शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय

शुक्रबार, २६ असार २०८३, १५ : ३३
शुक्रबार, २६ असार २०८३

सारांश

  • दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ ।
  • कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरिएको छ ।
  • कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गरेको छ ।

काठमाडौँ । दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको छ । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन् । 

हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरिएको उनले बताए। उनले कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र ६०२ जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको उल्लेख गरे ।

उनले कम्बोडियाबाट नेपाल फर्कन अनिच्छुक रहेका नेपालीका आफन्तहरूलाई उनीहरूलाई अनिवार्य रूपमा नेपाल फर्कनका लागि पहल गरिदिन विशेष आह्वान गरिएको बताए । 

साथै प्रवक्ता पौडेलले आर्थिक कूटनीति सम्बन्धी कार्यक्रमहरू सरकारको प्राथमिकताको महत्त्वपूर्ण पिलरको रूपमा रहेको उल्लेख गर्दै नेपाल सरकार ’एक चीन नीति’ प्रति दृढ र प्रतिबद्ध रहेको धारणा राखे । 

त्यस्तै उनले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको स्पष्ट पारे । विभिन्न देशहरूमा राजदूत नियुक्तिको विषय हाल प्रक्रियामै रहेको र यसमा हुने प्रगतिबारे आगामी दिनमा जानकारी गराउने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप