बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी

बुधबार, ३१ असार २०८३, १७ : १८
बुधबार, ३१ असार २०८३

सारांश

  • अमेरिकाले इरानका बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि इरानले अमेरिकालाई फाइदा पुग्ने अन्य महत्त्वपूर्ण निर्यात मार्गसमेत बन्द गर्ने चेतावनी दिएको छ ।
  • विश्लेषकहरूका अनुसार इरानले यमनस्थित आफ्ना सहयोगी हुथी समूहमार्फत स्टेट अफ बाब अल–मन्देब पनि बन्द गराउने सङ्केत दिइरहेको छ ।
  • स्टेट अफ होर्मुजमा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्न इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले अमेरिकी सेनाले नयाँ हवाई आक्रमण सुरु गरेको छ ।

तेहरान । अमेरिकाले इरानका बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि इरानले अमेरिकालाई फाइदा पुग्ने अन्य महत्त्वपूर्ण निर्यात मार्गसमेत बन्द गर्ने चेतावनी दिएको छ । यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप सङ्कट गहिरिने चिन्ता बढाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाका सहयोगीहरूलाई लाभ पुग्ने सबै ऊर्जा निर्यात मार्ग आवश्यक परे सबैका लागि खुला रहने वा सबैका लागि बन्द गरिने चेतावनी दिएको छ ।

यसअघि इरानले स्टेट अफ होर्मुज बन्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेको थियो । विश्लेषकहरूका अनुसार इरानले यमनस्थित आफ्ना सहयोगी हुथी समूहमार्फत स्टेट अफ बाब अल–मन्देब पनि बन्द गराउने सङ्केत दिइरहेको छ । यो समुद्री मार्ग रातो सागरलाई अदनको खाडीसँग जोड्ने महत्त्वपूर्ण व्यापारिक र ऊर्जा मार्ग हो, जहाँबाट साउदी अरेबियाको ठुलो मात्रामा तेल निर्यात तथा विश्वव्यापी जल यातायात सञ्चालन हुने गर्छ ।

सोमबार हुथी समूहका एक वरिष्ठ अधिकारीले साउदी अरेबियाले यमनमाथिको आक्रमण जारी राखे स्टेट अफ बाब अल–मन्देब गर्न तयार रहेको चेतावनी दिएका थिए । उनका अनुसार यस्तो कदम चालिए तेलको मूल्य प्रतिव्यारेल २०० अमेरिकी डलरसम्म पुग्न सक्छ । त्यसपछि हुथी विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेको विमानस्थलमा साउदी अरबले बमबारी गरेको आरोप लगाउँदै साउदीतर्फ क्षेप्यास्त्र प्रहार गरेका थिए । यससँगै चार वर्षदेखि कायम रहेको युद्धविराम पनि भंग भएको छ ।

सन् २०२३ मा गाजा युद्ध सुरु भएपछि पनि इरान समर्थित हुथी समूहले रातो सागरमा इजरायलसँग सम्बन्धित भन्दै व्यावसायिक जहाजहरूलाई निशाना बनाएको थियो, जसका कारण विश्व व्यापारमा ठुलो अवरोध आएको थियो ।

यसैबिच अमेरिकी सेनाले स्टेट अफ होर्मुजमा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्न इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । अमेरिकाका अनुसार पछिल्लो एक सातामा इरानले सातवटा व्यावसायिक जहाजमा आक्रमण गरेको थियो, जसमा दर्जनजति चालक दलका सदस्य मारिएका, बेपत्ता र घाइते भएका छन् ।

अमेरिकी केन्द्रीय कमान्ड (सेनटकम) का अनुसार मंगलबार राति करिब सात घण्टासम्म चलेको आक्रमणमा स्टेट अफ होर्मुज वरपर र इरानका तटीय क्षेत्रमा रहेका दर्जनौँ सैन्य लक्ष्यहरूमा प्रहार गरिएको थियो ।

यता, आईआरजीसीले अमेरिकाको दुष्कर्मको अन्त्य नभएसम्म स्टेट अफ होर्मुज बन्द नै रहने जनाएको छ । युद्ध सुरु हुनुअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यहि समुद्री मार्ग भएर आपूर्ति हुने गरेको थियो ।

पछिल्लो अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित कमान्ड, रसद, इन्धन तथा सैन्य उपकरण भण्डारणस्थललाई निशाना बनाएको दाबी आईआरजीसीले गरेको छ । साथै कुवेतको मिना अब्दुल्लाह क्षेत्रमा रहेको अमेरिकी रसद केन्द्रमा आगो लगाएर नष्ट गरेको तथा जोर्डनको अजराकस्थित अमेरिकी सैन्य अड्डामा रहेका विमान ह्याङ्गरहरूमा पनि आक्रमण गरेको जनाएको छ ।

कुवेतको सरकारी समाचार संस्थाले बुधबार इरानी आक्रमणपछि एउटा स्थलमा लागेको आगो नियन्त्रणमा लिइएको जनाएको छ । यद्यपि उक्त स्थान गार्ड कर्प्सले दाबी गरेको स्थान नै हो वा होइन भन्ने पुष्टि भएको छैन । 

उता, जोर्डनले इरानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीन वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालेको जनाएको छ । गत जुनमा भएको अस्थायी युद्धविरामपछि केही समय शान्त देखिएको अमेरिका–इरान द्वन्द्व पुनः चर्किएसँगै क्षेत्रीय तनाव फेरि बढेको छ । दुवै पक्षले आक्रमण तीव्र पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप