बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

रोनाल्डो मोहले निम्त्याएको पोर्चुगलको विश्वकप दुर्घटना

बिहीबार, २५ असार २०८३, १२ : ३०
बिहीबार, २५ असार २०८३

सारांश

  • पोर्चुगलले रोबर्टो मार्टिनेज र क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा विश्वकप जित्ने सुनौलो अवसर गुमाएको छ।
  • प्रशिक्षक मार्टिनेजले रोनाल्डोलाई टोलीभन्दा माथि राखेको र खेलाडी छनोटमा रोनाल्डो र अरू १० जनाको नीति अपनाएको आरोप छ।
  • रोनाल्डोको प्रदर्शन र व्यवहारले उनको विरासतलाई धमिलो पारेको छ र उनी टोलीका लागि बोझ बनेका थिए।

पोर्चुगलले रोबर्टो मार्टिनेज र क्रिस्टियानो रोनाल्डोलाई एउटा ‘स्वर्णिम पुस्ता’ को विश्वकप जित्ने सुनौलो अवसर खेर फाल्न दिनु हुँदैनथ्यो।

वेन रुनीले विश्वकपमा क्रिस्टियानो रोनाल्डोको अन्तिम उपस्थितिलाई ‘फुटबलका लागि एक दुखद दिन’ भनेर वर्णन गरे। तर, वास्तवमा त्यस्तो थिएन। 

रोनाल्डो खेलकुदको इतिहासमै सबैभन्दा प्रतिष्ठित व्यक्तित्वमध्ये एक हुन सक्छन्। तर, फिक्का देखिएको पोर्चुगलमाथि स्पेनको जित र बेल्जियमले अमेरिकालाई नराम्ररी हराएको सन्दर्भलाई सँगै राखेर हेर्दा जुलाई ६, २०२६ को दिन फुटबल खेलका लागि निकै राम्रो दिन थियो।

पक्कै पनि, यसको अर्थ रोनाल्डोको विश्वकप जित्ने ‘सपना’ मरेकोमा विश्वभरका लाखौँ प्रशंसकहरू निराश थिएनन् भन्ने होइन। कतार २०२२ को व्यक्तिगत विपत्तिपछि उनलाई पनि आफ्ना लागि सबै कुरा सकियो भन्ने लागेको थियो। 

तर ४१ वर्षको उमेरमा छैटौँ पटक विश्वकप खेल्न सफल हुनु वस्तुगत रूपमा उनको एक अविश्वसनीय उपलब्धि हो, जसले उनको उल्लेखनीय लगनशीलता र चर्चित फिटनेस दिनचर्यालाई प्रमाणित गर्छ।

आफ्ना म्यानचेस्टर युनाइटेडका पूर्वसहकर्मीका बारेमा बीबीसी स्पोर्टमा बोल्दै रुनीले भनेका थिए, ‘उनी एक प्रतिभाशाली खेलाडी हुन्, एक सुपरस्टार हुन्। उनले फुटबललाई जे दिएका छन्, त्यो निकै दुर्लभ छ। उनी निराश हुनेछन् किनभने यो प्रतियोगिता जित्न सक्ने कुरामा उनलाई विश्वास थियो।’

यद्यपि, त्यो विश्वास राख्ने अर्को एक मात्र व्यक्ति रोबर्टो मार्टिनेज थिए। अनि पोर्चुगल चाँडै बाहिरिनुको सबैभन्दा दुखद पक्ष नै यही हो, जहाँ एक व्यक्तिलाई टोली र समग्र राष्ट्रको हितभन्दा माथि आफ्नो व्यक्तिगत स्वार्थलाई राख्ने छुट बारम्बार दिइयो।

martinez

  • पागलपन

आखिर, आर्लिङ्टनमा पोर्चुगलको अन्तिम-१६ को सुस्त बहिर्गमनमा अचम्म मान्नुपर्ने कुरा केही थिएन। यो त पहिल्यै अनुमान गरिएको थियो।

पोर्चुगलको विश्वकप अभियान आँसु, तिक्तता र घोर अव्यवस्थाको आरोपसँगै टुंगिने निश्चित थियो, किनभने युरो २०२४ को अन्त्य पनि ठीक त्यसैगरी भएको थियो। आखिर, एउटै गल्ती बारम्बार दोहोर्‍याउनु नै पागलपन हो भने मार्टिनेज पक्कै पनि एक सनकी हुन्।

नतिजास्वरुप, स्पेनसँगको हारमा गोन्कालो रामोसलाई पूरै समय बेन्चमा राख्ने निर्णय स्तब्ध पार्ने खालको हुनुपर्ने भए तापनि, यो मार्टिनेजको खेलाडी छनोट नीतिकै निरन्तरता थियो: रोनाल्डो र अरू १० जना।

क्रोएसियाविरुद्ध पोर्चुगलको भाग्यमानी २-१ को जितमा रामोसले बेन्चबाट आएर विजयी गोल गरेका थिए। तर, मार्टिनेजले रोनाल्डोलाई छोडेर २५ वर्षीय रामोसलाई रोज्ने कुनै सम्भावना नै थिएन।

  • विनाशकारी अभियान

अर्को राष्ट्रको ‘स्वर्णिम पुस्ता’ लाई सम्हाल्ने जिम्मेवारी पाएको क्षणदेखि नै बेल्जियमका यी पूर्वप्रशिक्षकले रोनाल्डो नै आफ्नो मुख्य मान्छे भएको कुरा प्रस्ट पारेका थिए। मार्टिनेजले सबैभन्दा पहिले साउदी अरब पुगेर ती भेट्रान फरवार्डलाई उनकै वरिपरि टोली निर्माण गर्ने मनसाय व्यक्त गरेका थिए। यद्यपि, २०२२ को विश्वकपमै रोनाल्डो अब उच्च स्तरको खेलमा चल्न सक्दैनन् भन्ने कुरा छर्लङ्ग भइसकेको थियो।

ronaldo (6)

यसको नतिजा युरो २०२४ को विनाशकारी अभियानको रूपमा देखियो, जहाँ जर्मनीमा रोनाल्डोले कीर्तिमानी २३ वटा सट प्रहार गर्दा पनि एउटै गोल गर्न सकेनन्।

पोर्चुगिज फुटबल फेडेरेसन (एफपीएफ) ले त्यतिबेलै मार्टिनेजलाई बर्खास्त गर्नुपर्थ्यो। तर, ती निर्णय क्षमताविहीन स्पेनिस प्रशिक्षकलाई नै टोली हाँक्न दिइयो। पोर्चुगलका लागि रोनाल्डो पहिल्यै निष्क्रिय यात्री बनिसकेका कारण यसपालिको गर्मीयामको यो दुर्घटना निकै हदसम्म अनुमानयोग्य थियो।

  • ‘म फर्किएँ! म फर्किएँ!’

प्रतियोगिताको उद्घाटन खेलमा डिआर कंगोसँग ०-० को बराबरी खेलेको पोर्चुगलका लागि चेतावनीका संकेतहरू सुरुवातदेखि नै देखिएका थिए।

उज्वेकिस्तानविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले गर्वका साथ घोषणा गरेका थिए, ‘म फर्किएँ! म फर्किएँ!’ तर, कोलम्बियाविरुद्धको पोर्चुगलको अर्को कमजोर प्रदर्शनमा उनी फेरि हराए।

ronaldo (5)

क्रोएसियाविरुद्धको पेनाल्टीले उनलाई विश्वकपको नकआउट चरणमा आफ्नो पहिलो गोल गर्ने अवसर त दियो। तर, उनी अग्रपङ्क्तिमा यति प्रभावहीन देखिए (त्यो पेनाल्टी नै त्यस साँझ पेनाल्टी बक्सभित्र उनको एक मात्र टच थियो), जसका कारण खेल अतिरिक्त समयमा धकेलिने पक्कापक्की देखिँदा मार्टिनेजले अन्तिम समयमा उनलाई मैदानबाट बाहिर निकाल्नुको विकल्प देखेनन्। त्यसपछि रामोसले सानदार हेडरमार्फत गोल गर्दै खेल जिताए।

  • ‘वितेका २३ वर्षदेखि मलाई सिध्याउन खोज्दैछन्’

आफ्नो खेल जीवनबाट संन्यास लिने बेला भइसकेको भन्ने खालका सुझावहरूबाट रोनाल्डो निकै चिढिएका थिए। आफ्ना उपलब्धिमाथि निरन्तर प्रहार भएको महसुस गर्दै उनले प्रतिवाद गरे।

‘मैले विश्वकप जितेँ भन्दैमा म क्रिस्टियानो रोनाल्डो बढी वा घटी हुनेवाला छैन,’ उनले भने, ‘४० वर्ष पुगेपछि मैले महसुस गरेको आलोचनाका लागि म त धन्यवाद नै भन्छु... आलोचनाबाट नै तपाईं अघि बढ्नुहुन्छ, त्यसैले यसो गरिदिएकोमा धन्यवाद।’

ronaldo (4)

उनले थपे, ‘भोलि जे सुकै होस्, क्रिस्टियानो रोनाल्डोको मन सफा रहनेछ, १०० प्रतिशत होइन, १,००० प्रतिशत। किनभने जीवन र फुटबलमा मैले आफ्नो सबै कुरा दिएको छु। तपाईंहरूले वितेका २३ वर्षदेखि मलाई सिध्याउन खोज्नुभएको छ, तर यो काम बेकार हो, समयको बर्बादी मात्र हो भन्ने तपाईंहरूले देखिसक्नुभएको हुनुपर्छ। तैपनि तपाईंहरू प्रयास गरिरहनुहुन्छ, गरिरहनुहुन्छ। मैले पहिले पनि भनेझैँ, म तब रोकिन्छु जब म चाहन्छु, तब होइन जब तपाईंहरू चाहनुहुन्छ।’

रोनाल्डोले किन आफूले बढी सम्मान पाउनुपर्छ भन्ने महसुस गरे, त्यो पक्कै पनि बुझ्न सकिन्छ। अनि यो पनि औँल्याउनुपर्छ कि फुटबल इतिहासकै महान् गोलकर्तामध्ये एकको रूपमा उनको स्थानमाथि कुनै प्रश्न उठाउन सकिन्छ। 

यद्यपि, उनको अन्तर्राष्ट्रिय करियरका अन्तिम तीन प्रतियोगितामा उनको प्रदर्शन र व्यवहारले उनको विरासत र प्रतिष्ठालाई पक्कै पनि धमिलो पारेको छ। किनभने उनलाई ती अन्तिम चार वर्षमा टिमलाई फाइदाभन्दा बढी बेफाइदा पुर्‍याएको रूपमा सम्झिनेछ।

  • वरदानबाट बोझसम्म

रोनाल्डोको वरपर टिम बनाउने कुरा पूर्णतया बुझ्न सकिने थियो— तर एउटा निश्चित समयसम्म मात्र। उमेरले रोनाल्डोलाई उत्तर अमेरिकामा भेट्टाएको होइन, सन् २०२२ देखि नै उमेर उनको पकडमा छ, यदि त्योभन्दा अघिदेखि होइन भने। 

ronaldo (3)

फलस्वरुप, रोनाल्डो एक समय टिमलाई काँधमा बोक्ने खेलाडी थिए, पछि उनी आफैँ टिमका लागि बोझ बने। सन् २०१६ मा युरो कप जितेयता विश्वकप वा युरो कपको सेमिफाइनलमा पनि पुग्न नसक्नुले यसलाई पूर्ण रूपमा पुष्टि गर्छ।

के ब्रुनो फर्नान्डेज जस्ता प्रमुख खेलाडीहरूले विश्वकपमा आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् ? निस्सन्देह, सकेनन्। तर जब एउटै टिमका धेरै उत्कृष्ट प्रतिभाहरू खराब प्रदर्शन गर्छन्, तब प्रशिक्षक र उनका वास्तविक सहायकमाथि प्रश्न उठाउनै पर्छ।

यति बलियो पोर्चुगिज टोलीले युरो २०२४ र त्यसपछि विश्वकपमा पनि यस्तो खराब प्रदर्शन गर्नुको कुनै माफी छैन।

ronaldo (2)

  • राम्रो प्रशिक्षक पाउनुपर्थ्यो

रुबेन डियाज, नुनो मेन्डेज, भिटिन्हा, जोआओ नेभेस र फर्नान्डेज, यी सबैले आ–आफ्नो स्थानमा विश्वकै उत्कृष्ट वा उत्कृष्टमध्येका खेलाडी दाबी गर्न सक्छन्, तर कोही पनि आफ्नो सामान्य स्तरको नजिक पनि पुगेनन्। किन?

प्रशिक्षक मार्टिनेज आफैँले पनि स्वीकार गरे कि पोर्चुगलसँग विश्वकप जित्न सक्ने टोली थियो र अब उनी त्यसमा असफल भएकाले, ‘त्यहाँ रहिरहनुको कुनै अर्थ छैन।’

साँचो कुरा भन्नुपर्दा, यदि उनको एक मात्र ध्यान विजेता टोली बनाउनुको सट्टा एक सुपरस्टारलाई खुसी पार्नुमा थियो भने, उनलाई सुरुमै नियुक्त गर्नुको कुनै अर्थ थिएन। मार्टिनेजको कार्यकाल मूलतः समयको बर्बादी थियो, र खेलाडीहरूको एउटा महान् समूहको पनि। बर्नान्डो सिल्भा र टिमले अझ राम्रो, अझ बलियो व्यवस्थापक पाउनुपर्थ्यो। र रोनाल्डोले पनि त्यस्तै प्रशिक्षक पाएको भए राम्रो हुन्थ्यो।

यदि उनलाई सानो भूमिका स्वीकार गर्न मनाउन सकिएको भए, उनी वास्तवमा पोर्चुगलका लागि खेलमा प्रभाव पार्न सक्ने उपयोगी वैकल्पिक खेलाडी (सुपर सब) हुन सक्थे। त्यसको सट्टा, उनलाई यति धेरै छुट दिइयो कि उनले खेलको सबैभन्दा ठूलो मञ्चमा फेरि एकपटक आफैंलाई लज्जित बनाए। त्यस अर्थमा, उनको ढिलो भएको अन्तर्राष्ट्रिय बहिर्गमन पोर्चुगलका लागि त्यस्तो दुःखाद दिन पनि थिएन। रोनाल्डोले आफ्नो स्वर्णिम वर्षहरूमा उनीहरूलाई दिएको योगदानप्रति कृतज्ञताका बिच, उनको बिदाइ वास्तवमा एक राहतको रूपमा आएको थियो।

गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मार्क डोयल
मार्क डोयल
लेखकबाट थप