‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
सारांश
- अभिनेत्री सिमरन खड्का 'गौंथली' फिल्ममा बालविवाह र घरेलु हिंसाको सामना गर्ने एक संघर्षशील ग्रामीण युवतीको भूमिकामा देखिएकी छन् ।
- छायांकनका क्रममा बालविवाहको वास्तविक अवस्थाले आफूलाई ठूलो धक्का दिएको र भावनात्मक रूपमा कष्ट भएको उनले बताइन् ।
- सानैदेखि अभिनेत्री बन्ने इच्छा राखेकी सिमरनले नितिन चन्दको म्युजिक भिडियोबाट कला यात्रा सुरु गरेकी हुन् ।
काठमाडौँ । म्युजिक भिडियोबाट कलाकारिता सुरू गरेकी सिमरन खड्का ‘गौंथली’बाट हिरोइन बनेकी छन् । यद्यपि ‘प्रेमगञ्ज’बाटै फिल्ममा डेब्यु गरेकी भएपनि हिरोइनकै रूपमा भने ‘गौंथली’ पहिलो हो । ‘बेहुली फ्रम मेघौली’, ‘चित्र’लगायतका फिल्ममा सहभूमिका निर्वाह गरेर पनि उनले चर्चा पाएकी थिइन् ।
‘गौंथली’मा बालविवाह र घरेलु हिंसाको सामना गर्ने एक संघर्षशील ग्रामीण युवतीको भूमिकामा उनी छिन् । सिमरनसँग कलाकारिता यात्रा र नयाँ फिल्ममा केन्द्रित भएर रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
‘गौंथली’ प्रदर्शनमा आउँदै गर्दा कस्तो महसुस भइरहेको छ ?
अहिले मेरा लागि निकै व्यस्त र धपेडीपूर्ण छ । एउटा कलाकारको रूपमा यो मेरो पहिलो लिड भूमिका भएको फिल्म हो । त्यसैले मनमा थोरै डर र नर्भसनेसका साथै रिलिजलाई लिएर उत्साह र कौतुहलता छ । जब फिल्मको ट्रेलर आयो । त्यसपछि दर्शकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साह बढेको छ ।

‘गौँथली’मा कस्तो चरित्र निर्वाह गर्नुभएको छ ?
आम मानिसजस्तै इच्छा र चाहना बोकेर बाँचेकी एउटी केटी गौंथलीको भूमिकामा म छु । पढ्न पाउनुपर्छ भन्ने उनको बालविवाह, घरेलु हिंसा र अटिजम भएका श्रीमानसँगको सम्बन्धका बिच अडिएको जीवन फिल्मले देखाउँछ ।
फिल्मले बालविवाह र घरेलु हिंसाजस्ता संवेदनशील सामाजिक मुद्दा उठाएको छ । छायांकनका क्रममा भावनात्मक रूपमा कत्तिको गाह्रो भयो ?
म वास्तविक जीवनमा निकै सहज र सुखसयलको वातावरणमा हुर्किएकी हुँ । मेरो बुझाइमा बालविवाह हिजोको कथा मात्रै हो, आजको समाजमा यस्तो हुँदैन होला भन्ने थियो । तर जब हामी पोखरामा छायांकनका लागि गयौँ, त्यहाँ मैले वास्तविक जीवनमै गौंथलीजस्तै परिस्थिति भोगिरहेका तीनजना बालविवाहित युवतीहरूलाई भेटेँ । त्यसले मेरो मस्तिष्कमा ठुलो धक्का दियो ।

छायांकनका क्रममा सासूको भूमिकामा रहनुभएकी लुनिभा दिदीले मलाई भुत्ल्याउने, लडाउनुपर्ने र कुट्नुपर्ने दृश्यहरू थिए । ती दृश्यहरू दिँदा हामी दुवैलाई निकै गाह्रो हुन्थ्यो । शारीरिक रूपमा म निकै थाक्ने गर्थेँ भने मानसिक रूपमा पनि निकै पीडा हुन्थ्यो । ती दृश्यहरू सकिएपछि लुनिभा दिदीले विचरी नानी, सरी है भन्दै अङ्गालो हाल्नुहुन्थ्यो । पहिलेका महिलाहरूले कति धेरै दुःख भोगेका होलान् भनी कुरा गर्थ्यौँ । गौंथलीको भूमिका गर्दा मलाई भावनात्मक रूपमा निकै कष्ट भएको थियो ।
फिल्ममा अभिनयको सोच कहिले र कसरी पलायो ?
मलाई एकदमै सानैदेखि अभिनेत्री बन्ने तीव्र इच्छा थियो । दसैँमा टीका लगाउँदा घरका सदस्यहरूले डाक्टर वा इन्जिनियर बन्ने आशिर्वाद दिँदा म हिरोइन बन्ने आशीर्वाद दिनुहोस् भन्थेँ । मलाई कुन कुराले यो क्षेत्रतर्फ आकर्षित गर्यो, त्यो त ठ्याक्कै थाहा छैन तर मेरो चाहना सानैदेखिको हो । सुरुवात नितिन चन्दको निर्देशनमा बनेको एउटा म्युजिक भिडियोबाट गरेको हुँ ।

अहिले विश्वकप फुटबल चलिरहेको छ । फुटबल कति हेर्नुहुन्छ, तपाईं कसको फ्यान ?
मेरो घरमा म भन्दा पनि मेरी ममी फुटबलको ठुलो फ्यान हुनुहुन्छ । उहाँले फुटबल हेरेको देखेर ममा पनि यसप्रति रुचि बढेको हो । म सानैदेखि लियोनल मेसीको ठुलो फ्यान हुँ । मेरो एउटा कापीमा मैले मेस्सीका तस्बिरहरू मात्रै टाँसेर राख्ने गर्थेँ । अघिल्लो संस्करणमा अर्जेन्टिनाले विश्वकप जित्दा म अत्यन्तै खुसी भएकी थिएँ । यसपालि पोर्चुगलले जिते हुन्थ्यो भन्ने लागेको थियो तर बाहिरियो । खेलकुदले मानिसलाई मनोरञ्जन र एकताको भावना दिन्छ जस्तो लाग्छ ।
आगामी योजना के-के छन् ?
म समयको बहावसँगै बग्न रुचाउँछु । जीवनमा जे हुन्छ, राम्रैको लागि हुन्छ भन्ने मेरो विश्वास छ । त्यसैले आगामी दिनमा पनि राम्रा चरित्रहरूमा अभिनय गर्ने र दर्शकको माया पाइरहने आशा मात्र राखेकी छु ।
भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण