बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

बिहीबार, ३२ असार २०८३, ११ : ५८
बिहीबार, ३२ असार २०८३

सारांश

  • दक्षिण कोरियाको केन्द्रीय बैंक 'बैंक अफ कोरिया' (बीओके) ले साढे तीन वर्षपछि पहिलोपटक प्रमुख नीतिगत ब्याजदर बढाएको छ ।
  • तीव्र आर्थिक वृद्धि र बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने उद्देश्यले बैंकले बिहीबार शून्य दशमलव २५ प्रतिशत बिन्दुले ब्याजदर बढाएर २ दशमलव ७५ प्रतिशत पुर्‍याएको हो ।
  • केन्द्रीय बैंकका अनुसार कमजोर बन्दै गएको दक्षिण कोरियाली मुद्रा 'वन' लाई स्थिर बनाउने र निरन्तर उच्च मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने लक्ष्यका साथ ब्याजदर बढाइएको हो ।

सोल । दक्षिण कोरियाको केन्द्रीय बैंक ‘बैंक अफ कोरिया’ (बीओके)ले साढे तीन वर्षपछि पहिलोपटक आफ्नो प्रमुख नीतिगत ब्याजदर बढाएको छ । 

तीव्र आर्थिक वृद्धि र बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने उद्देश्यले बैंकले बिहीबार शूनय दशमलव २५ प्रतिशत बिन्दुले ब्याजदर बढाएर २ दशमलव ७५ प्रतिशत पु¥याएको हो । 

बैंकको सात सदस्यीय मौद्रिक नीति समितिले उक्त निर्णय गरेको हो । केन्द्रीय बैंकका अनुसार कमजोर बन्दै गएको दक्षिण कोरियाली मुद्रा ‘वन’लाई स्थिर बनाउने र निरन्तर उच्च मुद्रास्फीतिको दबाब नियन्त्रण गर्ने लक्ष्यका साथ ब्याजदर बढाइएको हो ।

बैंकले जारी गरेको विज्ञप्तिमा यस वर्षको आर्थिक वृद्धि दर मे महिनामा गरिएको २ दशमलव ६ प्रतिशतको अनुमानभन्दा उल्लेखनीय रूपमा माथि रहने जनाएको छ। साथै, मुद्रास्फीति पनि अझ केही समय उच्च रहने प्रक्षेपण गरिएको छ ।

 केन्द्रीय बैंकका गभर्नर शिन ह्युन सोङले आर्थिक वृद्धि, मुद्रास्फीति र वित्तीय स्थायित्व—तीनै पक्षले ब्याजदर वृद्धि आवश्यक भएको संकेत गरेकाले यो निर्णय गरिएको बताए ।

उनका अनुसार विश्वव्यापी सेमिकन्डक्टर (चिप) उद्योगको तीव्र विस्तारले दक्षिण कोरियाको निर्यात र लगानी बढाएको छ । यसको प्रभाव घरेलु मागमा पनि देखिन थालेकाले माग–आधारित मुद्रास्फीति बढ्ने सम्भावना रहेको उनले उल्लेख गरे ।

 दक्षिण कोरियाको अर्थतन्त्रले यस वर्ष अपेक्षाभन्दा तीव्र सुधार देखाएको छ । पहिलो त्रैमासिकमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो, जुन करिब छ वर्षयताकै सबैभन्दा तीव्र वृद्धि हो ।

यसपछि सरकारले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको अनुमान ३ प्रतिशत पु¥याएको छ, जुन पछिल्ला पाँच वर्षकै उच्च प्रक्षेपण हो । बजार विश्लेषकहरूले बैंक अफ कोरियाले यसै वर्षको अन्त्यअघि कम्तीमा एकपटक थप ब्याजदर बढाएर ३ प्रतिशत पु¥याउने अपेक्षा गरेका छन् । 

दक्षिण कोरियाको यो निर्णय जापान, अष्ट्रेलिया, न्यूजिल्यान्ड, इन्डोनेसिया र फिलिपिन्सलगायत एशियाली देशहरूको मौद्रिक नीतिसँग मेल खाने कदमका रूपमा हेरिएको छ । मुद्रास्फीति नियन्त्रणका लागि यी देशहरूले पनि पछिल्ला महिनाहरूमा ब्याजदर वृद्धि गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप