वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।
- बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्, भने केही स्थानमा एकतर्फी सञ्चालनमा छन् ।
- यात्रुहरूलाई यात्रा गर्नुपूर्व सडकको अवस्था बुझ्न सुरक्षा निकायले आग्रह गरेको छ ।
काठमाडौँ । देशका विभिन्न स्थानमा जारी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा ठुलो क्षति पुर्याएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ८ः३० बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र भालु खोलामा पहिरो खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, मकवानपुरको ईन्द्रसरोवरमा पहिरो जाँदा फाखेल–कुलेखानी सडक पनि बन्द रहेको छ । काभ्रेको विपि राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यद्यपि, हेटौँडा–काठमाडौँ जोड्ने भैँसे–भीमफेदी खण्ड र मुग्लिन–नारायणगढ सडक खण्डका पहिरोहरू हटाएर हाललाई यातायात पूर्ण रूपमा सुचारु गरिएको छ ।
कोशी प्रदेशमा मेची राजमार्ग (इलामको राजदुवाली) र मध्य पहाडी लोकमार्ग (पाँचथरको ओयाम र फलैँचा) पूर्ण रूपमा अवरुद्ध छन् । उदयपुरको कटारीमा सिद्धिचरण लोकमार्गका तीन स्थानमा पहिरो खसेकाले सडक ठप्प छ । भोजपुरमा भने मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । यता ओखलढुङ्गा र खोटाङका अवरुद्ध सडकहरू भने पूर्ण रूपमा सुचारु भइसकेका छन् ।
गण्डकी प्रदेशको सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको सुम्रेखोलामा पहिरो झर्दा सडक पूर्ण रूपमा बन्द भएको छ । कास्कीका ग्रामीण सडकहरू र म्याग्दीको बेनी–दरवाङ सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक र गुल्मीको कालीगण्डकी करिडोर (पुर्तिघाट) पूर्ण रूपमा अवरुद्ध रहेका छन् । गुल्मीकै मदन भण्डारी राजमार्ग भने एकतर्फी सुचारु छ ।
कर्णाली प्रदेशमा भने स्थिति तुलनात्मक रूपमा सामान्य छ । कर्णाली करिडोर र कर्णाली राजमार्गका अवरुद्ध स्थानहरूमा पहिरो पन्छाएर यातायात पूर्ण रूपमा सुचारु गरिएको जानकारी प्राप्त भएको छ ।
विभिन्न स्थानमा अझै पनि वर्षा जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले यात्रा गर्नुपूर्व अनिवार्य रूपमा सडकको अवस्था बुझ्न सुरक्षा निकायले आग्रह गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण