मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’

मङ्गलबार, ३० असार २०८३, ०८ : ०१
मङ्गलबार, ३० असार २०८३

नेपालमा जलनको समस्या एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । पछिल्लो एक हप्तामा आत्मदाहका कारण दुई जनाको ज्यान गयो । सरकारले देशभर जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य राखे पनि कार्यान्वयन फितलो छ ।

जलनका कारण बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपरेको छ । गम्भीर जलन भएका बिरामी छिमेकी देश भारत जाने वा मृत्यु कुर्नुबाहेक अन्य विकल्प देखिँदैन । नेपालमा जलनसम्बन्धी विशेषज्ञ जनशक्तिको अभाव छ ।

यसै सन्दर्भमा कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीसँग गरिएको कुराकानीको सारसंक्षेपः

कीर्तिपुर बर्न अस्पतालमा मुख्यतः कस्ता प्रकारका जलनका बिरामीहरू बढी आउने गर्छन् ?

हामीकहाँ सबै प्रकारका जलनका बिरामी उपचारका लागि आउनुहुन्छ । त्यसमध्ये सबैभन्दा बढी सङ्ख्या आगोले पोलेका बिरामीहरूको हुन्छ । दोस्रो नम्बरमा तातो झोलपदार्थ जस्तै– दुध, तेल वा पानीले पोलेका केस बढी आउँछन् । यसबाहेक करेन्ट लागेर, केमिकल वा एसिडका कारण र यस वर्ष विशेषगरी चट्याङ परेर गम्भीर रूपमा पोलेका बिरामीहरू पनि उल्लेख्य सङ्ख्यामा आउनुभएको छ । समग्रमा भन्नुपर्दा, हामीकहाँ जलनका सबै प्रकृतिका जटिल केसहरूको उपचार हुने गर्छ ।

अहिले प्राथमिक उपचार समयमै पाइयो भने अथवा समयमै अस्पताल पुगियो भने जलनबाट बच्ने सम्भावना कत्तिको हुन्छ ?

यो प्राथमिक उपचार सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आगोले पोलेको छ भने पोलिरहेको भागलाई पहिला अलि टाढा हटाएर त्यसमा पानी हाल्नुपर्छ । बगिरहेको पानी २० मिनेटदेखि ३० मिनेटसम्म पोलेको भागमा राख्यौँ भने घाउ गहिरो हुन पाउँदैन, छिटो सेलाउँछ ।

घाउ गहिरो नहुनेबित्तिकै हामीले ड्रेसिङबाटै निको पार्न मिल्छ । गहिरो भयो भने त्यो मरेको छालाजस्तो हुन्छ र पछि इन्फेक्सन हुन्छ । त्यो हुन नदिन गहिरो घाउमा अप्रेसन नै गर्नुपर्‍यो । जलेको छाला फालेर अर्को छाला प्रत्यारोपण गर्नुपर्छ । तर हामीले सुरुमै राम्रो प्राथमिक उपचार दिएर त्यो घाउ गहिरो हुन पाएन भने त्यसलाई ड्रेसिङबाटै निको बनाउन मिल्छ ।

कतिपयले १० प्रतिशत शरीर जलन, २० प्रतिशत जलन, ५० प्रतिशत जलन अथवा डिग्री अनुसार नापिरहेका हुन्छन् । यसबारे स्पष्ट पारिदिनुहोस् न ।

यसलाई टीबीएसए भन्छ, टोटल बर्न सर्फेस एरिया । त्यो भनेको शरीरको बाहिरी छाला कत्तिको जलेको छ ? सबै नै जलेको छ भने त्यो १०० प्रतिशत भयो । बाहिरी छाला आधी प्रतिशत, शरीरको आधी जलेको छ भने ५० प्रतिशत भयो । त्यो क्याल्कुलेट गर्ने धेरै तरिका छन् । हामीले क्याल्कुलेट गर्दाखेरि ठुलो मान्छेमा २० प्रतिशतभन्दा बढी र बच्चाहरूमा १० प्रतिशतभन्दा बढी भयो भने त्यो मेजर बर्न भनिन्छ । मेजर बर्न किन भनिन्छ भने छालामा मात्रै पोलेको भए पनि यसको असरचाहिँ भित्री अङ्गहरूमा पनि देखिन्छ, मुटु, मिर्गौला, फोक्सोहरूमा । उहाँहरूलाई विशेष ध्यान दिनुपर्छ । २० प्रतिशत कटेपछि ठुलो मान्छेमा र १० प्रतिशत कटेपछि बच्चाहरूमा मेजर बर्न भनिन्छ ।

अहिले गाउँगाउँमा जलन उपचार सम्बन्धी अस्पतालहरू त स्थापना भएको होला, तर विशेषज्ञ चिकित्सकको अभाव छ । बिरामीलाई काठमाडौँमै रिफर गरिन्छ । यो समस्याबाट कसरी छुटकारा मिल्ला ?

हामीले काठमाडौँ बाहिरको हस्पिटलहरूमा ट्रेनिङहरू दिइरहेका छौँ । त्यसमा सुरुको २४ घण्टा ‘गोल्डेन’ आवर भनिन्छ । तुरुन्त काठमाडौँ दौडाइहाल्नु भन्दा सुरुको २४ घण्टा त्यहीँ पानी दिएर बल्ल पठाउँदा अलि राम्रो हुन्छ । किनभने टाढाबाट बिरामी आउनुपर्‍यो भने एम्बुलेन्समा उनीहरूले सलाइन पाउँदैनन् । त्यसले गर्दाखेरि त्यो ‘गोल्डेन टाइम’ खेर जान्छ । त्यही भएर मेजर बर्नहरूमा सुरुमा सलाइन नै दिनुपर्‍यो । उहाँहरूलाई त्यही ट्रेनिङहरू हामीले दिइरहेका छौँ, कसरी के गर्ने भनेर ।

उपचार प्रक्रिया र विधि के हुन्छ ?

उपचार प्रक्रियाको पहिलो स्टेप त त्यही प्राथमिक उपचार नै भयो । सुरुमा आगो निभाएर त्यसपछि जलेको अङ्गलाई चिसो बनाउने । त्यसपछि कत्तिको जलेको छ हेरेर धेरै जलेको छ भने आईसीयूमा उपचार गर्नुपर्‍यो, थोरै जलेको छ भने वार्डमा गर्दा मिल्यो । त्यस्तै गहिरो गरी जलेको छ, बिरामीले तातो धुवाँ निलेको छ भने त्यस्तो केसमा पनि आईसीयू नै चाहियो । त्यसपछि घाउ कस्तो छ, गहिरो छैन भने ड्रेसिङ नै गरेर हामीले त्यो घाउलाई निको बनाउने हो । गहिरो भएको छ भने त्यसलाई अप्रेसन गर्नुपर्‍यो । मरेको छालालाई फालेर त्यहाँ अर्को बिरामीको नजलेको छाला अथवा अरू कुनै उपायले त्यो घाउ छोप्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप