तीन वर्षको अन्तरालमा एउटै नियति
सारांश
- तीन वर्षको अन्तरालमा इलामका प्रेमप्रसाद आचार्य र मुगुका गणेश नेपालीले क्रमशः संघीय संसद् भवन र राहदानी विभाग अगाडि आत्मदाह गरे, दुवैले देशमा इमानदारीपूर्वक गरी खान नपाएको पीडा पोखेका थिए ।
- प्रेम र गणेश दुवैको शरीरमा आगो लगाउनु राज्य संयन्त्र, नीति र व्यवहारप्रति विद्रोह थियो, जसमा उनीहरू देशभित्रै बसेर गरी खान पाउनु पर्ने माग उठाएका थिए ।
- सत्तामा पुगेपछि बालेन शाह र रवि लामिछाने जस्ता नेताहरूले विगतमा राज्यको असफलता औंल्याए पनि हाल उनीहरू गणेश नेपालीको आत्मदाह प्रकरणमा मौन बसेका छन् ।
काठमाडौँ । तीन वर्षको अन्तराल, दुई फरक भूगोल, तर एउटै नियति र एउटै चित्कार– यो देशमा इमानदारीपूर्वक गरी खान पाइएन ।
२०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाए । ठिक तीन वर्षपछि काठमाडौँकै त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले पनि सोही बाटो रोजे ।
यी दुई घटनाका पात्र फरक भए पनि उनीहरूले उठाएको मुद्दा र राज्यसँग पोखेको आक्रोशको प्रकृति भने एउटै छ । प्रेम र गणेश दुवैले आफ्नो शरीरमा लगाएको आगो एउटा व्यक्तिले गरेको आत्महत्याको प्रयास मात्र थिएन, बरु यो राज्य संयन्त्र, नीति र व्यवहारप्रति गरिएको एउटा बीभत्स विद्रोह थियो ।
उनीहरू दुवैको विद्रोह र पीडा एउटै थियो– यो देशभित्रै बसेर गरी खान पाउँ ।
पछिल्लो तीन वर्षमा चार सरकार फेरिए, कुर्सीहरू फेरिए, तर जनताको पीडा फेरिएन । २०७९ को निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो । प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको एक वर्षपछि गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण ओली सरकार ढल्यो ।
ओली सरकार ढेलेसँगै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले गराएको निर्वाचन मार्फत करिब दुई तिहाई बहुमत सहितको रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्व सरकार छ ।
सरकार र कुर्सी फेरिनु महत्त्वपूर्ण होइन, जनताको जीवन फेरिनु महत्त्वपूर्ण हो । मुलुकमा शासक र शासन फेरियो तर गरिब जनताको मुहार आशा फेरिएन । मुलुक परिवर्तन हुने र देशभित्रै गरिखान पाउने ठुलो अपेक्षा र आशाका साथ जनमत ओइरिएर बनेको सरकारले जनताकै जीवन कठिन हुने नीति अपनाएको छ ।
जनताले ठुलो विश्वास र आशा गरेको बालेन्द्र सरकारले समेत सामान्य जनताले पुरानै नियति भोग्नु पर्ने परिस्थिति बनेको छ । उक्त विषयमा यति बेला सदन सडकदेखि डिजिटल माध्यमहरूमा सरकारको व्यापक विरोध भइरहेको छ ।
- त्रिपुरेश्वरको त्यो ह्वील लक र गणेशको चुँडिएको सपना
मुगुको विकट सोरु गाउँपालिकाबाट सपना बोकेर काठमाडौँ छिरेका एक सामान्य युवक गणेश नेपाली । उनको बाँच्ने एउटै सहारा थियो— पठाओ (राइड सेयरिङ) गर्ने त्यो पल्सर मोटरसाइकल ।
बिहीबार दिउँसो १ः४५ बजे राहदानी विभागको ३ नम्बर गेटमा उनको त्यही जीवनको महत्त्वपूर्ण आधारमा महानगर प्रहरीले ह्वील लक लगाइदियो ।
_Ko5h6xwKub.jpg)
सडकको कुनामा बसेर कसैको प्रतीक्षा गरिरहेका वा केही क्षण रोकिएका गणेशका लागि त्यो लक फलामको साँचो थिएन, उनको भोक र भविष्यमाथिको ताल्चा थियो ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ‘नो पार्किङ’को कारण देखाउँदै उनको मोटरसाइकलमा ह्वील लक गरिदिएपछि विवाद सुरु भयो । प्रत्यक्षदर्शी र सार्वजनिक भिडियोका अनुसार, ड्युटीमा खटिएकी एक महिला नगर प्रहरीसँग गणेशको चर्को बहस भएको थियो ।
गणेशले सडकभन्दा बाहिरको उँचो भागमा मोटरसाइकल राख्दा पनि किन लक गरिएको भन्दै प्रश्न गरेका थिए ।
‘मान्छेलाई हेप्छ ?’ गणेशको यो प्रश्नमा आक्रोश र पीडा दुवै झल्किन्थ्यो । नगर प्रहरीले उनलाई नियम मिचेको भन्दै हप्काइरहँदा गणेशले अरूको मोटरसाइकलमा लक नलगाएर आफ्नोमा मात्रै किन लगाएको भन्दै प्रतिवाद गरेका थिए ।
त्यही रुखो व्यवहार र गरिखाने बाटो थुनिएको झोँकमा आवेशमा आएका गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकाले, शरीरमा छर्किए र आगो सल्काए । उनको उपचारका क्रममा मुत्यु भएको छ ।
- प्रेम आचार्यको त्यो २५ बुँदे मृत्युपत्र
गणेश नेपालीको यो कदमले तीन वर्षअघिको त्यो भयावह दृश्य सम्झाइदिएको छ, जतिबेला ३६ वर्षीय प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेका थिए । प्रेमप्रसादले पनि कुनै अपराध गरेका थिएनन् । उनले उद्यम गर्न खोजेका थिए ।

मृत्युअघि फेसबुकमा लेखेको लामो स्ट्याटसमा प्रेमले नेपालको आर्थिक प्रणाली, व्यापारिक सिन्डिकेट र सरकारी नीतिको नग्न तस्बिर उतारेका थिए । ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म हात हालेका प्रेमले ठुला व्यापारिक घरानाहरूले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको पीडा पोखेका थिए ।
उनले उठाएका २५ बुँदे मागहरूमा भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्ने जस्ता आधारभूत कुरा थिए । उनले लेखेका थिए, ‘आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेको र त्यसका लागि सरकारी नीतिहरू दोषी छन् ।’
कुनै उपाय नदेखेपछि अन्ततः उनले आत्मदाहको बाटो रोजे ।
- सत्ता भित्र र बाहिर हुँदा फरक व्यवहार
प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा भर्खरै आफ्नो छाप छोड्दै थिए । आचार्यको मृत्युपछि बालेनले सामाजिक सञ्जालमा एउटा भावुक र आक्रोशपूर्ण पोस्ट लेखेका थिए ।
प्रधानमन्त्री बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि लेखेका थिए, ‘यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो ।’
उनले अगाडि लेखेका थिए, ‘त्यस्तो अवस्थामा आत्मदाह गर्ने नागरिकको व्यवसायमा, निराशामा, सहयोगको याचनामा, सुरक्षामा, उद्धारमा र उनले भोगेका हरेक चरणमा राज्य असफल भएको बुझिन्छ । राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका मानिन्छन् ।’
नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चार माध्यमका रूपमा सबै असफल भइरहेको संकेत यस्ता घटनाले दिने उनको भनाइ थियो ।
नागरिकका लागि सामान्य दायित्व पूरा गर्नु पर्ने चेत सत्तामा रहेकाहरूमा नरहेको बुझिन्छ भन्दै बालेनले जनप्रतिनिधिका रूपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत नरहेको स्पष्ट हुने बताएका थिए ।
‘एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागरिक संसद् भवन अगाडि आफैँमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्,’ बालेनले लेखेका थिए, ‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठुलो कारण राज्य हो । सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’
तर आफैँ प्रधानमन्त्री भएको बेलामा भएको घटनाको विषयमा उनी अहिलेसम्म मौन बसेका छन् ।
त्यस्तै, त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्कालीन सरकारको गृहमन्त्री थिए । सोही समयमा रास्वपा सभापति रविले आफूहरूको आगमनले पनि आशा जगाउन नसकेकोमा प्रेमप्रसाद आचार्यसँग माफी मागेका थिए । यद्यपि आफू सरकारमा सामेल भए पनि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुमा ‘हिजोदेखिको निराशा र पीडा’ कारण रहेको उनको भनाइ थियो ।
‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,’ लामिछानेले लेखका थिए, ‘यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो ।’
आफूहरू परिवर्तनका लागि राजनीतिमा आएको दाबी गरेका लामिछानेले थप लेखेका थिए, ‘हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु ।’
तर, रास्वपा धेरै नेताहरू गणेश नेपालीको आत्मदाहको विषयमा बोलेका छैनन् । आज महानगरपालिकाको नगर प्रहरीसँगको विवादपछि अर्का एक युवाले आत्मदाह गरेका छन् । हिजो राज्यलाई असफल घोषणा गर्ने बालेन आज आफैँ सत्ता र शक्तिको केन्द्रमा छन् ।
हिजो जुन तहको आक्रोश छचल्किन्थ्यो, सत्तामा पुगेसँगै त्यो हराएको भन्दै बिहीवार दिउँसोदेखि प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेको आलोचना भइरहेको छ ।
- दुई घटनाको एउटै प्रकृतिः व्यवस्था कि अवस्था ?
प्रेम आचार्य र गणेश नेपाली दुवैको घटनामा एउटा साझा कडी छ– गरि खान पाउनु पर्ने माग ।
प्रेमले प्रणालीगत सुधार र आर्थिक न्याय खोजेका थिए भने गणेशले सडकमा श्रम गरेर बाँच्न पाउने सम्मान खोजेका थिए ।
राहदानी विभागमा राहदानी बनाउन आएका हजारौँ मानिसको भिडमा एउटा विपन्न परिवारको युवाले आफ्नो समस्या सुनाउन खोज्दा प्रहरीबाट पाएको ‘माला लगाउने ?’ भन्ने जबाफले राज्यको संवेदनहीनताप्रति प्रश्न खडा भएको छ ।
सरकारले नियम पालना गराउनु पर्छ । यसमा दुई मत छैन । तर, नियम पालना गराउने नाममा नागरिकको आत्मसम्मानमा चोट पुर्याउने र उनीहरूलाई मृत्युको मुखसम्म धकेल्ने वातावरण बन्नु लोकतान्त्रिक राज्यका लागि लज्जाको विषय बनेको छ ।
विगतमा जस्तै आज पनि राज्यका निकायहरू नागरिकको सुरक्षा र उद्धारमा असफल देखिएका छन् । यदि राज्यले साना उद्यमी र श्रमजीवीहरूको पीडा सुन्ने संयन्त्र बनाउन सकेन भने प्रेम र गणेशहरूले शरीरमा झोसेको आगोले भोलि सिङ्गो प्रणालीलाई नै डढाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण