बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी

बुधबार, २४ असार २०८३, ०८ : ४५
बुधबार, २४ असार २०८३

सारांश

  • पाकिस्तानको कराँची नजिक समुद्री क्षेत्रमा सम्पर्कविहीन भएको बोइङ ७३७ कार्गो विमानको खोजी कार्य भइरहेको छ ।
  • विमानमा पाँच जना चालकदलका सदस्य सवार थिए र यसले शारजाहबाट कराँचीतर्फ उडान भरेको थियो ।
  • नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी गराएपछि विमान हवाई यातायात नियन्त्रण कक्षसँग सम्पर्कविहीन भएको थियो ।

इसलामाबाद । पाकिस्तानको दक्षिणी सहर कराँची नजिक समुद्री क्षेत्रमा सम्पर्कविहीन भएको एउटा कार्गो विमानको खोजी कार्य भइरहेको छ ।

विमानमा पाँच जना चालकदलका सदस्य सवार रहेको पाकिस्तानी उड्डयन अधिकारीहरूले बताएका छन् । पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार बोइङ ७३७ कार्गो विमान मंगलबार राति स्थानीय समयअनुसार ९ः२१ बजे तेज गतिमा झरेर हवाई यातायात नियन्त्रण कक्षसँगको सम्पर्कबाट बाहिरिएको थियो । उक्त विमान संयुक्त अरब इमिरेट्सको शारजाहबाट कराँचीतर्फ उडिरहेको थियो ।

प्राधिकरणका अनुसार सम्पर्क टुट्नुभन्दा केही मिनेटअघि विमानले आफ्नो नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी गराएको थियो । सम्पर्कविहीन विमान के–टु एयरवेज नामक कराँचीस्थित निजी कार्गो वायुसेवाले सञ्चालन गरिरहेको थियो ।

बुधबार जारी विज्ञप्तिमा विमानमा रहेका पाँचै जना चालकदल सदस्यको परिचय सार्वजनिक गर्दै कार्गो कम्पनीले खोजी तथा उद्धार कार्यमा पाकिस्तान नागरिक उड्डयन प्राधिकरण र अन्य सरकारी निकायसँग पूर्ण सहयोग गरिरहेको जनाएको थियो ।

उडान निगरानी गर्ने प्लेटफर्म फ्लाइटराडार२४को प्रारम्भिक तथ्यांकअनुसार विमानको उडान उचाइमा असामान्य उतारचढाव देखिएपछि अचानक तीव्र रूपमा तल झरेको थियो । हराइरहेको विमानको खोजीका लागि पाकिस्तान नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकाय परिचालन गरिएको विमानस्थल प्राधिकरणले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप