बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

बुधबार, २४ असार २०८३, ०० : ००
बुधबार, २४ असार २०८३

रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा पाठकवृन्दलाई स्वागत छ । 

  • अर्जेन्टिनाको चमत्कार, रोए मेस्सी

फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध सानदार पुनरागमन जित निकालेपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मैदानमै रोएका छन्।

 ७८ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनालाई १३ मिनेटको अन्तरालमा ३ गोल गर्दै जित दिलाएपछि मेस्सी निकै भावुक बनेका हुन्।

  • नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी  कसुर ठहर भएका छन् । सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ ।

  • विद्युत् अनियमित समस्या

देशभर झ्याप्प–झ्याप्प बिजुली जाने समस्या अत्याधिक बढेको छ । आम उपभोक्ताहरू यसरी बत्ती जाने समस्याले हैरान भइरहेक छन् । नेपालमा लोडसेडिङ इतिहास भइसक्यो तर गुणस्तरीय विद्युत् नभएको गुनासो बढेको बढ्यै छ ।   

  • रास्वपा विधान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संशोधित विधानलाई लिएर गम्भीर प्रश्न उठेको छ । खासगरी सभापतिको निर्देशन पालना नभए संसदीय दलको नेता पदमुक्त हुने प्रावधानलाई लिएर गम्भीर प्रश्न उठेको हो ।

  • सशस्त्र प्रहरी स्कुलको रकम हिनामिना प्रकरण

कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्कुलमा लेखापालको रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ र काभ्रेको मंगलटार घर भएका लिला बहादुर लामा तामाङ अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् ।

  • सदाचार नीति 

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता र नैतिक विचलनलाई नियन्त्रण गर्दै सुशासन कायम गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ नीति ल्याएको छ ।  असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत नीतिले सार्वजनिक निकायदेखि निजी क्षेत्र, गैरसरकारी संस्था र राजनीतिक दलसम्मका लागि कडा आचरण र मापदण्ड तय गरेको छ ।

  • मौद्रिक नीति

 नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । यस अनुसार आगामी वर्ष मुद्रास्फीतिको लक्ष्यलाई ५.५ प्रतिशत सीमाभित्र राख्ने, निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार र १४ प्रतिशतको विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण गरिएको छ।

  • राष्ट्रिय सभा

प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरेका थिए ।

  • कीटजन्य विशेषज्ञ

 नेपालमा औंलो, डेंगु, स्क्रब टाइफस, जापानीज इन्सेफ्लाइटीस, कालाजार, हात्तीपाइले र चिकनगुनियाजस्ता कीटजन्य रोगहरूको पहिचान र नियन्त्रण गर्ने प्राविधिक जनशक्ति ‘इन्टोमोलोजिस्ट’ (कीट विशेषज्ञ) को चरम अभाव देखिएको छ ।

  • लेखा समिति

 सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्दा एजेन्डाहरू स्पष्ट थिए– समितिको आन्तरिक कार्यविधि पारित गर्ने र देशको बेरुजुमाथि छलफल गर्न पाँचवटा उपसमिति गठन गर्ने । तर, बैठकको सुरुवाती सौहार्द्रता तब खण्डित भयो, जब उपसमितिको नेतृत्व (संयोजक) चयनको विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दलीय इगो र ‘पावर स्ट्रगल’ सुरु भयो ।

  • कार्यदलकाे औचित्य

‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ को औचित्य र वैद्यतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दल कार्यदलबाट बाहिरिएका छन् । सरोकारवालाहरूसँग सुझाव सङ्कलन गरेर प्रतिवेदन लेखनको काम अन्तिम अवस्थामा पुगेका बेला कार्यदलमा रहेका चार वटा प्रमुख राजनीतिक दलले कार्यदलकै औचित्य र वैद्यतामाथि प्रश्न तेर्स्याउँदै बहसपत्र तयार गर्ने क्रममा सहभागी हुन नसक्ने बताएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप