आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित

आइतबार, २८ असार २०८३, ११ : ४६
आइतबार, २८ असार २०८३

सारांश

  • बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा लगातारको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
  • विपद् व्यवस्थापन मन्त्रालयका अनुसार सात जिल्लामा बाढीले ठूलो क्षति पुर्‍याएको छ, जसले गर्दा २ लाख ६७ हजार ९१८ घरपरिवार विस्थापित वा फसेका छन् ।
  • सडक सञ्जाल र सञ्चार अवरुद्ध भएकाले राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ, यद्यपि सेनाले डुंगामार्फत अत्यावश्यक सामग्री पुर्‍याइरहेको छ ।

ढाका । लगातारको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

रोयटर्सका अनुसार बंगलादेशको विपद् व्यवस्थापन मन्त्रालयले सात जिल्लामा बाढीले ठुलो क्षति पुर्‍याएको जनाएको छ । प्रभावित जिल्लामा चट्टोग्राम, कक्स बजार, बन्दरबन, रंगामाटी, खग्राछरी, मौलवीबजार र हबिगञ्ज रहेका छन् ।

मन्त्रालयका अनुसार बाढीका कारण २ लाख ६७ हजार ९१८ घरपरिवार विस्थापित वा फसेका छन् । हजारौँ परिवार बाहिरी सम्पर्कबाट टाढिएका छन् भने दैनिक जीवन पूर्ण रूपमा प्रभावित भएको छ । धेरै घर डुबानमा परेकाले मानिसहरूलाई खाना पकाउन समस्या भएको छ । कतिपय घरमा बाक्लो हिलो जमेकाले भान्सा र बस्ने ठाउँ प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् ।

चट्टोग्रामका स्थानीय बासिन्दा नुरुल इस्लामले भने– ‘हाम्रो घरभित्र अझै पानी छ, खाना पकाउने कुनै उपाय छैन । भएको सुख्खा खाना सकिएको छ, बिजुली नभएकाले बच्चाहरूसँग अन्धकारमा रात बिताउनुपरेको छ’ ।

बाढी प्रभावित हजारौँ परिवार अहिले चिउरा, मुरमुरा, बिस्कुटजस्ता सुख्खा खाना र आपतकालीन राहतमा निर्भर छन् । तर सडक बग्नु, पुल क्षतिग्रस्त हुनु र सञ्चार अवरुद्ध हुनुले राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ ।

बंगलादेशी सेनाले डुंगामार्फत पानी, औषधि र अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइरहेको जनाएको छ । सरकारले राहत तथा उद्धार कार्यलाई तीव्र बनाएको भए पनि धेरै दुर्गम बस्तीमा सहायता पुग्न अझै चुनौती रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप