पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
काठमाडाैँ । जोर्जे जेसुस पोर्चुगलको राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। पोर्चुगलले सह-आयोजना गर्न लागेको सन् २०३० को विश्वकपसम्मका लागि उनलाई चार वर्षको सम्झौतामा नियुक्त गरिएको हो।
विश्वकपको अन्तिम १६ मा स्पेनसँग १-० ले पराजित भएपछि पूर्व प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए। मार्टिनेज सन् २०२३ को जनवरीदेखि पोर्चुगलको प्रशिक्षकको भूमिकामा रहेका थिए।
७१ वर्षीय पोर्चुगिज प्रशिक्षक जेसुसले अल नासरमा मुख्य प्रशिक्षकका रूपमा एक वर्ष काम गर्दा राष्ट्रिय टिमका कप्तान क्रिस्टियानो रोनाल्डोसँग सहकार्य गरिसकेका छन्। उनीहरूले गत सिजन अल नासरबाट साउदी प्रो लिगको उपाधि समेत जितेका थिए।
विश्वकपबाट पोर्चुगल बाहिरिएपछि ४१ वर्षीय रोनाल्डोले यो आफ्नो छैटौँ र अन्तिम विश्वकप भएको पुष्टि गरेका थिए । यद्यपि उनले अन्तर्राष्ट्रिय फुटबलबाट पूर्ण रूपमा सन्यास लिने बारे भने कुनै आधिकारिक टिप्पणी गरेका छैनन्। अल नासरसँग सन् २०२७ सम्मको सम्झौतामा रहेका पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोलाई प्रशिक्षक जेसुसले पोर्चुगिज फुटबलको ‘प्रतीक’ का रूपमा ब्याख्या गरेका छन्।
शुक्रबार कुराकानी गर्दै जेसुसले रोनाल्डो खेलिरहेको र छनोट हुन सक्ने अवस्थामा रहेसम्म आफूले राष्ट्रिय टिमका लागि सबैभन्दा उपयुक्त हुने निश्चित सीमा र शर्तहरूमा रहेर उनलाई टिममा समेट्ने बताएका छन्।
उनले रोनाल्डोसँग अहिलेसम्म कुराकानी नभएको भए पनि रोनाल्डो राष्ट्रिय टिम वा आफ्नो लागि कहिल्यै पनि समस्या नबन्ने प्रष्ट पारेका छन्। गत वर्ष रोनाल्डोसँग काम गर्दा निकै खुसी मिलेको र उनीसँग काम गर्न सहज रहेको अनुभव जेसुसले सुनाएका छन्।
पोर्चुगलको प्रशिक्षकका रूपमा जेसुसको पहिलो खेल आगामी सेप्टेम्बर २४ मा नेसन्स लिगको समूह ‘डी’ अन्तर्गत वेल्सविरुद्ध हुनेछ। पोर्चुगलले अबको चार वर्षपछि स्पेन र मोरक्कोसँग मिलेर विश्वकप सह-आयोजना गर्दैछ।
यसअघि साउदी क्लब अल हिलालबाट सन् २०२३-२४ को सिजनमा घरेलु ट्रेबल जितेका जेसुसले सन् २०१०, २०१४ र २०१५ मा पोर्चुगिज क्लब बेन्फिकाको व्यवस्थापक रहँदा तीनवटा लिग उपाधि जितेका थिए। यस्तै, ब्राजिलियन क्लब फ्लामेङ्गोमा रहँदा सन् २०१९ मा ब्राजिलियन उपाधि र कोपा लिबर्टाडोरेससहित पाँचवटा ठूला ट्रफी जित्दै उनले सफलता हासिल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण