आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण

आइतबार, २८ असार २०८३, १२ : २८
आइतबार, २८ असार २०८३

सारांश

  • इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
  • इरानी सरकारी प्रसारक आईआरआईबीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अल उदैद हवाई सैन्य अड्डामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
  • ओमान, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि पनि आक्रमण गरिएको इरानी सेनाले दाबी गरेको छ ।

तेहरान । इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यो आक्रमण अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य कारबाहीपछि गरिएको प्रतिआक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इरानी सरकारी प्रसारक आईआरआईबीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अल उदैद हवाई सैन्य अड्डामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

आईआरजीसीले ओमानको दुक्म बन्दरगाहमा अमेरिकी विमानवाहक युद्धपोतका लागि प्रयोग हुने रसद आपूर्ति केन्द्र तथा इन्धन भर्ने संरचनामाथि पनि व्यापक र अप्रत्याशित आक्रमण गरेको दाबी गरेको छ ।

त्यस्तै, सेनाले कुवेतमा अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गर्दै प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीसहितका संरचनामाथि ड्रोन आक्रमण गरेको पनि जनाइएको छ । बहराइनमा पनि अमेरिकी पाँचौं नौसैनिक मुख्यालयसँग सम्बन्धित सञ्चार प्रणाली र राडार स्थापनालाई निशाना बनाइएको इरानी सेनाले दाबी गरेको छ ।

यसैबिच कतार र कुवेतले आइतबार बिहान आफ्नो हवाई क्षेत्रमा भएका आक्रमणहरू सफलतापूर्वक अवरोध गरिएको बताएका छन् । बहराइनमा साइरन बजाइएको थियो भने स्थानीय प्रशासनले नागरिकलाई नजिकको सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो ।

उता, इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले जोर्डनस्थित प्रिन्स हसन हवाई सैन्य अड्डामा रहेको ड्रोन भण्डारण ह्याङ्गरसहितका सैन्य संरचना ध्वस्त पारेको दाबी पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप