आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त, फिफाको ‘ड्र’ योजना सफल

आइतबार, २८ असार २०८३, ०९ : ५७
आइतबार, २८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्ड जस्ता चार शक्तिशाली राष्ट्रबीच प्रतिस्पर्धा हुने भएको छ।
  • फिफाले प्रतियोगिताको 'म्याच ड्र' मा शीर्ष चार टोलीलाई समूह चरणमा शीर्ष स्थान हासिल गरेमा सेमिफाइनलमा मात्र भिड्ने गरी योजना बनाएको थियो।
  • विश्व वरीयताको शीर्ष चार टोलीले समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणका खेल जितेपछि फिफाको योजना यथार्थमा परिणत भएको छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। साविक विजेता अर्जेन्टिना, पूर्व विश्वविजेता फ्रान्स, स्पेन र इंग्ल्यान्ड अन्तिम चारमा पुगेपछि उपाधि दौड झन् रोमाञ्चक बनेको हो।

फिफाले प्रतियोगिताको ‘म्याच ड्र’ सार्वजनिक गर्दा नै विश्व वरीयताका शीर्ष चार टोली– फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डलाई समूह चरणमा शीर्ष स्थान हासिल गर्दै आफ्नो यात्रा अघि बढेमा सेमिफाइनलमा मात्र एकअर्कासँग भेट हुने गरी फरक–फरक ‘पट’मा राखेको थियो। चारै टोलीले समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणका आफ्ना खेल पनि जितेपछि फिफाको प्रारम्भिक योजना यथार्थमा परिणत भएको छ।

विश्व वरीयतामा शीर्ष स्थानमा रहेको फ्रान्सले सेमिफाइनलमा तेस्रो वरीयताको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता दोस्रो वरीयताको अर्जेन्टिनाले उपाधि यात्राका लागि चौथो वरीयताको इंग्ल्यान्डसँग भिड्नेछ।

क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि आफ्ना–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

चारै टोली विश्व फुटबलका स्थापित शक्ति मानिन्छन्। विश्व वरीयताको शीर्ष चार राष्ट्र नै सेमिफाइनलमा पुगेपछि यसपटकको विश्वकपमा उपाधि दाबेदारबीचको प्रतिस्पर्धा थप आकर्षक बनेको विश्लेषण गरिएको छ।

फुटबल विश्लेषकहरूका अनुसार फिफाले प्रतियोगिताअघि तयार गरेको ‘ब्राकेट’ले अपेक्षा गरेअनुसार नै शीर्ष वरीयताका टोलीहरूलाई अन्तिम चारमा एकअर्कासँग भिड्ने अवस्था सिर्जना गरेको छ। अब सेमिफाइनलका दुई खेलले नयाँ विश्व च्याम्पियनको यात्रालाई निर्णायक मोडमा पुर्‍याउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप