स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
सारांश
- इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले बेन स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि आईसीसीले नियम मिचेको आरोपमा पत्र पठाएको छ।
- आईसीसीले टेस्ट क्रिकेटको भ्रष्टाचार विरोधी कोडसँग सम्बन्धित नियम उल्लङ्घन भएको भन्दै ईसीबीलाई लिखित पत्र पठाएको छ।
- खेल चलिरहेकै समयमा ड्रेसिङ रुमको भिडियो सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय खेलहरूमा खेलाडी र खेल अधिकारीहरूको क्षेत्र (पीएमओए) को मापदण्ड विपरीत मानिन्छ।
लण्डन । ट्रेन्ट ब्रिज टेस्टका दौरान कप्तान बेन स्टोक्सले टोलीका साथीहरूसँग संन्यासको कुरा साटेको भिडियो पोस्ट गरेपछि इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) विवादमा परेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट क्रिकेटको भ्रष्टाचार विरोधी कोडसँग सम्बन्धित नियम उल्लङ्घन गरेको भन्दै ईसीबीलाई लिखित पत्र पठाएको छ।
स्टोक्सले न्युजिल्याण्ड विरुद्धको हालैको खेलमा बलिङ गरिरहेकै समयमा संन्यासको घोषणा गरेर सबैलाई अचम्ममा पारेका थिए। खेलको चौथो दिन चियापान समयभन्दा १५ मिनेट अघि ईसीबीले उक्त समाचार सार्वजनिक गरेको थियो। समाचारसँगै ईसीबीले स्टोक्सले सोही बिहान खेल सुरु हुनुअघि ड्रेसिङ रुममा टोलीका साथीहरूलाई संन्यासको जानकारी दिँदै गरेको भिडियो पनि सार्वजनिक गरेको थियो।
बीबीसीका अनुसार खेल चलिरहेकै समयमा ड्रेसिङ रुमको भिडियो सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय खेलहरूमा खेलाडी र खेल अधिकारीहरूको क्षेत्र (पीएमओए) को मापदण्ड विपरीत मानिन्छ। भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको पिएमओए नियमको धारा २.२.११ अनुसार कुनै पनि टोलीले अडियो वा भिडियो प्रसारण गर्ने उद्देश्यले ड्रेसिङ रुमभित्र कुनै पनि प्रकारको क्यामेरा वा रेकर्डिङ उपकरण राख्न पाउँदैनन्।
आईसीसीले खेल समाप्त हुनुअघि ड्रेसिङ रुमको कुनै पनि अडियो वा भिडियो सार्वजनिक नगर्न ईसीबीलाई पहिले नै जानकारी गराएको बुझिएको छ। यस विषयमा ईसीबीले कुनै टिप्पणी गर्न अस्वीकार गरे पनि उसले सजाय पाउने सम्भावना भने न्यून रहेको बताइएको छ।
स्टोक्सले आफ्नो संन्यासको घोषणा कसरी गर्ने भन्ने जिम्मेवारी व्यवस्थापन टोलीलाई दिएका थिए। संन्यासको खबर सार्वजनिक भएपछिको पहिलो बलमै उनले विकेट लिएका थिए भने दोस्रो इनिङ्समा ब्याटिङ गर्दै ३० रन बनाए। यद्यपि, सो खेलमा इंग्ल्याण्ड न्युजिल्याण्डसँग भारी अन्तरले पराजित भयो।
भिडियोमा स्टोक्सले आफ्ना साथीहरूलाई भनेका छन्, ‘यो मेरो कप्तान र खेलाडीका रूपमा अन्तिम दुई दिन हो। म यति मात्र चाहन्छु कि खेलको नतिजा जे सुकै भए पनि मैदानबाट बाहिरिँदा यो टोलीले आफ्नो शतप्रतिशत दियो भन्ने मलाई लागोस्। बाँकी भावनाहरू खेल सकिएपछि साटौँला, अहिले काम गर्ने समय हो।’
स्टोक्सको संन्यासपछि इंग्ल्याण्डको नयाँ कप्तान बन्ने दौडमा ह्यारी ब्रुक सबैभन्दा अगाडि देखिएका छन्। ब्रुककै कप्तानीमा रहेको इंग्ल्याण्डको ह्वाइट–बल टोलीले अहिले भारत विरुद्धको टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण