तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूहरू चाकडी वा चाप्लुसी गरेर नभई कठोर सङ्घर्ष र जेलनेल भोगेर राजनीतिमा आएकाले सङ्घर्ष कति बेला गर्ने भन्ने थाहा भएको बताएका छन् ।
- सांसद सुनारले काठमाडौँमा ज्यान गुमाएका गणेश नेपालीको घटनालाई विभिन्न राजनीतिक र जातीय रङ दिन खोजिएकोमा आपत्ति जनाउँदै दलित समुदायमाथि भइरहेका शृङ्खलाबद्ध हत्या र हिंसाका घटनाहरूको फेहरिस्त संसद्मा प्रस्तुत गरे ।
- उनले बालेनलाई मुर्दावाद भन्नेहरूलाई विगतमा आफ्नै दलका नेता गृहमन्त्री हुँदा दलित हत्या हुँदा किन नबोलेको भनी प्रश्न गर्दै जातीय विभेद, उत्पीडन र हिंसाविरुद्ध एकजुट हुन सबै दलका सांसदहरूलाई अपिल गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूहरू चाकडी वा चाप्लुसी गरेर नभई कठोर सङ्घर्ष र जेलनेल भोगेर राजनीतिमा आएकाले सङ्घर्ष कति बेला गर्ने भन्ने थाहा भएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुनारले आफूहरूलाई सङ्घर्ष र विरोध कति बेला गर्नुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताए ।
काठमाडौँमा भएको दुःखद घटनामा ज्यान गुमाएका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको प्रसङ्ग उठाउँदै सुनारले उक्त घटनालाई विभिन्न राजनीतिक र जातीय रङ दिन खोजिएको प्रति आपत्ति जनाए।
आफूलाई खोज्दै हिँड्ने सडक र सदनका प्रतिपक्षी आवाजहरूतर्फ लक्षित गर्दै सांसद सुनारले आक्रोश व्यक्त गरे।
‘हामी कसैको हातखुट्टामा तेल घसेर आएका होइनौँ, सङ्घर्षको नेल लगाएर आएका हौँ,’ सुनारले भने, ‘हामीजस्तो विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ र कति बेला सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा कसैले सिकाइरहनु पर्दैन।’
सुनारले देशमा दलित समुदायमाथि भइरहेका शृङ्खलाबद्ध हत्या र हिंसाका घटनाहरूको फेहरिस्त संसद्मा प्रस्तुत गरे। उनले रुकुमको सोती घटना, कालीकोटका मानविरे सार्की, मना सार्की, अङ्गिरा पासी, सङ्गिता परियार, अजित मिजार, सम्झना कामी, सेते दमाई, शिवशंकर दास, अस्मिता सार्की लगायत दर्जनौँ दलित पीडितहरूको नाम स्मरण गराए। देशमा दलित हत्याको शृङ्खला अझै नरोकिएको भन्दै रोक्नलाई प्रयास गर्ने बताए ।
उनले अहिले सडकमा बालेन मुर्दावाद भन्दै हिँड्ने कतिपय राजनीतिक अभियन्ता र दलहरूलाई प्रश्न पनि गर्न भ्याए । ‘अहिले बालेनलाई मुर्दावाद भन्ने कमरेडहरू, विगतमा आफ्नै दलका नेता गृहमन्त्री हुँदा ६–६ जना दलितको हत्या हुँदा आफ्नो नेताविरुद्ध मुर्दावाद भन्ने दम थियो ? त्यतिबेला आफ्ना बाको मुर्दावाद भन्न सकेका थियौ ?’ सुनारले प्रश्न गर्दै भने ।
देशका झण्डै ६० लाख दलितको प्रतिनिधित्व गर्दै आफूहरू संसद्मा आएको भन्दै उनले दलित समुदायको मुद्दा र सङ्घर्षबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाए।
उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायत सबै राजनीतिक दलका सांसदहरूलाई जातीय विभेद, उत्पीडन र हिंसाविरुद्ध एकजुट भएर उभिन अपिल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण