खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
सारांश
- विपद्मा परेका व्यक्तिको खोज, उद्धार र राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र निजी क्षेत्रका तीन संस्थाबीच समझदारी भएको छ ।
- समझदारी अनुसार वायुसेवा सञ्चालक संघले हेलिकप्टर, नेपाल ड्रोन संघले ड्रोन र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिजले राफ्ट निःशुल्क वा सञ्चालन खर्चमा उपलब्ध गराउनेछन् ।
- यो समझदारी एक वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ ।
काठमाडौँ । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ, नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज प्राधिकरणमा आयोजित एक कार्यक्रममा यी तीन वटा संस्था र प्राधिकरणबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा सञ्चालक संघ, नेपालसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नु परेमा निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नुपरे न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।
यसैगरी नेपाल ड्रोन संघसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भए प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलटसहित) उपलब्ध गराउनुपर्नेछ । सो कार्यमा खटिने सदस्यहरुको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ ।
यसैगरी नेपाल एसोसीएसन अफ राफ्टिङ्ग एजेन्सिजसँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरे नाराले निःशुल्क रुपमा राफ्ट र तत् सम्बन्धी उपकरण उपलब्ध गराउनुपर्ने उल्लेख छ । राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायत काममा प्रयोग गरिने समझदारी छ ।
यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।
उक्त अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताए । उनले सबैको हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने भन्दै निजी क्षेत्रको सेवाप्रति आभार व्यक्त गरे ।
यसैगरी वायुसेवा सञ्चालक संघ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिजका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको ज्यूधनको सुरक्षाका लागि आफूहरूले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव फणीन्द्र प्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण