छ ।
मेलोनी एक समय ट्रम्पकी खुला समर्थक थिइन् । उनी सन् २०२५ मा ट्रम्पको शपथग्रहण समारोहमा सहभागी हुने एकमात्र युरोपेली नेतृ थिइन् । समान दक्षिणपन्थी राजनीतिक दृष्टिकोणका आधारमा उनले ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउन खोजेकी थिइन् ।

तर यस वर्ष इरानसँगको द्वन्द्वबारे पोप लियोले गरेको आलोचनामाथि ट्रम्पले आक्रामक प्रतिक्रिया जनाएपछि मेलोनीले सार्वजनिक रूपमा ट्रम्पको आलोचना गरेकी थिइन् । त्यसपछि ट्रम्पले मेलोनीमाथि ‘साहसको अभाव रहेको’ आरोप लगाएका थिए । 

दुवै नेताबिच सार्वजनिक विवाद भएपछि इटालीका सञ्चारमाध्यमहरूले सरकारले अमेरिकाको स्वतन्त्रता दिवसको परम्परागत समारोह बहिष्कार गर्न सक्ने अनुमान गरेका थिए । तर सद्भावको संकेतस्वरूप गत साता रोमस्थित अमेरिकी राजदूतको निवासमा आयोजित समारोहमा इटाली सरकारका धेरै वरिष्ठ अधिकारी सहभागी भएका थिए ।

ट्रम्पको पछिल्लो टिप्पणीको इटालीमा व्यापक आलोचना भएको छ । विपक्षी दलका केही नेताहरूले समेत मेलोनीप्रति ऐक्यबद्धता जनाएका छन् । इटालीको दैनिक पत्रिका इल फोग्लियोले पनि मंगलबारको पहिलो पृष्ठमा ट्रम्पको टिप्पणीको व्यंग्य गर्दै ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै रहेको तस्बिर प्रकाशित गरेको छ । त्यसमा पनि उस्तै क्याप्सन लेखिएको छ– ‘निषेधाज्ञा आवश्यक छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप