बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

बिहीबार, २५ असार २०८३, १३ : ३४
बिहीबार, २५ असार २०८३

सारांश

  • संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
  • भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ ।
  • व्यापार, लगानी, एआइ, डिजिटल रूपान्तरण, पर्यटन, श्रम बसाइँसराइ, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा लगायतका विषयमा छलफल भएको छ ।

काठमाडौँ । संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

विशेषगरी व्यापार, लगानी, एआइ, डिजिटल रूपान्तरण, पर्यटन, श्रम बसाइँसराइ, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा लगायतको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

युएईको ‘सोभरेन वेल्थ फन्ड’ मार्फत नेपालमा लगानी वृद्धि गर्ने विषयमा पनि दुई पक्षको बिचमा कुराकानी भएको बताइएको छ । परराष्ट्र मन्त्री खनालले दुई देशबिचको मित्रता र बढ्दो सहकार्यको बारेमा आफ्नो धारणा राखेका थिए । छलफलमा उनले नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भइसकेको नेपाली नागरिकहरूको प्रहरी प्रतिवेदनलाई युएई सरकारले पुनः प्रमाणीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई हटाएर प्रक्रिया सहज बनाइ दिन आग्रह गरेको जनाएको छ ।  

नेपाल र युएईबिच स्थापना हुन लागेको कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीलाई विशेष उत्सवको रूपमा मनाउने सरकारको योजना रहेको जानकारी मन्त्री खनालले गराएका थिए । 

सो अवसरलाई विशेष बनाउन नेपालका विभिन्न विकास आयोजनाहरूमा युएईको लगानी भित्र्याउन नेपालको चाहना रहेको मन्त्री खनालले उल्लेख गरेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप