मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु

मङ्गलबार, ३० असार २०८३, १६ : ४७
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । बाग्मती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ । 

मंगलबार ललितपुरमा कार्यक्रम आयोजना गरी प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता उद्घाटन गरेका हुन् । 

समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका १ हजार ७६६ बचतकर्ताको बचत फिर्ता सुरु गरिएको समितिले जनाएको छ ।

बचत फिर्ता सुरुवात कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताहरूको बचतलाई सुरक्षित र व्यवस्थित गर्दै प्रभावकारी ढङ्गले फिर्ता गर्ने काम प्रदेश सरकारले अगाडि बढाएको जानकारी दिए । 

कुन सहकारीका कतिले पाए बचत फिर्ता? 

हाल प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत ५ वटा सहकारी संस्था रहेका छन्। यस अनुसार मंगलबार कुल १ हजार ७६५ जनाले बचत फिर्ता प्राप्त गरेका छन् । 

त्यसमध्ये नेशनल नमोबुद्ध सहकारीका  ३३१ जना बचतकर्तालाई एक लाख रुपैयाँसम्म बचत फिर्ता भएको छ । त्यस्तै, सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सहकारीका ९७५ जना बचतकर्तालाई ५० हजारसम्म, लालीगुराँस बचत तथा ऋण सहकारीका २८७ जनालाई ५० हजारसम्म रकम फिर्ता पाएका छन् ।

यसबाहेक दर्शन बचत तथा ऋण सहकारी संस्थाका १६२ जनालाई १० हजार रुपैयाँसम्म र सिभिल बचत तथा ऋण सहकारी संस्थाका १० जनालाई १० हजार रुपैयाँसम्मको रकम फिर्ता भएको छ । 

अहिले समितिले बचत मिलान गर्नेहरूबाट ३० प्रतिशत नगद सङ्कलन गर्ने गरेको छ । त्यस्तै, पासपोर्ट तथा बैंक खाता रोक्का भएका ऋणीले आफैँ आएर हिसाब मिलान गर्दा यसरी फिर्ता गर्ने रकम जुटेको समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप